• २४ असार २०८१, सोमबार

फुङ्लिङ ८ ले किरिया खर्च दिने

blog

फुङ्लिङ नगरपालिका–८ को वडा कार्यालय भवन।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार २१ गते। ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ ले मृतक परिवारलाई किरिया खर्च दिने भएको छ। वडा कार्यालयले आगामी आर्थिक वर्षदेखि वडाबासी नागरिकको मृत्यु भएमा मृतकका परिवारलाई काजकिरिया खर्च उपलब्ध गराउने भएको हो।

वडाध्यक्ष क्षितिज सुनुवारका अनुसार मृतकका परिवारलाई किरिया खर्चबापत १० हजार रुपियाँ वडाले उपलब्ध गराउने भएको हो। मृत्यु संस्कारअन्तर्गत गरिने किरिया वा शुद्धाई कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले मृतकका परिवारलाई किरिया खर्च उपलब्ध गराइने भएको वडाध्यक्ष सुनुवारले जानकारी दिनुभयो।

थोरै रकम भए पनि आफ्ना सदस्य गुमाएर शोकमा परेका परिवारलाई मृतकको काज किरियामा राहत पुग्ने विश्वास राखिएको सुनुवारले बताउनुभयो। उहाँकाअनुसार वडाभित्रका नागरिकको मृत्यु भएमा मृतक सदस्यको काजकिरिया गर्न सहयोग रकम उपलब्ध गराइने छ। 

यस्तै वडावासी सुत्केरी महिलालाई पाँच हजार रुपियाँ बराबरको पोषण सामग्री उपलब्ध गराउने पनि वडा कार्यालयले जनाएको छ। सुत्केरी आमा अर्थात महिलालाई घ्यु, कुखुरा, अण्डा, हर्लिक्स, चना, मटर, ज्वानोसहितका पोषण सामग्री उपलब्ध गराइने छ। सुत्केरी महिलालाई घर–घरमै पुगेर पोषण सामग्री वितरण गर्ने योजना बनाएको वडाध्यक्ष सुनुवारले जानकारी दिनुभयो।