• २० असार २०८१, बिहिबार

विपद् व्यवस्थापनमा तिनै तहको सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने : मुख्यमन्त्री सिंह

blog

सङ्घ, प्रदेश र स्थानीय तहका साझा अधिकार अन्तर्गत विपद् व्यवस्थापन लागि अन्तरसरकार सम्बन्ध सुदृढीकरण विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री सतिशकुमार सिंह। तस्बिर: लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, असार १८ गते। मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशको विपद् व्यवस्थापनमा तिनै तहको सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। 

मंगलबार मधेशको राजधानी जनकपुरधाममा आयोजित सङ्घ, प्रदेश र स्थानीय तहका साझा अधिकार अन्तर्गत विपद् व्यवस्थापन लागि अन्तरसरकार सम्बन्ध सुदृढीकरण विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री सिंहले सो कुरा बताउनुभएको हो। 

उहाँले वर्षायाममा मधेश प्रदेशको आठवटै जिल्लाको पहिलो प्राथमिकतामा बाढीले भेट्ने स्थानमा तटबन्ध लगाएर बाढीबाट हुने क्षति न्यूनीकरण तर्फ लाग्ने बताउनुभयो। उहाँले भन्नुभयो,“बाढीको रोकथाम गर्नका लागि बाढी आउनु पूर्व नै जनचेतना जगाउने, विपद् प्रतिकार्यका अभ्यासजस्ता कार्यक्रमलाई बढवा दिनुपर्ने बताउनुभयो।  विपद्का अभ्यासले विपदमा आइपर्ने समस्या न्यूनीकरण गर्न सकिन्छ, त्यसकारण समस्या आउनुभन्दा पहिला नै समस्या निराकरणको उपाय खोज्नुपर्छ।” तिनै तहको सरकारको समन्वयकारी भूमिकाले प्रदेशमा आइपर्ने विपद्का क्षतिबाट बढी क्षेत्रलाई प्रभावित हुनबाट जोगाउन सकिने मुख्यमन्त्री सिंहको भनाइ छ। 

मुख्यमन्त्रीले अन्तरक्रिया कार्यक्रमले सकारात्मक प्रतिफल दिने विश्वास व्यक्त गर्नुहुँदै भन्नुभयो, “कुनै पनि समस्या समाधानका निम्ति समस्या आउनु पूर्व नै उपाय खोज्नुपर्छ, प्रत्येक वर्ष एउटै समस्याबाट जुधिरहेका छौँ भने समस्या आउनु पूर्व नै समाधानको बाटो बनाउनुपर्छ।”


कार्यक्रममा उपस्थित प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आफ्नो जिल्लाको समस्या दर्साउनु हुँदै विपद् व्यवस्थापनमा देखिएका समस्या समाधानमा साधन स्रोतको समेत अभाव भएको बताउनुभयो। उहाँहरूले कुनै ठाउँमा दक्ष जनशक्ति छैनन् भने कुनै ठाउँमा स्रोतका अभाव रहेको उल्लेख गर्नुभयो। प्रदेशमा आइपर्ने विपदमध्ये अधिकांश ठाउँमा हुने आगलागी, बाढी र डुबानलाई न्यूनीकरण गर्न जनचेतना फैलाउन आवश्यक रहेको उल्लेख गर्दै यस्ता समस्या समाधानमा तिनै तहको सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नु आवश्यक रहेको जिकिर गर्नुभयो। 

सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनका लागि टोलीसमेत खटाइएको जानकारी दिँदै आफूहरूसँग भएको स्रोत साधनबाट सेवा दिए पनि अझै स्रोत साधनको आवश्यकता रहेको उल्लेख गर्नुभयो। 

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम र प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाई जनकपुरधामले आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता प्रदेशको गृह, सञ्चार तथा कानुनमन्त्री विमला अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रदेशका अर्थमन्त्री भरतप्रसाद साह, स्वास्थ्य तथा जनसंख्यामन्त्री सत्रुधनप्रसाद सिंह, भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, वन तथा वातावरण मन्त्री त्रिभुवन साह, प्रदेश सचिव, प्रदेशका तिनै तहको सुरक्षा निकायका प्रमुख, स्थानीय तहको प्रमुख तथा प्रशासन प्रमुखको उपस्थिति रहेको थियो।