• २० असार २०८१, बिहिबार

जानकी मन्दिरलाई विश्व सम्पदामा लैजान पहल

blog

जनकपुरधाम समाचारदाता

जनकपुरधाम, असार १८ गते  ।  जनकपुरधाममा अवस्थित हिन्दुहरूको आस्थाको केन्द्र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्ने विषय नीति कार्यव्रmममा उठेपछि सरोकारवाला निकाय सक्रिय भएका छन्  । 

मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा पर्ने मुगल शैलीमा निर्मित हिन्दुहरूको आस्थाको केन्द्र जानकी मन्दिर विश्व सम्पदामा पर्ने विषयले पुनः चर्चा पाएको छ । सम्बन्धित निकायले गम्भीरतापूर्वक ध्यान नदिँदा सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको जानकी मन्दिर हिन्दुहरूको आस्थाको केन्द्र मात्र नभएर मिथिलावासीको धरोहरका रूपमा रहेको छ ।

सन् २०१४ अक्टोबर १ देखि जानकी मन्दिरलाई विश्व सम्पदामा लैजानु पर्छ भन्दै सामाजिक संस्था भोरले हस्ताक्षर अभियानसमेत सञ्चालन गरेको थियो । उक्त हस्ताक्षर सङ्कलनपछि जानकी मन्दिरलाई विश्व सम्पदामा लैजान चारैतिरबाट आवाज उठ्न थाल्यो र उतिबेला युवा जागरुक पनि भए तर यसको नेतृत्व गर्नुपर्र्नेे निकाय जनकपुरधाम उपमहानगरपालिकाले गम्भीरतापूर्वक नलिँदा जानकी मन्दिर विश्व सम्पदाको सूची प्रव्रिmया अगाडि बढ्न नसकेको भोरका संयोजक राजकुमार महतोको भनाइ छ । उहाँले भन्नुभयो, “चलाएको अभियानको थप प्रव्रिmया अगाडि बढाउन जनकपुरधामका तत्कालीन प्रमुख लालकिशोर साहलाई जिम्मेवारी हस्तान्तरण गरेका थियौँ । त्यसपछिका बाँकी पहल उपमहानगरपालिकाले नेतृत्व लिएर गर्नुपर्ने थियो तर गर्न सकेन ।” त्यहीबिचमा निर्माण भएको भौतिक संरचनाले मन्दिरको उचाइ घटेको छ । बत्ती जडानका लागि चलाइएका ड्रिल मेसिनले मन्दिरमा असर परेको छ । त्यही पनि बेलाबेलामा घचघच्याउने काम भने गरिरहेको उहाँ बताउनुहुन्छ ।

अहिले उपमहानगर प्रमुख मनोजकुमार साहले जानकी मन्दिरका विषयमा उपमहानगर सक्रिय देखिएको र पहलसमेत भइरहेको बताउनुभयो । विगतमा पनि कार्य नभएका होइनन् तर योजनाबद्ध रूपमा कार्य नभएको जानकारी दिँदै प्रमुख साहले भन्नुभयो, “सङ्घीय सरकारको नीति कार्यक्रममा जानकी मन्दिरको विषय उठ्नुअघि उपमहानगरले पहल गरेको हो । त्यसका लागि समिति बनाएर नक्साङ्कनसमेत गरेर पठाइएको छ । अब विश्व सम्पदाका लागि युनेस्कोलाई प्रस्ताव पठाउनु पर्ने हुन्छ । त्यसका लागि मोटो रकम खर्च हुने र दक्ष जनशक्तिको आवश्यकता पर्ने हुँदा बजेटको पर्खाइमा छौँ ।” 

केन्द्र सरकारले बजेट उपलब्ध गराए ठिकै हुन्छ । नभए उपमहानगरपालिकाको आगामी बजेटमा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रस्ताव तयार पार्ने साहले बताउनुभयो । 

यता जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा लैजानेबारे बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहले जनकपुरधाम उपमहानगरपालिका र बृहत्तरले एकजुट भएर जानकी मन्दिरलाई विश्व सम्पदामा लैजाने विषयमा अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले एक व्यक्ति वा एक निकायको प्रयासले सफल नहुने भन्दै मन्दिरलाई विश्व सम्पदामा लैजान जनकपुरधाम उपमहानगरपालिका, बृहत्तर, पुरातìव विभाग, सङ्घीय सरकार, प्रदेश सरकारलगायतका सरोकारवाला निकायले सहकार्य  गर्नुपर्नेमा जोड दिनुभयो । 

विश्व सम्पदाका लागि संरक्षित क्षेत्र घोषणाका लागि नक्साङ्कन गरिएको क्षेत्र १२ बिघा, अङ्गराजसागर, जानकी चोक, तेलहा मरहा पोखरी हुँदै टेलिकमदेखि दक्षिण शिव चोक, जनक चोक, गङ्गासागर, धनुषसागर हुँदै गोपाल धर्मशालाको उत्तरतर्फको बाटो हुँदै राम टावर राजदेवी मन्दिर हुँदै जानकी मन्दिरसम्मको क्षेत्र तोकिएको छ । 

सङ्घीय सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यव्रmममा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने विषयलाई समेटेपछि जनकपुरधाम उपमहानगरपालिकालगायतका सरोकारवाला निकायले पहल गर्दै गत जेठमा पुरातìव विभाग काठमाडौँका पदाधिकारी, केन्द्रीय गुठी संस्थानका पदाधिकारी, जनकपुरधाम उपमहानगरपालिकाका पदाधिकारी तथा बृहत्तरका पदाधिकारीलगायत सरोकारवाला निकायको उपस्थितिमा रामजानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा तथा विश्व सम्पदा सूचीमा सूचीकृत गर्न भौतिक पूर्वाधार तयारी विषयक छलफल कार्यक्रमको आयोजनासमेत गरेको थियो । त्यस्तै गत मङ्सिरमा जनकपुरधामका प्रमुख साहले जानकी मन्दिरलाई विश्व सम्पदामा लैजाने कार्यलाई अभियानकै रूपमा सञ्चालन गर्ने प्रतिबद्धतासमेत जाहेर गर्नुभएको थियो । उहाँले  जानकी मन्दिरलाई विश्व सम्पदामा लैजान उपमहानगरले अपनत्व लिएको र उक्त कार्यलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्न अग्रसर रहने बताउनुभएको थियो । 

पुरातìव विभागका सूचना अधिकारी रमेशराज पौडेलका अनुसार विश्व सम्पदामा लैजानु पहिला संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने हुन्छ । अहिले संरक्षण क्षेत्र घोषणाका लागि नक्साङ्कन कार्यका लागि तयारी हुँदै छ तर संरक्षित क्षेत्रभित्र पर्ने निजी र सार्वजनिक स्थल छुट्याउन सकिएको छैन । कुन निजी र सार्वजनिक अझै धेरै काम बाँकी छ । विगतमा पनि पहल भएका हुन्  तर अझै पनि धेरै काम बाँकी छ ।