• १९ असार २०८१, बुधबार

स्व.दुर्गाबाबु पाठक स्मृति सङ्गीत पुरस्कार घिमिरेलाई

blog

ललितपुर, असार १७ गते । सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबाबु पाठको स्मृतिमा स्थापित ‘दुर्गाबाबु पाठक स्मृति सङ्गीत पुरस्कार’ रायन घिमिरेलाई प्रदान गरिएको छ ।

सोमबार सशस्त्र प्रहरी परिवार महिला सङ्घको २३औँ वार्षिकोत्सवको अवसरमा सङ्घकी उपाध्यक्ष साबित्रा कुमारी जैसिले कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलको कक्षा ८ मा अध्ययनरत छात्र घिमिरेलाई पुरस्कार प्रदान गर्नुभएको हो ।

यसअघिका वर्षमा सो पुरस्कार नेपाल एपीएफ स्कुल कीर्तिपुरका छात्रहरू आशिष् रोकाया, साइजित पाण्डे, अनीश थापा मगर र अर्जुन झालाई प्रदान गरिएको थियो । 

स्व.पाठको स्मृतिमा सी.सं. ७ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका सहकर्मीहरूद्वारा सामूहिक रूपमा २०७३ सालमा अक्षयकोष स्थापना गरिएको थियो । कोषमा जम्मा भएको रकमको व्याजबाट हरेक वर्ष सशस्त्र प्रहरी परिवार महिला सङ्घको वार्षिकोत्सवमा सो पुरस्कार नेपाल एपीएफ स्कुलमा अध्ययनरत सङ्गीततर्फ प्रथम हुने छात्र तथा छात्रालाई प्रदान गरिँदै आएको डिएसपी शैलेन्द्र थापाले बताउनुभयो ।

स्व.पाठकले ‘पन्क्षी र निन्द्रा लाग्दैन’ गरी दुई वटा एल्बम बजारमा ल्याएका थिए । गीत सङ्गीतमा रुचि राख्ने पाठक २०६०÷२०६१ सालमा चितवनमा सम्पन्न सिनर्जी राईजिङ् स्टारको उत्कृष्ट १० भित्र पर्न सफल भएका थिए भने आठौँ कालिका म्युजिक अवार्डमा वेस्ट आर्टिष्टको उपाधि समेत हात पारेका थिए ।

गीत लेख्ने, सङ्गीत दिने र आफैँ गाउने समेत क्षमता भएका स्व.पाठकको प्रतिभालाई अमर राख्नको लागि उक्त अक्षयकोष स्थापना गरिएको डिएसपी थापाले जानकारी दिनुभयो । कर्तव्य पालनाको सिलसिलामा २०७२ चैत २८ गते धादिङको मलेखुमा भएको अकल्पनीय सडक दुर्घटनामा परि उहाँको निधन भएको थियो ।