• १८ असार २०८१, मङ्गलबार

देवकोटा दोस्रो पटक मन्त्री नियुक्त

blog

फडिन्द्र अधिकारी

लेखनाथ, असार १६ गते । गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा आइतबार ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त हुनुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्तगरी आइतबार आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । 

नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएपछि देवकोटालाई नेकपा (माओवादी केन्द्र) ले कारवाही गरेको थियो । माओवादीको कारवाहीपछि मन्त्री नियुक्त भएको तीन दिनमै देवकोटा जेठ ३२ गते पदमुक्त हुनुभएको हो । 

माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद देवकोटा कारवाहीविरुद्ध सर्वाेच्च अदालत जानुभएको थियो । सर्वाेच्चले देवकोटालाई माओवादी केन्द्रले कारवाही गर्न नमिल्ने भन्दै अहिलेलाई काम, कारवाहीमा रोक नलगाउन सोमबार अन्तरिम आदेश दिएको थियो । 

सर्वाेच्च अदालतको जेठ १६ गतेको परमादेशबाट मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डे नेतृत्वको मन्त्रिपरिषद् अझै पूर्ण भएको छैन । सात सदस्यीय मन्त्रिपरिषद्मा अझै दुई मन्त्रालय खाली छन् । विश्वासको मत दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी अझै सरकारमा सामेल भएको छैन ।