• १८ असार २०८१, मङ्गलबार

अटेरी गर्ने क्रसर उद्योगलाई ताकिता

blog

नेपालगन्ज समाचारदाता 

नेपालगन्ज, असार १६ गते । उद्योगमा रहेका ढुङ्गा, गिट्टी र बालुवाको मौज्दात प्रमाणित गराउन अटेरी गर्ने राप्तीसोनारी गाउँपालिका क्षेत्रभित्र सञ्चालित क्रसर उद्योगलाई मौज्दात प्रमाणित गर्न तेस्रो पटक पत्र काटेर ताकिता गरिएको छ । यसअघि दुई पटक पत्र काटेर उद्योगमा रहेका ढुङ्गा, गिट्टी र बालुवाको मौज्दात प्रमाणित गराउन जानकारी गराउँदा उद्योगहरूले मौज्दात प्रमाणित नगराई अटेरी गरेकाले तेस्रो पटक पत्र काटेर ताकिता गरिएको राप्तीसोनारी गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले सार्वजनिक सूचना प्रकाशित गरेर यसअघि पटक पटक ताकिता गर्दा पनि मौज्दात प्रमाणितका लागि क्रसर उद्योगहरूले चासो नदिएपछि तेस्रो पटक पत्र काटिएको जनाउनुभएको छ । यसअघि असार २ गते र असार ७ गते छुट्टाछुट्टै पत्र पठाएको भए पनि विवरण दर्ता गर्न उद्योगहरू नआएकाले तेस्रो पटक पत्र काटिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऐडीले बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऐडीद्वारा जारी सूचनामा भनिएको छ, “यस कार्यालयको मिति २०८१/०३/०२ को च नं. ३१०५ र २०८१/०३/०७ को च नं. ३१४५ को पत्र प्राप्त गर्नुभएकै होला । उक्त पत्रबाट माग गरिएको ढाँचामा हालसम्म मौज्दात प्रमाणितका लागि विवरण प्राप्त हुन नआएकाले अविलम्ब यस कार्यालयमा आआफ्नो उद्योगको विवरण अनिवार्य पठाउनुहुन सम्बन्धित सबै क्रसर उद्योगलाई पुनः जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।” 

गाउँपालिकाले यसअघि पठाइएका दुई पत्रको चलानी नम्बरसमेत उल्लेख गरेर तेस्रो पटक असार ११ गते अर्को सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ । तेस्रो पटक सूचना जारी भएपछि केही क्रसर उद्योगहरूले विवरण पठाएको र धेरैले अझै कुनै चासो नलिएको प्रमुख प्रशासकीय अधिकृत ऐडीले बताउनुभयो । उहाँले तेस्रो पटक पनि अटेरी गरेपछि त्यस्तो गर्ने उद्योगहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन बाध्य हुने बताउनुभएको छ ।