• ६ जेठ २०८१, आइतबार

अतिरिक्त शुल्क हटाउन आग्रह

blog

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू (दायाँ) र नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरी ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १७ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीबीच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धिबारे छलफल भएको छ । शुक्रबार भएको भेटमा मन्त्री बडूले द्विपक्षीय व्यापार र लगानी अभिवृद्धि गरी दुवै देशले अधिकतम पारस्परिक लाभ उठाउन सक्ने विचार व्यक्त गर्नुभयो । दुई देशबीच वाणिज्य, पर्यटन, ऊर्जालगायतका क्षेत्रमा थप सहकार्य हुने विश्वास व्यक्त गर्दै मन्त्री बडूले नेपालमा ऊर्जा, पर्यटन र विकास पूर्वाधारका क्षेत्रमा हुने लगानीको संरक्षण र सहजीकरण गर्न नेपाल सरकार तयार रहेको बताउनुभयो । दुई देशबीच यथाशीघ्र सौविध्या प्राप्त व्यापार सम्झौता (प्रिफेन्सियल ट्रेड अग्रिमेन्ट) गर्न र परस्पर लाभ प्राप्त हुनेगरी व्यापार प्रवद्र्धनमा उपयोग गर्नुपर्नेमा मन्त्री बडूले जोड दिनुभयो ।  

राजदूत चौधरीले दुई देशबीचको सम्बन्धलाई ऊर्जा विकास, व्यापार सहजीकरण तथा पर्यटन प्रवद्र्धनका क्षेत्रमा सहकार्यमार्फत थप सुदृढ गर्न सकिने विचार व्यक्त गर्नुभयो । नेपाली वस्तुको निर्यातमा सहजीकरण गर्न बङ्गलादेश सरकार तत्पर रहेको राजदूत चौधरीले बताउनुभयो । गत वर्ष सम्पन्न राष्ट्रपति विद्यादेवी भण्डारीको बङ्गलादेश भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनबारे चासो राख्नुहुँदै राजदूत चौधरीले ऊर्जा विकास, व्यापार, पर्यटनलगायतका क्षेत्रमा बङ्गलादेशले नेपालमा लगानी गर्न चाहेको जानकारी दिनुभयो । 

भेटमा नेपाली वस्तु निर्यातमा बङ्गलादेशले लगाइरहेको अतिरिक्त शुल्क हटाउन आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बङ्गलादेशले भन्सारबाहेकका थप शुल्क लगाइरहेका कारण नेपाली वस्तु निर्यातमा समस्या हुने गरेको छ । सो अवसरमा ऊर्जा, कृषि, पर्यटन, व्यापारलगायतका विषयमा द्विपक्षीय सहयोग गर्ने र वस्तु तथा सेवाको निर्यातमा सहजीकरण गर्ने विषयमा छलफल भएको थियो । 

नेपालबाट जडीबुटी, तेल, दाल, अदुवा, अम्रिसोलगायतका कृषिजन्य वस्तु बङ्गलादेश निर्यात हुने गर्छ । बङ्गलादेशबाट खानेतेल, आलु, जुट, लिड एसिड, कपालमा लगाउने तेललगायतका सामान आयात हुने गरेका छन् । चालू आर्थिक वर्षको नौ महिनामा बङ्गलादेशबाट नौ अर्ब ६० करोड ४८ लाख २३ हजार रुपियाँको आयात भएको छ भने निर्यात ५० करोड २९ लाख ४८ हजार रुपियाँ बराबरको छ ।