• १७ असार २०८१, सोमबार

प्रदेश सरकारले प्रदेश शिक्षा नीति ल्याउन गृह कार्य सुरु गरेको छ : शिक्षा मन्त्री लेखी

blog

जनकपुरधाममा भएको शिक्षासम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्नुहुँदै मन्त्री राजकुमार लेखि । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा
जनकपुरधाम ,असार १५ गते ।
 मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री राज कुमार लेखीले मधेश प्रदेशको शिक्षामा समग्र सुधारका लागि प्रदेश सरकारले प्रदेश शिक्षा नीति ल्याउन गृह कार्य सुरु गरेको बताउनुभएको छ ।

शिक्षा निर्देशनालय मधेश प्रदेशले जनकपुरधाममा गरेको विद्यार्थी भर्ना तथा टिकाउ दर सम्बन्धी चुनौती र समाधानका उपाय विषयक दुई दिने प्रदेश स्तरीय बृहत् शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रमको शनिबार समापन्न कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

प्रदेश गठन भएको सात वर्ष बित्न लाग्दा पनि मधेश प्रदेशमा शिक्षा नीति आउन नसकेको कारण शिक्षाको क्षेत्रमा विभिन्न खालका चुनौतीहरू देखिएको भन्दै उहाँले शिक्षा नीति ल्याउनकै लागि मन्त्रालयले सरोकारवाला निकायसँग विभिन्न खालका छलफलहरू चलाएको बताउनुभयो । मधेश प्रदेशको बजेटमा शिक्षा क्षेत्र छैटौँ प्राथमिकतामा परेको जानकारी गराउँदै सीमित स्रोत साधनका बाबजुद आफ्नो मन्त्रालयले समाजवाद उन्मुख आधारभूत वर्गलाई लक्षित गरी कार्यक्रमहरू सञ्चालन गर्न लागेको जानकारी गराउनुभयो ।


उहाँले अगामी आर्थिक वर्षमा प्रदेशका केही विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्नुका साथै केही विद्यालयका बालकक्षाहरु लाई व्यवस्थित गर्न प्रदेश सरकारले आर्थिक सहयोग गर्ने कार्यक्रम ल्याएको बताउनुभयो । उहाँले खास गरेर दलित विपन्न वर्गका बालबालिकाले आर्थिक अभावका कारण विद्यालय छोड्ने गरेको भन्दै त्यस्ता खालका समस्या समाधानका लागि मन्त्रालयले दलित विपन्न वर्गका विद्यार्थीसहित अभिभावकलाई समेत सहयोग गर्ने कार्यक्रम ल्याएको जानकारी गराउनुभयो । उहाँले दलित विपन्न वर्गका विद्यार्थीको अभिभावकलाई मासिक ५० केजी चामल, पाँच केजी दाल सहयोग दिने कार्यक्रम मन्त्रालयले ल्याएको बताउनुभयो । एकलो प्रयासले कुनै पनि काम सम्भव नहुने भन्दै मधेशको साक्षरता दर बढाउनका लागि मन्त्रालयले सुरु गर्न लागेको विशेष अभियानमा सबैको सहयोग आवश्यक भएको उहाँको भनाइ रहेको छ ।

कार्यक्रममा सहभागी प्रदेशसभा सदस्यहरू र शिक्षा क्षेत्रका जानकारहरूले प्रदेशमा विद्यालय छोडने दर घटाउन र साक्षरता दर बढाउनका लागि विभिन्न किसिमका सुझाव दिनुभएको थियो । कार्यक्रममा मधेश प्रदेशको शिक्षाको अवस्था विषयमा मन्त्रालयका उप सचिव किशोरी कापर, शैक्षिक सुधारका लागि नीतिगत व्यवस्था, चुनौती तथा समाधानका उपायको विषयमा विष्णु कुँवरले प्रस्तुतीकरण गर्नुभएको थियो । शिक्षा निर्देशनालय मधेश प्रदेशका निर्देशक दिलीप ठाकुरको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेशसभा सदस्य राम अशिष यादवले शिक्षा क्षेत्रमा गर्नुभएको कामकाजको विषयमा आफ्नो अनुभव सहितको प्रस्तुति गर्नुभएको थियो ।