• १७ असार २०८१, सोमबार

प्रादेशिक अस्पताल जलेश्वर न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा पहिलो

blog

प्रादेशिक अस्पताल जलेश्वरका मे.सु.डा.राजीव कुमार झा कार्यक्रममा मनतव्य राख्नुहुँदै । तस्बिर नागेन्द्रकुमार कर्ण

नागेन्द्रकुमार कर्ण
महोत्तरी, असार १५ गते । 
महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पताल जलेश्वर न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा मधेश प्रदेशमा पहिलो भएको छ । प्रादेशिक अस्पताल जलेश्वरले ९३ प्रतिशत अङ्क ल्याउँदै मधेश प्रदेशमा पहिलो अस्पताल बन्न सफल भएको हो ।

मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयका न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन कार्यक्रमका फोकल पर्सन तथा कोशी अस्पतालका चिकित्सक डा.दीपेन्द्र पाण्डेयको अनुगमन टोलीले गरेको अनुगमनको आधारमा प्रादेशिक अस्पताल जलेश्वरलाई प्रथम घोषणा गरेको हो । सिरहा अस्पतालको समेत ९३ प्रतिशत अङ्क रहेपनि विगतभन्दा अहिले अङ्क प्रतिशत घटेको तथा प्रादेशिक अस्पताल जलेश्वरको अङ्क बढेकाले जलेश्वर अस्पताललाई प्रथम घोषणा गरिएको हो ।

विगतमा समेत ८६ प्रतिशत अङ्कका साथ प्रादेशिक अस्पताल जलेश्वर प्रदेशको दोस्रो स्थानमा रहेको थियो । मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयका न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन कार्यक्रमको अनुगमन टोलीमा फोकलपर्सन डा.पाण्डेयसहित स्वास्थ्य कार्यालय धनुषाका उमेश कुमार यादव, बर्दिबास अस्पतालका प्रमुख डा. कृष्णा महर्जन, एनएसआईका जनाद्र्धन पाठक, स्वास्थ्य निर्देशनालयका शिवानी कार्की तथा रोजी ठाकुर रहनुभएको थियो ।

मधेश प्रदेशमा वर्षमा दुईपटक सिरहा अस्पताल, जलेश्वर अस्पताल, गौर अस्पताल, मलङ्गवा अस्पताल, लहान अस्पताल र कलैया अस्पतालको अनुगमन मूल्याङ्कन हुने गरेको छ ।

न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमअन्तर्गत अस्पतालको अनुगमन मूल्याङ्कन समीक्षा कार्यक्रममा अस्पतालका प्रमुख डा.राजीव कुमार झाले सम्पूर्ण कर्मचारीहरूको अथक मेहनतले अस्पताल प्रदेशमा पहिलो बन्न सफल भएकोमा खुसी व्यक्त गर्नुहुँदै निरन्तर रूपमा यसरी नै काम गर्न सम्पूर्ण कर्मचारीहरूमा आग्रह गर्नुभयो ।

उहाँले हाम्रो पहिलो काम भनेको बिरामीको उपचार रहेकोले सो काममा कुनै पनि कन्जुस्याइँ गर्न नहुने बताउनुहुँदै अस्पतालको सीमित स्रोत साधनका बाबजुद कर्मचारीहरूको मनोबल र कामले अस्पताल पहिलो बन्न सफल भएको बताउनुहुँदै अस्पतालमा अहिले पनि जनशक्ति १५ शय्याको मात्रै रहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति सुमन कुमार लाल कर्णले अस्पतालले पाएको उपलब्धिलाई टिकाई राख्न कर्मचारीहरूसँग आग्रह गर्नुहुँदै रेफर अस्पतालबाट सुधार हुँदै गएकोमा धन्यवाद दिनुभयो ।

कार्यक्रममा अस्पतालका अध्यक्ष मिन्नु झाले पाँच बेडको आइसियु सेवा तथा हेमोडायलायसिस सेवा सुचारुको पहल भइरहेको बताउनुहुँदै अस्पतालमा ल्याब सेवामा विस्तार र सुधारका साथसाथै चौबिसै घण्टा ब्लड बैङ्क सञ्चालनमा रहेको बताउनुभयो । उहाँले अस्पताललाई प्रदेशको पहिलो स्थानमा ल्याउन सफल भएकोमा सबैलाई बधाई तथा धन्यवाद दिनुभयो ।

कार्यक्रममा जलेश्वर नगरपालिकाका कार्यवाहक नगरप्रमुख रवीन्द्र यादव, महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, स्वास्थ्य कार्यालयका प्रमुख सुनिता गुप्तालगायतकाहरुले समेत अस्पतालमा सेवा,सुविधामा विस्तार हुँदै गएकोमा खुसी व्यक्त गर्नुहुँदै निरन्तरताको कामना गर्नुभयो ।