• १७ असार २०८१, सोमबार

प्रदेश सरकारले गोरखापत्रसँग सहकार्य गर्ने : मुख्यमन्त्री सिंह

blog

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसहित गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराई र गोरखापत्र दैनिक मधेश प्रदेश संयोजक धिरेन्द्रप्रसाद साह ।

लक्ष्मी चौधरी

जनकपुरधाम, असार १४ गते । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले आगामी दिनमा गोरखापत्र संस्थानसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । 

गोरखापत्र संस्थानका केन्द्रीय टोलीसँग शुक्रबार भएको छलफलमा मुख्यमन्त्री सिंहले प्रदेश सरकारले गरेका गतिविधि जनसमक्ष ल्याउन र प्रदेशमा भइरहेका भ्रम सिर्जना गर्ने प्रवृत्तिलाई न्यूनीकरण गर्नसमेत गोरखापत्रसँग सहकार्य गर्न आवश्यक रहेको भन्दै आगामी दिनमा संस्थानसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

मुख्यमन्त्री सिंहले प्रदेशमा भएका राम्रा कामलाई दस्तावेजीकरण गर्नका लागि पनि गोरखापत्रसँग सहकार्य गर्न आवश्यक रहेको बताउनुहुँदै प्रदेश डायरीमार्फत मधेश प्रदेशलाई थप प्रभावकारी बनाउन सकिने उल्लेख गर्नुभयो । नकारात्मक खबरले युट्युबमा टिआरपी बढी बनाउने होडबाजीमा भ्रामक खबर भाइरल हुने गरेको जस्ता कार्यलाई निरुत्साहीत गर्दै प्रदेशमा भएका गतिविधिलाई पारदर्शी बनाउन समेत गोरखापत्रसँगको सहकार्य आवश्य रहेको उल्लेख गर्नुभयो । गोरखापत्रसँग सहकार्य गरेर तयार पारिएको दस्तावेजीकरणबाट मधेश प्रदेशको विकासमा समेत सहयोग पुग्ने मुख्यमन्त्री सिंहले बताउनुभयो । 

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले राष्ट्रिय राजनीतिमा मधेशको विशेष महत्व रहेको हुँदा थप गृहकार्य गरेर मधेश सरकार र गोखापत्र संस्थान अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले यहाँका संस्कृति, सम्पदा, पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा प्रवर्धनमा पनि गोरखापत्रको मुख्य भूमिका रहेको हुँदा संस्थान मधेश सरकारसँग सहकार्य गर्न तयारी रहेको उल्लेख गर्नुभयो । 

यस्तै, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले प्रदेश सरकारले गरेका राम्रा कामलाई प्रकाशन गर्न गोरखापत्रसँग स्वामित्व खोज्नुपर्ने बताउनुभयो । उहाँले मुख्यमन्त्री समक्ष प्रदेशका अयोजना, नीति निर्माण, कानुन निर्माण, पत्रकारिता जगतलाई थप सबल बनाउनका लागि गोरखापत्रसँग सहकार्य गर्न आग्रह गर्नुभयो । उहँले भन्नुभयो,“मधेश सरकारको गतिविधि झल्किने गरी गोरखापत्रमा मधेशको छुट्टै स्थान ओगट्ने खालको मधेश गोरखापत्र नामक जस्ता प्रकाशन निकाल्न मधेश सरकारले पनि अपनत्व लिएर जानुपर्ने हो ।”

मुख्यमन्त्री हिंससँगको छलफलमा गोरखापत्रका दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईले गोरखापत्रले अन्य प्रदेशमा गोरखापत्र संस्थान मधेश प्रदेश सरकारसँग समन्वय र सहकार्य गरी अगाडि बढ्न तयार रहेको भन्दै गोरखापत्रका प्रकाशनलाई मधेश सरकारलाई पनि अपनत्व बोध गर्न आग्रह गर्नुभयो । 

यसैगरी केन्द्रिय टोलीले शुक्रबारै आमसञ्चार प्राधिकारण मधेश प्रदेशसँगको समन्वय र सहकार्यमा आगामी दिनमा मधेशका गोरखापत्रका संवाददाताहरुका क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम, अन्तरक्रिया आयोजना गरिने सम्बन्धमा समेत छलफल गरेको छ । यसैगरी संस्थान व्यवस्थापन तथा सम्पादकीय नेतृत्वले आज प्रदेश कार्यालयको निरीक्षण गर्नुभयो ।