• १६ असार २०८१, आइतबार

चीनमा नेपाली युवती बिक्री

blog

काठमाडौँ, असार १४ गते । विवाहको बहाना बनाई चीन पुर्‍याइएकी नेपाली युवतीलाई बिक्री गरी यौनजन्य क्रियाकलामा लाग्न बाध्य बनाएको आरोपमा प्रहरीले एक महिलालाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा–१, जोगीदहकी सुन्दरी राई रहेको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले जनाएको छ । 

ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार पक्राउ परेकी राईले पीडित युवतीलाई सामाजिक सञ्जाल मेसेन्जरमार्फत सम्पर्क गरेकी थिइन् ।पीडितलाई प्रलोभनमा पार्ने क्रममा आरोपितले चीन धेरै राम्रो रहेको र आफूले जस्तै गरी चिनियाँ युवकसँग विवाह गरेर  आउन सुझाव दिएको प्रहरीले जनाएको छ । 

यसै क्रममा आरोपित राईले युवतीलाई बनावटी रूपमा विवाह गर्ने गरी काठमाडौँको ठमेलमा चिनियाँ केटासँग भेटघाटसमेत गराएकी थिइन् ।

बनावटी विवाह गरी भिजिट भिसामा चीन पुर्‍याएर युवतीलाई राईले एक लाख ५० हजार रुपियाँमा बेचबिखन गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।  

युवतीलाई चीनस्थित नेपाली राजदूतावासको समन्वयमा असार ९ गते उद्धार गरी नेपाल फिर्ता गरेपछि पीडितको उजुरीका आधारमा  मानव बेचबिखन अनुसन्धान ब्युरोले राईलाई पक्राउ गरेको जनाएको छ । राईलाई जिल्ला अदालत काठमाडौँबाट सात दिन म्याद थप गरी थप अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ ।