• १६ असार २०८१, आइतबार

निन्दाखोला किनारमा हात्ती मृत फेला

blog

मृत अवस्थामा भेटिएको हात्ती । तस्बिर: गोरखापत्र

विष्णुप्रसाद पोखरेल

दमक, असार १३ गते । झापाको मेचीनगरमा बिहीबार बिहान एउटा हात्ती मृत अवस्थामा फेला परेको छ । वडा नं. ३ स्थित निन्दा खोलाको पश्चिमतर्फ धरधरे ग्राउन्ड नजिक मृत अवस्थामा हात्ती फेला परेको हात्ती सूचना केन्द्र बाहुण्डाँगीले जनाएको छ ।

बिहानै भाले हात्ती मृत अवस्थामा फेला परेको र शरीरमा देखिने प्रकारको कुनै पनि चोटपटक नरहेको स्थानीयहरूले बताएका छन् । कतिपय स्थानीयले गणेश देवताको रूपमा बिहानै फुलहरू ल्याएर चढाएका थिए । सीमा क्षेत्रमा विद्युतीय धराप समेत प्रयोग हुँदै आए पनि के कारण मृत्यु भएको हो भन्ने खुल्न नसकेको बताइएको छ ।

विद्युतीय धराप लाग्दा हात्ती सोही ठाउँमा नै मर्ने भएकाले विद्युतीय धरापमा परेकोजस्तो नदेखिएको डिभिजन वन कार्यालय झापाका अधिकृत जीवन पाठकले बताउनुभयो । फुड पोइजनिङका कारण हात्ती मरेको हुनसक्ने पनि उहाँले जनाउनुभयो । हात्तीको उमेर र मृत्युको कारण पोस्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने उहाँको भनाई छ ।

यो सहित जिल्लाका विभिन्न पालिकाहरूमा अहिलेसम्म २० वटा हात्ती विभिन्न कारणले मरिसकेका छन् । धेरैजसो हात्तीहरू विद्युतीय तार बारमा परेर मरेको बताइन्छ । मानव हात्ती द्वन्द्व न्यूनीकरणका लागि सक्रिय अभियानकर्मी शङ्कर लुइँटेलका अनुसार हात्तीको मृत्युको कारण र त्यसमा संलग्नहरूको पहिचानको विषयमा सरोकारवाला निकायहरू गम्भीर नबन्दा हात्ती मारिने क्रम नरोकिएको हो ।

केही दिन देखि यस क्षेत्रमा ३० देखि ४० वटासम्मको सङ्ख्यामा हात्तीहरू ओहोरदोहोर गर्दै आएका थिए । भारतीय जङ्गलबाट नेपालतर्फ आउने र फर्कने क्रम दिनहुँ जसो हुने गरेको मेचीनगर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष समेत रहनुभएका मानव हात्ती द्वन्द्व न्यूनीकरणमा क्रियाशील अर्जुन कार्कीले बताउनुभयो ।

दुई महिना अघि पनि मेचीनगर नगरपालिका–१२ स्थित कालीका सामुदायिक वनभित्र दारा काटिएको अवस्थामा मृत हात्ती फेला परेको थियो । तस्करहरूले दारा झिक्न हात्ती मारेको तर विस्तृत अध्ययन नगरी पुरिएको भन्दै हात्ती संरक्षणकर्मीहरूले विरोध जनाएपछि पुरिएको हात्ती पुन झिकेर आवश्यक अनुसन्धान गरिएको बताइन्छ ।