• ८ मंसिर २०८१, शनिबार

लोप हुँदै धान नाच

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, असार १३ गते । धान नाच (याःलाङ) पूर्वी क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति समुदाय अन्तर्गत लिम्बू (याक्थुङ) जातिको मौलिक संस्कृति हो । नयाँ पुस्ताले मौलिक संस्कार र संस्कृतिप्रति चासो नदिँदा धान नाच लोप हुँदै गएको छ । नयाँ पुस्ता आधुनिकतामा रमाउन थाल्नाले लिम्बू जाति तथा पुर्बेली समुदायमै लोकप्रिय रहेको धान नाच दिनदिनै लोप हुँदै गएको हो । 

धान नाच एकले अर्काको हात समाएर गोलाकार घेरा र लामबद्ध भएर सामूहिक रूपमा नाच्ने गरिन्छ । जुहारी वा दोहोरी शैलीमा लिम्बू भाषामा पाःलाम (गीत) गाउँदै धान नाच्ने गरिन्छ । विशेषगरी लिम्बू समुदाय वा जातिमा हुने विवाह संस्कार, सुखदुःखका कार्य, मेला हाट र अन्य उत्सवमा धान नाच्ने प्रचलन रहिआएको छ । चेली माइती र नाता सम्बन्ध नलाग्ने कुटुम्बबिच युवकयुवतीदेखि जुनसुकै उमेर समूहले धान नाच्ने गर्दछन् । आफ्नो मौलिक संस्कृतिमा रमाउन चाहने वृद्धवृद्धासमेत धान नाचमा सरिक हुने गर्दछन् ।

एकै परिवारका आफन्तबिच वा चेली माइतीले मौलिक संस्कृति उजागर गर्न धान नाच्ने गर्छन् भने साइनो (नाता) नलाग्ने युवकयुवतीले एकापसमा धान नाचेर मायाप्रेम साट्ने गर्दछन् । युवकयुवतीबिच धान नाच्दै माया प्रेम साटासाट गर्ने र कोही कोही धान नाचकै माध्यमबाट विवाह बन्धनमा बाँधिने गरेका छन् । त्यसैले पनि धान नाच लिम्बू जातिको पृथक् र अनौठो साथै एक रमाइलो अनुभूति दिलाउने संस्कृति हो ।

पछिल्लो पुस्ताका युवकयुवती मौलिक संस्कार तथा संस्कृतिमा भन्दा पनि आधुनिकतामा बढी रमाउने गरेकाले धान नाच लोप हुँदै गएको याक्थुङ सांस्कृतिक परिषद्की जिल्ला अध्यक्ष हाङमाया लेछर्बो लिम्बूले बताउनुभयो । नयाँ पुस्ताले आफ्नो संस्कार संस्कृतिलाई बेवास्ता गरेको र परम्परालाई अनुसरण नगर्दा मौलिक संस्कृति सङ्कटमा पर्दै गएको लिम्बूले बताउनुभयो । लिम्बू जातिमा आधारित किराँत याक्थुङ चुम्लुङ, याक्थुङ, सांस्कृतिक परिषद्लगायतका जातीय संस्थाले संस्कार संस्कृति संरक्षणको पहल भने गर्दै आएको उहाँको भनाइ छ । 

यस्तै नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् ताप्लेजुङका अध्यक्ष भद्र बोखिम लिम्बूले पनि पश्चिमा संस्कृतिको बढ्दो प्रभाव, युवा पुस्तामा मौलिक कला संस्कृतिप्रतिको घट्दो रुचिका कारण धान नाच लोप हुने अवस्थामा पुगेको बताउनुभयो । लिम्बू जातिको धान नाचसहित विभिन्न जातजातिको मौलिक कला संस्कृतिको पुनर्उत्थान साथै सांस्कृतिक पुनर्जागरणको अभियान चलाउन आवश्यक रहेको बोखिम बताउनुहुन्छ । मौलिक संस्कृति संरक्षण जगेर्नाका निम्ति युवा पुस्तालाई जागरुक बनाउनुको विकल्प नभएको पनि उहाँको भनाइ छ ।