• १५ असार २०८१, शनिबार

पहिरोमा गम्भीर घाइते भएकालाई काठमाडौं लगियो

blog

शेरबहादुर राई

ओखलढुङ्गा, असार १२ गते । ओखलढुङ्गाको शेर्ना थुम्कीमा बुधबार विहान गएको पहिरोमा परेर गम्भीर घाइते भएकालाई उपचारका लागि काठमाडौं पठाइएको छ । 

पहिरोमा परी गम्भीर घाइते भएका चिशङ्खगढी गाउँपालिका –५ का ३९ वर्षीय बाबुराम खत्री र उहाँकी १८ वर्षीया छोरी मेनुका खत्रीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौं पठाइएको हो । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् ओखलढुङ्गाका संघीय सांसद रामहरि खतिवडाको पहलमा घाइतेको उद्धार गरी उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । 

पहिरोमा पुरिएर खत्रीकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्रीको घटनास्थलमै ज्यान गएको गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार ल्याइएको छ ।