• १५ असार २०८१, शनिबार

पानी परेपछि कृषकलाई रोपाइँ गर्न सहज

blog

रोपाइँ गर्ने तयारीमा रहेका कैलारी गाउँपालिका –६ का एक किसान । फाइल तस्बिर

प्रकाशविक्रम शाह

धनगढी, असार १२ गते । कैलालीमा बुधबार विहानदेखि पानी पर्न थालेपछि किसान खुशी भएका छन् । अत्यधिक गर्मी खेपिरहेका यहाँका बासिन्दालाई सहज भएको छ । 

महाकाली बेसिन अत्तरियाका प्रमुख सञ्जयकुमार साहका अनुसार आज ६.८ मिलिमिटर पानी परेको छ । ‘मनसुनी वर्षा सुरु भएको छ, अब पानी पर्ने र रोकिने भैरहन्छ’ उहाँले भन्नुभयो ।  

उहाँका अनुसार वर्षाले न्युनतम तापक्रम घटेर २६.६ मा झरेको छ । यसले अधिकतम तापक्रम पनि घट्ने छ । न्युनतम तापक्रम विहान ८ः४५ र अधिकतम तापक्रम साँझ ५ः३० मापन गर्ने गरिन्छ । 

कैलालीमा ४४.१ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेपछि अत्यधिक गर्मीले यहाँका बासिन्दा आजित भएका थिए ।  अर्कोतिर रोपाइँको काम पनि सुरु हुन सकेको थिएन । 

कैलालीमा गत बुधबार हल्का वर्षा भएको थियो, त्यसपछि शनिबार २६.५ मिलिमिटर पानी परेको थियो । गत बुधबार र शनिबारको पानीले राहत भएपछि आज थप पानी पर्दा यहाँका बासिन्दाले हिँडडुल गर्न र रोपाइँ गर्न सहज भएको बताएका छन् । 

असार दोस्रो साता चलिरहँदा पनि पानी नपर्दा तनावमा रहेका यहाँका कृषक पानी परेपछि सजिलो भएको कैलारी गाउँपालिका–६ का किसान पल्टुराम चौधरीले बताउनुभयो । 

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार कुल ८९ हजार ९३५ हेक्टर कृषियोग्य जमिन रहेको कैलालीमा ६९ हजार हेक्टर जमिनमा बर्खे धान खेती गर्ने गरिएको छ ।