• १३ असोज २०८१, आइतबार

आमसञ्चार प्राधिकरणद्वारा गतिविधि सार्वजनिक

blog

आमसञ्चार प्राधिकरण मधेश प्रदेशले आयोजना गरेको गतिविधि सार्वजनिक कार्यक्रम गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवसहित तस्बिर: लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, असार ११ गते । आमसञ्चार प्राधिकरण मधेश प्रदेशले कार्यालयको गतिविधि सार्वजनिक गरेको छ । प्राधिकरणले मंगलबार जनकपुरधाममा एक कार्यक्रम आयोजना गरी तीन आर्थिक वर्षको गतिविधि सार्वजनिक गरेको हो । 

प्राधिकरणले गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवको प्रमुख आतिथ्यमा तीन आर्थिक वर्षमा गरेको कार्यक्रम सार्वजनिक गरेको हो । उक्त गतिविधि सार्वजनिकीकरण कार्यक्रममा गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव यादवले आगामी दिनमा सम्बन्धित निकायसँग छलफल गरेर पत्रकारिता क्षेत्रलाई सबल बनाउने कार्यक्रमको आयोजना गर्ने बताउनुभयो । 

प्राधिकरणलाई सबल बनाउने अझै थुप्रा काम बाँकी रहेको बताउनुहुँदै सचिव यादवले नियमावली र कानुन संशोधन गरी सञ्चार क्षेत्रलाई थप बलियो बनाउने कार्यमा मन्त्रालय सधैँ अग्र स्थानमा रहने प्रतिबद्धता जनाउनुभयो । 

यस्तै, कार्यक्रमका वक्ताले प्राधिकरणलाई राजनीतिक नियुक्ति प्रक्रियालाई परिवर्तन गर्नुपर्ने बताउनुभएको थियो । उहाँहरूले प्राधिकरणले वितरण गर्ने विज्ञापनमा बजेट बढाउनुपर्ने माग राख्दै समानुपातिक प्रणालीबाट विज्ञापन वितरण गर्न आग्रह  गर्नुभयो । 

प्राधिकरणले प्रदेशका सम्पूर्ण सञ्चारमाध्यमको तथ्याङ्क सङ्कलन गरी नियमित अनुगमन थालेको छ । नियमित सञ्चालनमा रहेका रेडियो, एफएम, टेलिभिजन तथा पत्रपत्रिकालाई वर्गीकरण आधारमा लोक कल्याणकारी विज्ञापन वितरण गर्दै आएको छ । महिला पत्रकारका लागि स्वास्थ्य र दुर्घटना बिमाको समेत व्यवस्था गरेको छ ।  पत्रकारिता सम्बन्धी विभिन्न तालिम, गोष्ठी, सञ्चारकर्मी महिलालाई आत्मरक्षा तालिम समेत सञ्चालन गर्दैआएको छ ।  

कार्यक्रमका अध्यक्ष तथा प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले तीन वर्षको कार्यकाल कर्मचारीको अभावमा बिताएको बताउनुभयो । सधैँ कर्मचारी अभाव तथा आर्थिक वर्षको अन्त्यमा आउने बजेटको समस्याका कारण लक्ष्य पूरा नभएको गुनासो गर्नुभयो । 

कार्यक्रममा मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, प्रेस स्वतन्त्रता सेनानी रामभरत साह, पत्रकार विश्वमणि खनाल, पत्रकार महासङ्घ धनुषाका उपाध्यक्ष अवधेश कामतसहितको उपस्थिति थियो ।