• १५ असार २०८१, शनिबार

क्षयरोगमुक्त घोषणाका लागि अभियान

blog

गैडाकोटका स्वास्थ्य स्वयंमसेविका क्षयरोग पहिचानमा लाग्दै ।

मीना कंडेल

कावासोती, असार ११ गते । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकालाई क्षयरोगमुक्त नगरपालिका घोषणा गर्न अभियान सञ्चालन गरिएको छ । विश्वमै क्षयरोग जनस्वास्थ्य र दिगो विकासका लागि प्रमुख चुनौती रहँदैआएको छ । 

यो सरुवा रोग उच्च मृत्युदर भएका १० वटा रोगमध्ये एकको रूपमा रहँदै आएको छ । गरिबी, अशिक्षा, चेतनाको कमी, आन्तरिक बसाइसराइ र खुला सिमाना आदि कारणले क्षयरोगबाट सङ्क्रमित हुने दर बढ्दो छ । अध्ययनअनुसार मूलतः गरिब र सीमान्तकृत समूहमा क्षयरोगको जोखिम बढी रहेको छ ।

क्षयरोग मुक्त अभियान गैँडाकोटका संयोजक नारायण सापकोटाले नगरका प्रत्येक घर–घरमा गएर क्षयरोगको खोजपड्ताल गर्न सुरु गरिएको बताउनुभयो । असार १० गतेदेखि १४ गतेसम्म ५ दिनसम्म नगरका सबै क्षेत्रमा खोजपड्ताल गरी क्षयरोगको पहिचान गर्न लागिएको उहाँले जानकारी दिनुभयो । 

गैँडाकोट नगरपालिकामा हालसम्म एकसय बढीमा पहिचान भइसकेको छ । गैँडाकोटमा गत आर्थिक वर्ष १२९ जनामा क्षयरोग देखिएको सापकोटाले बताउनुभयो । क्षयरोग जोखिम समूह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायमा सक्रिय खोजपड्तालका लागि यसअघि नै हरेक वडामा १ जना संयोजक र सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका गरी ६२ जना चयन गरिएको छ । 

स्वास्थ्य स्वयंमसेविकालाई क्षयरोग पहिचान गर्ने तरिका, खकार सङ्कलन, उपचार विधिबारे जानकारी गराइएको छ । उहाँहरूले क्षयरोगको पहिचान, शङ्कास्पद व्यक्तिको खकार परीक्षण गरी निदान गर्नेछन् ।