• १५ असार २०८१, शनिबार

द्वन्द्व रोक्ने प्रयासका बिच इजरायलद्वारा गाजामा बम प्रहार

blog

गाजापट्टी, असार ११ गते । संयुक्त राज्य अमेरिकाले आफ्ना सहयोगीहरूलाई लेबनान सीमामा हिंसा बढ्न नदिन आग्रह गरेसँगै प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धको “तीव्र चरण’’ समाप्त भइरहेको बताउनुभएको थियो तर इजरायलले मङ्गलबार गाजामा पुनः बम प्रहार गरेको छ ।

हमासद्वारा सञ्चालित क्षेत्रको नागरिक सुरक्षा एजेन्सीका अनुसार इजरायली सेनाले गरेको घातक आक्रमणमा परी दुई विद्यालयका १३ जनाको मृत्यु हुनुका साथै गाजा सहरको एक घर नष्ट भएको छ ।

इजरायलले गाजाबाट लेबनानको सिमानामा केही सैनिकहरू पुनः तैनाथ गर्ने योजना बनाएको बेला अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले सोमबार देशको रक्षामन्त्रीलाई हिंसा बढ्न नदिन दबाब दिनुभएको हो ।

ब्लिन्केनले “द्वन्द्वको थप वृद्धिबाट बच्न र इजरायली र लेबनानी दुवै परिवारलाई आफ्नो घर फर्कन अनुमति दिन कूटनीतिक समाधानमा पुग्ने महत्वलाई जोड दिनुभयो’’, प्रवक्ता म्याथ्यू मिलरले वासिङ्टनमा रक्षामन्त्री योव ग्यालान्टसँगको बैठकपछि बताउनुभएको हो ।

अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएदेखि इजरायल र लेबनानको हजबोल्लाहबिच दैनिक सीमापार गोलीबारी भइरहेको छ । पछिल्लो लडाइँमा, इरान समर्थित हजबोल्लाहले सोमबार सीमापारका तीनवटा इजरायली सैन्य स्थल लक्षित आक्रमण गरेको बताएको छ ।

इजरायली सेनाले आफ्ना लडाकु विमानहरूले पूर्वी लेबनानको बालबेक क्षेत्रमा उग्रवादी पूर्वाधारमा आक्रमण गरेको बताएको छ ।

हालैका महिनाहरूमा आ–आफ्ना राष्ट्रका सीमावर्ती क्षेत्रका हजारौँ लेबनानी र इजरायली नागरिकहरू लडाइँका कारण विभिन्न देशमा शरण लिन बाध्य भएका छन् ।

“हजबोल्लाहलाई सीमाबाट हटाउनुपर्छ’’, इजरायली सीमावर्ती सहर किर्यात शमोनाबाट विस्थापित ४९ वर्षीया हेलेन एबर्गेलले भन्नुभयो ।

गाजामा इजरायली आक्रमणले धेरै पूर्वाधार नष्ट गरेको छ र नागरिकहरू बाँच्न सङ्घर्ष गरिरहेका छन् । रासस/एएफपी