• १३ असोज २०८१, आइतबार

बाढीले पुल निर्माणमा अवरोध

blog

हरि कोइराला
उर्लाबारी, असार ११ गते ।
 मनसुन चाँडै सुरु भई खोलामा बाढी आउँदा पूर्वपश्चिम राजमार्ग विस्तार र पुल निर्माणको काममा अवरोध भएको छ । मङ्गलबार बिहानैदेखि परेको अविरल वर्षाका कारण कोशी प्रदेशका सबै खोलामा पानीको सतह बढेको छ ।

पूर्व पश्चिम राजमार्गको केरखा पश्चिम इटहरीसम्मको काम चाइनिज कम्पनी सीआरएफजी र तुङ्गी कन्ट्रक्सनको जोइन्डमा भइरहेको छ । सडक निर्माणसँगै छोटा पुल निर्माण गरिरहेको तुङ्दी कन्स्ट्रक्सन फिल्ड इन्जिनियर निरज राउतका अनुसार मङ्गलबार मात्र पुलको दश वटा पायल हाल्ने (खोलामा पुलको पिल्लर हाल्नका लागि पूर्वाधारको काम) कार्यसूची थियो ।

साना पुलको कामलाई वर्षाले असर गर्दैन भन्ने सोचेर काम गरिरहेका थियौ । तर पानीले काम गर्न दिएन । मङ्गलबार काम गर्न निस्किएका मजदुर र प्राविधिकहरू वर्षाका कारण फर्किएको राउतले बताउनुभयो ।

उहाँका अनुसार चिसाङ खोलामा पायल हाल्न तयारी अवस्थामा राखेको बक्स खोलाले बगाएको छ । राउतले भन्नुभयो, ‘‘हामीले २५ वटा छोटा पुल र केही कल्भर्ट निर्माण गर्नुपर्नेछ । सरकारसँग सम्झौता भए अनुसार माघ १९ गते काम सुरु गर्नुपर्ने थियो । हामीले वैशाख २ गतेदेखि काम सुरु गरेका हौँ । हालसम्म ५ प्रतिशत भौतिक प्रगति भइसकेको छ ।’’

सरकारले हालसम्म बिल पेस भए अनुसार रकम भुक्तानी गरिरहेकोले काम तीव्र भइरहेको उहाँको भनाइ छ ।

आयोजनाको दमक फिल्ड कार्यालयका प्रमुख जगत् प्रजापतिले ३ सय मिटरभन्दा लामा ३ वटा पुल निर्माणमा मात्र समस्या हुने बताउनुभयो । छोटा पुलमा काम गर्न खासै समस्या छैन । लामा पुलमा खोला च्यानलाइज गरेर काम गर्ने अवस्था छैन । प्रजापतिले पश्चिम खण्डमा रतुवा, बक्राहा र लोहोन्द्रा खोलामा ३ सय मिटरभन्दा लामा पुल बन्ने जानकारी दिनुभयो ।