• १२ साउन २०८१, शनिबार

ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा सहभागी हुनुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ, असार ११ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन ग्रुप–ईपीजी) को प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्ने पहल भइरहेको स्पष्ट पार्नुभएको छ । उहाँले आफ्नो भारत भ्रमणमा पनि उक्त विषयमा समझदारीका लागि पहल गरेको बताउनुभयो ।

विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवम् मातहतका निकायहरूका लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाउनु भएको पूरक प्रश्नहरूको जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले नेपाल–भारत सम्बन्ध र सन्धिलाई राष्ट्रिय सहमतिका आधारमा अगाडि बढाइने स्पष्ट पार्नुभयो ।

रुस–युक्रेन युद्धका कारण मृत्यु भएका र बन्धक बनाइएका नेपाली नागरिकहरूको सम्बन्धमा मस्कोस्थित नेपाली राजदूतावास र रुसी महासङ्घका काठमाडौँस्थित राजदूतावासमा निरन्तर सम्पर्क र समन्वय भइरहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले नेपालीहरूको रुसमा हुने आवागमन व्यवस्थित गर्नका लागि सुझाव पेस गर्न कार्यदल समेत गठन गरिएको जानकारी दिनुभयो ।

उहाँले बन्धक बनाइएका नेपालीहरूका सम्बन्धमा युक्रेन सरकारसँग कूटनीतिक माध्यमबाट कुराकानी भइरहेको स्पष्ट पार्नुभयो ।

राजदूत नियुक्तिलाई ‘मेरिट’का आधारमा गरिने स्पष्ट पार्नुहुँदै उहाँले आगामी दिनमा यस कार्यलाई थप व्यवस्थित गरिने बताउनुभयो ।