• १३ असोज २०८१, आइतबार

जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी

blog

अनिल पराजुली
हेटौँडा, असार ११ गते ।
जङ्गली च्याउ खाँदा मकवानपुरमा तीन जनाको मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरगढी, कैलाश र राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाँदा आठ जना सामान्य बिरामी भएका छन् । बिरामी सबैजनाको चितवनस्थित भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ भने हेटौँडा अस्पतालमा उपचारपछि आठ जना घर फर्किएका छन् ।

कैलाश गाउँपालिका वडा नं. ९ नामटारमा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु भएको छ  । प्रहरीका अनुसार नामटारका ४ वर्षीय दीपेश लामाको मृत्यु भएको हो । बिरामी भई उपचारका लागि हेटौँडा अस्पताल ल्याएकोमा सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएको थियो । तर आफूखुसी अस्पतालबाट घर ल्याउने क्रममा बालकको मृत्यु भएको हो ।

त्यस्तै, कैलाश गाउँपालिका वडा नं. ९ मा जङ्गली च्याउ खाँदा एक महिलाको मृत्यु भएको छ । स्थानीय २५ वर्षीया निरुमाया रुम्बाको जङ्गली च्याउ खाँदा बिरामी भई उपचारको गर्ने क्रममा मृत्यु भएको हो । असार ३ गते जङ्गली च्याउ खाई बिरामी हुनुभएका रुम्बाको असार ४ गते हेटौँडा अस्पतालमा सामान्य उपचारपछि चितवन लगिएकोमा असार ९ गते उपचार गराउन नसक्ने भनी हेटौँडा अस्पताल मकवानपुरमा ल्याई उपचार गर्ने क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो ।

प्रहरी चौकी कान्द्राङका अनुसार आइतबार बिहान राक्सिराङ गाउँपालिका वडा नं. ७ दुगुवाङमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने चार जना बिरामी भएका छन् । स्थानीय बलबहादुर प्रजाले जङ्गलबाट ल्याएको जङ्गली च्याउ पकाएर खाँदा एकै परिवारका पाँच जना बिरामी भई उपचारका लागि भरतपुर सरकारी अस्पतालमा लगिएकोमा राक्सिराङ–७ दुगुवाङ बस्ने ५५ वर्षीय बलबहादुर प्रजाको उपचारको क्रममा मृत्यु भएको थियो । 

जङ्गली च्याउ खाँदा एकै परिवारका ४५ वर्षीया जालिमाया प्रजा, १५ वर्षीय रेन्जु प्रजा, ८ वर्षीया सविना प्रजा र १० वर्षीय सुशल प्रजा बिरामी हुनुभएको थियो । उहाँहरुको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र अवस्था सुधार हुँदै गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट गिङ्गुका अनुसार सोमबार जङ्गलबाट ल्याएको च्याउ खाँदा राक्सिराङ गाउँपालिका वडा नं. ८ लाचेमा एकै परिवारका चार जना बिरामी भएका छन् । राक्सिराङ–८  बस्ने २१ वर्षीय भुवल प्रजा, २१ वर्षीय रतिमाँया प्रजा,  ३ वर्षीय समिक प्रजा र पूर्ण  प्रजा बिरामी हुनुभएको हो । उहाँहरूको सरकारी अस्पताल चितवन भरतपुरमा उपचार भइरहेको छ । 

जङ्गली च्याउ खाँदा मकवानपुरगढी गाउँपालिकाका ८ जना बिरामी भएका छन् । प्रहरीका अनुसार मकवानपुरगढी गाउँपालिका वडा नं. ६ सानुसल्ले र वडा नं. ५ कालीबनका ८ जनाले जङ्गली गोब्रे च्याउ खाई बिरामी भएका हुन् ।

मकवानपुरगढी गाउँपालिका वडा नं. ५ कालीबन बस्ने ६ वर्षीय समीर थिङ, १२ वर्षीय सानुकान्छी भुलुन बिरामी हुनुभएको हो । त्यस्तै, मकवानपुरगढी–६ सानुसल्ले बस्ने ३२ वर्षीया सानु कान्छा पाख्रिन, २८ वर्षीय सुविता पाख्रिन, ५ वर्षीय सुशान्त पाख्रिन, ११ वर्षीय सोनिया पाख्रिन, ४६ वर्षीय श्याम पाख्रिन र ४३ वर्षीया एलिजा पाख्रिन बिरामी हुनुभएको छ । उहाँहरूको हेटौँडा अस्पतालमा उपचारपश्चात् घर फर्किनुभएको छ ।