• १२ असोज २०८१, शनिबार

ऊर्जामन्त्री बस्नेत समक्ष विद्युत नियमन आयोगका अध्यक्षको शपथ

blog

तस्बिर:रासस

काठमाडौँ, असार १० गते । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत नियमन आयोगका अध्यक्ष डा.रामप्रसाद धिताललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित विशेष समारोहमा मन्त्री बस्नेतले आयोगका अध्यक्ष धिताललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । 

सोही अवसरमा अध्यक्ष धितालले आयोगका सदस्य डा.मधुसूदन अधिकारी र झमकप्रसाद शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । डा.धिताल आयोगको सदस्यको भूमिका यसअघि नै निर्वाह गरिसक्नुभएको छ । उहाँ वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको पूर्वकार्यकारी निर्देशक समेत हुनुहुन्थ्यो । यही असार ७ गतेको मन्त्रिपरिषद्को बैठकले आयोगको अध्यक्षमा धिताल र सदस्यहरूमा डा.अधिकारी र शर्मालाई नियुक्त गरेको थियो ।

आयोगमा अध्यक्षसहित चार जना सदस्य रहने प्रावधान छ । यसअघि नै आयोगमा गौतम बंगोल सदस्यका रूपमा कार्यरत हुनुहुन्थ्यो । सो अवसरमा ऊर्जामन्त्री बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि आयोगको भूमिका महत्त्वपूर्ण हुने भएकाले कानुन प्रदत्त भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले आयोगमा पदाधिकारी नहुँदा बङ्गलादेशसँग विद्युत निर्यातका सम्बन्धमा आवश्यक निर्णय गर्न कठिनाइ भएको बताउनुभयो । 

आयोगको पूर्णतासँगै सो प्रक्रिया समेत अगाडि बढ्ने उहाँको भनाइ थियो । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि १२ वर्षे कार्ययोजना तयार पारेको र त्यसलाई पूर्णरुपमा कार्यान्वयनका लागि सम्बद्ध सबै पक्षको सार्थक सहयोग र तत्परता जरुरी रहेको मन्त्री बस्नेतको कथन छ । उहाँले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई समेत सहभागी गराएर रेमिट हाइड्रोको काम अगाडि बढाइएको तथा जनताको जलविद्युत् कार्यक्रममार्फत सार्वजनिक निजी साझेदारी अभियानलाई नयाँ तरिकाले अगाडि बढाउन लागिएको समेत जानकारी दिनुभयो । 

मन्त्री बस्नेतले आयोगले मुलुकको ऊर्जा क्षेत्रको विकास र विस्तारका सम्बन्धमा प्रभावकारी काम गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । सो अवसरमा ऊर्जा सचिव सुशीलचन्द्र तिवारी, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, विद्युत विकास विभाग, नेपाल प्राधिकरणका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो । रासस