• १३ साउन २०८१, आइतबार

बागमतीमा चार सयभन्दा बढीमा डेंगु सङ्क्रमण

blog

काठमाडौँ, असार १० गते । बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । विगत छ महिनामा सबैभन्दा बढी डेंगु सङ्क्रमण बागमती प्रदेशमा भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रअन्तर्गतको किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालका अनुसार छ महिनामा सबैभन्दा बढी बागमती प्रदेशमा ४४२ जनामा डेंगु पुष्टि भएको हो । डेंगु सङ्क्रमण पाँच जिल्लामा बाहिर सबै जिल्लामा फैलिसकेको छ । उहाँले पछिल्लो छ महिनामा ७२ जिल्लाबाट एक हजार २६८ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो ।

बागमती पछि सबैभन्दा बढी कोशीमा २९०, गण्डकीमा १९०, लुम्बिनीमा १५१, सुदूरपश्चिम प्रदेशमा १४२ जनामा डेंगु पुष्टि भएको डा.दाहालले जानकारी दिनुभयो । यसैगरी, मधेश र कर्णाली प्रदेशमा सबैभन्दा थोरै डेंगु सङ्क्रमित रहेका छन् । मधेशमा  ३४ र कर्णाली प्रदेशमा १९ जनामा डेंगु पुष्टि भएको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लाअन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौँमा १४१ र झापामा ११२ जनामा डेंगु पुष्टि भएको छ ।

त्यस्तै, चितवनमा ७६, मकवानपुरमा ६१, डोटीमा ४७, तनहुँ ४६, सिन्धुपाल्चोकमा ४४, ओखलढुङ्गामा ४३, भक्तपुरमा ३२, पाल्पामा २८ जना डेंगु पुष्टि भएको छ । गत वर्ष ५२ हजार ७९० जनामा डेंगु पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो वर्ष बढी डेंगु सङ्क्रमण हुन सकने अनुमान गर्दै सचेत रहन सबैलाई आग्रह गरेको छ ।

चिकित्सकका अनुसार डेंगु हुनबाट बच्ने एक मात्र उपाय लामखुट्टेको टोकाइबाट बच्ने हो । उच्च ज्वरो आउने, जोर्नी मांसपेशीहरू बारम्बार दुख्ने, आँखाको गेडी दुख्ने, बेस्सरी टाउको दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा बान्ता हुने डेंगुका प्रमुख लक्षण हुन् ।

लामखुट्टेको टोकाइबाट बच्न पुरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन डा.दाहालको सुझाव छ । उहाँ भन्नुहुन्छ, ‘‘लामखुट्टे नियन्त्रण गर्न लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, कार्यालय वरपरका पानी जम्ने सबै ठाउँहरू सफा गर्ने, पानी राख्ने भाडाँहरु बेलाबेलामा सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्ने ।’’