• १२ साउन २०८१, शनिबार

भ्रष्टाचारविरुद्ध अझ निर्मम बन्न सरकारलाई सांसद गैरेको आग्रह

blog

नेकपा (एमाले) का सांसद ठाकुरप्रसार गैरे

काठमाडौँ, असार १० गते । नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले भ्रष्टाचारविरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई भ्रष्टाचारको मुद्दा दायर भएको भन्दै यसले निजामती क्षेत्रसहित सम्पूर्ण क्षेत्रलाई लज्जित तुल्याएको जिकिर गर्नुभयो । उहाँले माथि भन्नुस्, माथिको आदेश छैन, माथि मिलाउनुपर्छ भोलि आउनुस् जस्ता स्वरहरूले आम सेवाग्राहीलाई आजित बनाइरहेको बताउनुभयो । उहाँले देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्यसचिवलाई नै भ्रष्टाचारको मुद्दा दायर हुनेले निजामती सेवा क्षेत्र कति समस्याग्रस्त भन्नेकुरा स्पष्ट हुने बताउनुभयो ।

सांसद गैरेले भन्नुभयो, ‘‘भ्रष्टाचारविरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु । यसले हामी सबैलाई लज्जित तुल्याइरहेको छ । माथि भन्नुस्, माथिको आदेश छैन । माथि मिलाउनुपर्छ । भोलि आउनुस् जस्ता स्वरहरूले आम सेवाग्राहीलाई आजित बनाइरहेको हुन्छ । त्यसमाथि पनि देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्यसचिव जस्तो व्यक्ति नै अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा दायर हुने परिस्थितिले हाम्रो सेवा क्षेत्र कति समस्याग्रस्त छ भन्नेकुरा बताउँछ । हाम्रो निजामतीभित्र रहेको भ्रष्टाचारको जालो कति मजबुत छ भन्नेकुरालाई पनि बताउँछ । यो निजामतीमा मात्रै सीमित रहेर सम्भव छ ।’’

उहाँले निजामतीभित्र रहेको भ्रष्टाचारको जालो कति मजबुत छ भन्नेकुरालाई यसले स्पष्ट बनाएको बताउनुभयो ।