• १२ साउन २०८१, शनिबार

बेलग्रेडमा अलपत्र युवालाई स्वदेश फर्काइयोस् : उपसभापति गुरुङ

blog

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको प्रतिनिधिसभा बैठकमा धारणा राख्दै । तस्बिर : किरणराज विष्ट/रासस

काठमाडौँ, असार १० गते । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राम्रो पारिश्रमिकको प्रलोभन देखाइ विदेश पठाउने र अलपत्र पार्ने म्यानपावर कम्पनीहरूलाई कारबाही गर्न सरकारसँग आग्रह गर्नुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद गुरुङले कुवेतको नेपाली जन सम्पर्क समिति कार्यक्रममा सहभागी भई आफू स्वदेश फर्किने क्रममा पाँच जना नेपाली बेलग्रेडबाट फर्काइएको अवस्थामा पाएको उल्लेख गर्नुभयो । उहाँले झापाको खगोल म्यानपावर र काठमाडौँको डायनामिक मुख्य म्यानपावरबाट प्रतिव्यक्ति साढे ६ लाख रुपियाँ लिएर बेलग्रेड पुर्‍याइएको र विमानस्थलमा अलपत्र परी फर्किएको एवम् १० जना नेपाली अझै अलपत्र रहेको जानकारी दिनुभयो ।

उहाँले १५ जना मध्ये १४ जना झापा जिल्लाको र एक जना बर्दिया जिल्लाको रहेको जानकारी आफूले पाएको बताउनुभयो । ठगिएका युवाहरूलाई क्षतिपूर्ति दिन र म्यानपावर कम्पनीलाई कारबाही गर्न आग्रह गर्नुभयो । अलपत्र युवाहरूलाई सरकारले विशेष पहल गरी स्वदेश फर्काउन पनि आग्रह गर्नुभयो ।

उहाँले कुवेतमा अझै पनि ४१ हजार नेपाली महिला कामदार रहेको र त्यसमध्ये २७ हजार गैरकानुनी बाटो भई गएको भन्दै यसबारेमा पनि सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।