• १२ साउन २०८१, शनिबार

बसाइँसराइ रोक्न प्रयासरत छौँ

blog

धनकुटाको सात स्थानीय तहमध्ये एक छथरजोरपाटी गाउँपालिकामा करिब १८ हजार जनसङ्ख्या छ । यो पालिकामा छत्र सुब्बा पालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ । स्वास्थ्य, शिक्षा, रोजगार, खानेपानीसहित बसाइँसराइ रोक्नु र पूर्वाधार निर्माण गर्नु यहाँको मुख्य चुनौती हो । यो पालिकाको मुख्य आधार कृषि हो । सीमित स्रोत साधनबिच जनताका असीमित चाहना पूरा गर्नु मुख्य चुनौती रहेको छ । यी सन्दर्भमा पालिका प्रमुखको अनुभव, भावी रणनीति, चुनौतीलगायतका विषयमा छथरजोरपाटी गाउँपालिका प्रमुख सुब्बासँग गोरखापत्र दैनिकका धनकुटा समाचारदाता कविराज घिमिरेले गर्नुभएको कुराकानी :  

तपाईंको दुईबर्से कार्यकाललाई कसरी मूल्याङ्कन गरिरहनुभएको छ ?

पहिलो वर्ष अनुभव सङ्कलन गर्दैमा बित्यो । दोस्रो वर्ष केही आफ्नो सोच अनुसारको काम गर्न खोजेको तर बजेटलगायत विभिन्न समस्याको सामना गर्नु परिरहेको छ । हाम्रो आन्तरिक स्रोत छैन । केन्द्र र प्रदेशसँग माग गरे अनुसार प्राप्त हुन सकिरहेको छैन । 

अहिलेसम्म भएका मुख्य उपलब्धि के के हुन् ?

यहाँ बासिन्दालाई अन्यत्र बसाइँसराइ हुनबाट केही हदसम्म रोक्न सफल भयाैँ । केहीलाई आकर्षित गर्दै यतै फर्काउन पनि सफल भयौँ । जनतामा खुसी ल्याउन उहाँहरूसँग निकट भएर काम गर्नुपर्ने रहेछ । उहाँहरूका सानातिना समस्या हल गर्दा उहाँहरूले सन्तोष महसुस गर्नुहुन्छ । सुशासनको हिसाबले जनताको घर घरमै सेवा दिनुपर्ने रहेछ भन्ने बुझेर त्यस्ता कामको सुरुवात गरेका छौँ । त्यस्तै जनताका चाहना कृषि र शिक्षा भएकाले प्राथमिकीकरणको आधारमा हामीले यसलाई प्राथमिकतामा राखेर काम गरेका छौँ । यीबाहेक आधारभूत अस्पतालको भवन औद्योगिक ग्राम निर्माण आदिलाई अगाडि बढाएका छौँ ।

विकास निर्माणका काममा के कस्ता चुनौतीको सामना गर्दै हुनुहुन्छ ?

चुनौती धेरै छन् । गाउँपालिकासँग सीमित स्रोत साधन छ । हाम्रो आन्तरिक आय त्यति धेरै छैन तर जनताका आकाङ्क्षा धेरै छन् । उहाँहरूको आकाङ्क्षा पूरा गर्न सकिएको छैन । सबैभन्दा ठुलो चुनौती त यही नै हो तर यसलाई अवसरका रूपमा लिएर थोरै सुरुवात गरेका छौँ । केही वर्षमा उहाँहरूका आकाङ्क्षा पूरा हुने गरी काम हुने छन् । योबाहेक तल्लो क्षेत्रका जनतालाई यही क्षेत्रमा टिकाउन अर्थात् बसाइँसराइ रोक्नु यहाँको मुख्य चुनौती हो । बसाइँसराइको सवाल स्वास्थ्य, शिक्षा, आम्दानी, पूर्वाधार आदिसँग जोडिन्छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, बाँकी क्षेत्रका कृषकलाई व्यावसायिक बनाउनु पनि चुनौती छ । यिनै चुनौतीको सामना गरिरहेका छौँ ।

तपाईंको पालिकाका प्रमुख आवश्यकताका के के हुन् ?

पालिकाका आवश्यकता धेरै छन् । कृषिमा खासगरी तरकारी खेतीमा यो क्षेत्र निकै अगाडि रहेको छ । बर्खामा आधा तराई मात्र नभई भारतीय बजारसमेत यहीँको तरकारी बालीमा भर पर्ने गरेका छन् । यति हुँदाहुँदै पनि कहिले बजार नपाउने, कहिले मूल्य नपाउने लगायतका समस्या छन् । यस्ता समस्यालाई व्यवस्थित गर्न हामी  कोसिस गरिरहेका छाैँ तर हाम्रो प्रयास मात्र पर्याप्त नहुने रहेछ । प्रदेश र केन्द्र सरकारले यसका बारेमा सम्बोधन गर्नु आवश्यक छ । त्यस्तै कृषिमा आधुनिकीकरण गर्न अति आवश्यक छ । यीबाहेक खानेपानी, सिँचाइमा लगानी बढाउनु जरुरी छ । ग्रामीण बाटा दिगो हुने गरी बनाउनुपर्ने छ । यहाँको पर्यटन प्रवर्धन गर्न सके पालिकाको आन्तरिक स्रोत बढाउन सकिन्छ । यहाँका बासिन्दालाई सामान्य उपचारका लागि पनि धरान पुग्नुपर्ने बाध्यतालाई अन्त्य गर्नु जरुरी छ । हामीले शिक्षालाई गुणस्तरीय, व्यावसायिक, प्राविधिकमैत्री बनाउनु छ ।  

आन्तरिक स्रोत कसरी व्यवस्थित गर्दै हुनुहुन्छ ?

 आन्तरिक आय हाम्रो नगन्य छ । यसले केही कर्मचारी राख्नबाहेक अरू गर्न सक्ने अवस्था छैन । यो ज्यादै न्यून छ । राजस्वको दायरा बढाउनु पर्छ भनेर हामी लागेका छाैँ तर हाम्रो जस्तो पालिकासँग त्यसका लागि उपाय नै हुँदैन ।

 सङ्घ र प्रदेशसँग कत्तिको सहकार्य हुँदै छ ?

सहकार्य भइरहेको छ । हामीले माग्ने सङ्घ र प्रदेशसँगै हो तर मागे अनुसार पाएका छैनौँ । त्यो राजनीतिक पूर्वाग्रहले पनि हुन सक्छ वा सरकार स्थिर नहुनुको कारणले पनि हुन सक्छ । सङ्घ र प्रदेशबाट आउने ठुला योजनाको बजेट पनि कटौती भएका छन् । त्यही पनि हामीले जोडदार रूपमा माग गरिरहेका छौँ । प्रदेश सरकार अस्थिर भएकाले त्यति आशलाग्दो अवस्थाचाहिँ छैन ।  

अन्य पालिकाभन्दा तपाई र तपाईंको पालिकाले गरेका फरक कार्य के के हुन् ?

नयाँ केही गरौँ जो अन्यभन्दा फरक होस् भनेर हामीले बसाइँ सरेर आउनेलाई दुहुनो गाई उपहार कार्यक्रमलाई निरन्तरता दिएका छौँ । बसाइँसराइ रोक्न कृषिमा आत्मनिर्भर कार्यक्रम गरिरहेका छौँ । सबै जनताको आधा शुल्क तिरेर स्वास्थ्य बिमा गरिदिएका छौँ । सुत्केरी महिलालाई मासिक भत्ता दिने गरेका छौँ । तमोर नदीलगायत अन्य धेरै खोलाको पानी तानेर खुवाउने तयारीमा छौँ । त्यस्ता धेरै कार्यक्रम गरेका छौँ जो यहाँका जनता र भूगोल सुहाउँदो कार्य छन् ।

तपाईं छथरजोरपाटी गाउँपालिकालाई कस्तो अवस्थामा पु¥याउन चाहनुहुन्छ ?

एउटा समृद्ध गाउँपालिका, सुशासनयुक्त गाउँपालिका, शिक्षा, स्वास्थ्य पर्यटन, कृषि र आश्यक पूर्वाधारयुक्त पालिका बनाएर छाड्ने रहर र अठोट छ । यहाँका जनताको आयस्रोतमा वृद्धि भएको, बाटा दीर्घकालीन रूपमा सञ्चालन हुने, पर्यटकको आकर्षणको केन्द्र बनाएर छाड्ने रहर र चाहना छ । प्रदेश र सङ्घले सहयोग गरेको खण्डमा यो पूरा गर्न सक्छाँै तर हामीले मागे जति बजेट दिने अवस्थामा प्रदेश र केन्द्र छैन । हेरौँ कति गर्न सकिन्छ ।