• १२ असोज २०८१, शनिबार
blog

काठमाडौँ, असार ९ गते। तीन दशकभन्दा बढी प्राध्यापक सेवामा संलग्न राजनीति शास्त्री एवं प्राध्यापक कृष्ण पोखरेलद्वारा लिखित ‘फर्केर हेर्दा’ पुस्तक सार्वजनिक भएको छ।

प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित सार्वजनिकीकरण एवं अन्तरक्रिया कार्यक्रम प्राध्यापक पोखरेलको पुस्तक विमोचन गरिएको हो। उहाँले सात दशकको राजनीतिक, झापा विद्रोह हुँदै नेपाली समाजमा भोगेका अनुभवलाई पुस्तकमा लिपिबद्ध गर्नुभएको छ।

पूर्व सांसद एवं पूर्व राजदूत कमल कोइराला, राजनीति शास्त्री एवं प्राध्यापक कृष्ण खनालसहित विद्वता एवं बौद्धिक क्षेत्रका अग्रजको उपस्थितिमा ‘फर्केर हेर्दा’ पुस्तक सार्वजनिक गरिएको हो।

वामपन्थी अगुवा एवं पूर्वसांसद् कोइरालाले फर्केर हेर्दा पुस्तकमा नेपालको समकालीन राजनीतिक चित्र प्रस्तुत रहेको बताउनुभयो। उहाँले नेपालको राजनीतिक आन्दोलन, झापा आन्दोलन र सामाजिक एवं व्यक्तिगत जीवनका अनेक आयाम र अनुभवलाई पुस्तकमा प्रस्तुत गरिएको बताउनुभयो।

प्राध्यापक खनालले झापा आन्दोलनको सन्दर्भमा विचार राख्दै राजनीतिक, सामाजिक रूपान्तरणमा झापासहित पूर्वका जिल्लाबाट अगुवाइ गरिएका अभियानका सन्दर्भमा पुस्तकमा उल्लेख भएको बताउनुभयो। उहाँले राजनीतिक परिवर्तनसँगै राज्यले अब गर्नुपर्ने कामको दायित्व पुस्तकले सम्झाउने धारणा राख्नुभयो।

विश्लेषक शङ्कर तिवारीले पुस्तकमा झापा विद्रोह र तत्कालीन सामाजिक अवस्था, भूमिमाथिको नियन्त्रणको शैलीबारे पुस्तकमा जीवन्त ढङ्गले प्रस्तुत गरिएको बताउनुभयो।

‘पूर्वयोजनाबिनाको जिन्दगी’

प्राध्यापक पोखरेलले सात दशकभन्दा लामो अनुभवलाई सँगालेर पुस्तक लेख्दै गर्दा आफ्नो कुनै पूर्वयोजना नरहेको प्रस्ट पार्नुभएको छ। उहाँले ‘पूर्वयोजनाबिनाको जिन्दगी’ शीर्षक सुरुआत गर्दै राजनीतिक क्रान्तिका विभिन्न आयाम प्रस्तुत गर्नुभएको छ।

कार्यक्रममा प्राध्यापक पोखरेलले राजनीति शास्त्रमा पुस्तक प्रकाशित भइसके पनि आफ्नो भोगाइबारे यो नै पहिलो पुस्तक भएको बताउनुभयो। उहाँले झापा विद्रोहदेखि राजनीतिक अभियानमा होमिएका धेरै राजनीतिज्ञसँग सहकार्य एवं सँगसँगै काम गरेको स्मरण गर्नुभयो। 

उहाँका अनुसार पुस्तकमा वामपन्थी राजनीतिमा अहिले सक्रिय नेतासँगको सहकार्य पुस्तक वर्णन गरिएको छ।

उहाँले प्राध्यापनको सुरुआतमा आफूले वामपन्थी युवा विद्यार्थी नेतालाई ‘पञ्चायत’ पढाएको स्मरण गर्दा हलमा हाँसोको फोहोरा फुट्यो। उहाँले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीसहित समकालीन राजनीतिकका धेरै राजनीतिज्ञको सहयात्रालाई पुस्तकमा समेट्नुभएको छ। 

झापा, मोरङ र काठमाडौँसम्मको प्राध्यापकमा आफ्ना भोगाइसँगै राजनीतिमा देखिएका अनेक प्रश्न र तत्कालीन समाजको अवस्थालाई उहाँले प्रस्तुत गर्नुभएको छ। उक्त पुस्तक शिखा बक्सले प्रकाशन गरेको हो।