• १२ साउन २०८१, शनिबार

बजेट पारित गर्दै पालिका कार्यालय

blog

इलाम नगरपालिकामा सुरु भएको १५ औं नगरसभा । तस्वीरः कोकिला ढकाल

कोकिला ढकाल

इलाम, असार ९ गते । कानुनतः असार १० गते सबै पालिकाहरूले प्रत्येक आर्थिक वर्षमा सञ्चालन गर्ने योजना तथा कार्यक्रमको नीति कार्यक्रम र बजेट ल्याइसक्नु पर्छ । इलामका दुई पालिका असार १० अगावै नीति कार्यक्रम तथा बजेट पारित गरेका छन् । 

देउमाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ७५ करोड ६२ लाख ८० हजार बजेट पारित गरेको छ । नवौँ नगर सभाले उप–प्रमुख पविमाया राईले प्रस्तुत गरेको बजेट पारित गरेको हो । 

बजेटमा पूर्वाधार विकासतर्फ १७ करोड छ लाख ५७ हजार, सामाजिक विकासतर्फ ३८ करोड ६४ लाख ७७ हजार, आर्थिक विकासतर्फ चार करोड ४४ लाख ८२ हजार,  संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ दुई करोड ८९ लाख ४५ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ १२ करोड ५७ लाख १९ हजार विनियोजन गरिएको छ ।

चुलाचुली गाउँपालिकाले पनि आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ४३ करोड १२ लाख ६३ हजार बजेट पारित गरेको छ । १४ औँ सभाले गाउँपालिका उपाध्यक्ष दिलकुमारी लिम्बूले प्रस्तुत गरेको बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक संशोधनसहित सर्वसम्मतले पारित गरेको छ ।

यता आइतबार बसेको इलाम नगरपालिकाको १५ औँ नगर सभाले आर्थिक वर्ष २०८१–८२ का लागि एक अर्ब बढीको बजेट प्रस्तुत गरेको छ । नगर उप–प्रमुख विष्णुकुमारी लिम्बू दाहालले एक अर्ब १९ करोड २७ लाख ९६ हजार रुपियाँको प्रस्तुत गरेको बजेट तथा नीति कार्यक्रम सभामा प्रस्तुत गरिएको हो । 

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ कुल बजेटको १४ प्रतिशत,  पूर्वाधार विकासतर्फ कुल बजेटको २६ प्रतिशत, सामाजिक विकासतर्फ कुल बजेटको ४९ प्रतिशत, आर्थिक विकासतर्फ कुल बजेटको ६ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ कुल बजेटको ३ प्रतिशत, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ कुल बजेटको २ प्रतिशत राखेको छ । 

अब ११ गते बस्ने अर्को नगर सभाले बजेट पारित गर्ने बताइएको छ । यसैगरी सूर्योदय नगरपालिकाले पनि आइतबार नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । सूर्योदयमा पनि ११ गते बस्ने नगर सभाले बजेट पारित गर्ने नगरप्रवक्ता ख्याम भुजेलले बताउनुभयो ।