• १५ असार २०८१, शनिबार

‘भाषा साहित्य संरक्षणमा प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ । फाइल तस्बिर

काठमाडौँ, असार ९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सबै भाषा, साहित्य, संस्कृतिको संरक्षण प्रवर्द्धन र प्राज्ञिक अनुसन्धानका क्षेत्रमा नेपाल प्रज्ञा-प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । 

नेपाल प्रज्ञा-प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले प्रज्ञा-प्रतिष्ठान नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र तथा सामाजिक शास्त्र सम्बन्धी अध्ययन, अन्वेषण गर्ने साथै मौलिक सिर्जना एवम् अनुवादको काम गर्ने नेपालको सर्वोच्च निकाय भएको धारणा राख्नुभयो । मन्त्री तामाङले साहित्यकार, अन्वेषकलगायत वाङ्मय क्षेत्रका प्रतिभाहरूको सम्मान गर्ने तथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा प्राज्ञिक गतिविधिको सञ्चालन गर्न पनि प्रतिष्ठानले भूमिका खेलिरहेको उल्लेख गर्नुभयो ।

नेपालमा बोलिने सबै भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र, दर्शनको संरक्षण, संवर्द्धन र विकासमा सरकार  सचेत र प्रतिबद्ध रहेको भन्दै उहाँले  अहिले विश्वव्यापी रूपमा  देखापरेको आर्थिक सङ्कटबाट नेपाल पनि प्रभावित भएको बताउनुभयो । “नेपाल प्रज्ञा प्रतिष्ठानमार्फत भाषा, साहित्य, संस्कृति, दर्शनको विकासमा अधिकतम सहयोग गर्ने र त्यसका लागि बजेटको व्यवस्था गर्ने प्रयास गरिरहेको छु”, उहाँले भन्नुभयो, “प्रतिष्ठानले नेपालको मौखिक इतिहासको खोजी गर्ने, मातृभाषाको संरक्षण र संवर्द्धन, बालसाहित्यको विकास गर्ने लक्ष्य लिएको छ ।” 

मन्त्री तामाङले सातवटै प्रदेशका भौगोलिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, भाषिक, साहित्यिक विषयको खोज अन्वेषण गरी दिग्दर्शनहरू प्रकाशित गर्न लागेको पनि जानकारी दिनुभयो । नेपाल प्रज्ञा-प्रतिष्ठान वि.सं.२०१४ मा नेपाली साहित्य-कला एकेडेमीका नाममा  स्थापना भएको थियो भने नेपाल एकेडेमी, नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान हुँदै नेपाल प्रज्ञा-प्रतिष्ठान भएको हो । वार्षिकोत्सवमा राष्ट्रिय कविता महोत्सव गरेको थियो । महोत्सवमा छ सयभन्दा बढी कविले भाग लिएका थिए । रासस