• १३ असोज २०८१, आइतबार

खेलाडीको पुरस्कार रकम अब बैंक खातामा जान्छ : मन्त्री श्रेष्ठ

blog

प्रतिनिधिसभामा मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिनुहुँदै युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ ।

काठमाडौँ, असार ९ गते। युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आगामी वर्षदेखि बैंक खातामार्फत नै पुरस्कारको रकम दिने व्यवस्था मिलाइएको बताउनुभएको छ। 

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई सरकारले पुरस्कारको घोषणा गरे पनि अझै दिन नसकेको भन्दै आलोचना भइरहेका बेला उहाँले आगामी आर्थिक वर्षको बजेटमा सोको व्यवस्था गरिएको बताउनुभएको हो। 

आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बजेट आवश्यक भएकाले प्रदेश र स्थानीय तहमा ससर्त अनुदान कार्यक्रमका लागि बजेट विनियोजन गर्न नसकिएको पनि स्पष्ट पार्नुभयो। उहाँले एसियन र साग खेलकुदमा पदक विजेता खेलाडीहरुका लागि ६ हजारका दरले मासिक भत्ताको पनि व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गरिएको जानकारी दिनुभयो।

मन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा पुरस्कारको व्यवस्था गरिए अनुसार ४ करोड ३५ लाख बजेट विनियोजन गरिएको छ। आगामी वर्षदेखि पदक बिजेता खेलाडीलाई बैंक खातामार्फत नै पुरस्कारको रकम जाने व्यवस्था मिलाइएको छ। ओलम्पिकमा सहभागी एसियन खेलमा पदक विजेता, साग खेलकुदमा स्वर्णपदक विजेता खेलाडी ३५७ जना मासिक ६ हजारको दरले मासिक भत्ता प्रदान गर्न बजेट विनियोजन गरिएको छ। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि रकम विनियोजन गर्नुपरेकाले प्रदेश र स्थानीय तहमा सशर्त अनुदानका कार्यक्रमलाई बजेट विनियोजन हुन नसकेको हो। ’

मन्त्री श्रेष्ठले युवाहरुलाई कुलतमा राख्न नदिन पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा केही रकम विनियोजन गरेको बताउनुभयो।