• १६ भदौ २०८१, आइतबार

छाउगोठविरुद्ध जनचेतना जगाउने अभियान चलाउन सांसद देउवाको माग

blog

शून्य समयमा धारणा राख्नुहुँदै नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवा । फाइल तस्बिर

काठमाडौँ, असार ९ गते। नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले छाउगोठविरुद्ध जनचेतना जगाउन व्यापक अभियान चलाउन सरकारसँग माग गर्नुभएको छ। 

२१ शताब्दीमासमेत छाउगोठमा बस्न बाध्य छोरी बलात्कार हुनुपरेको अवस्था रहेको भन्दै उहाँले यस्तो कुरीतिविरुद्ध छाउगोठ भत्काएर मात्र नहुने भन्दै व्यापक अभियान चलाउन माग गर्नुभएको हो। 

आइतबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा धारणा राख्दै उहाँले असार ३ गते अछामको एक छाउगोठमा एक छोरीको बलात्कार भएको भन्दै यसका विरुद्ध विद्यालयदेखि नै महिनावारीको विषयमा व्यापक अभियान चलाउनुपर्नेमा जोड दिनुभएको हो। 

डा. देउवाले भन्नुभयो, ‘‘आज भन्दा आठ वर्ष अगाडि पनि छाउपडी गोठमा सर्पले टोकेर मरेकी छोरीको बारे बोलेकी थिएँ। अहिले असार ३ गते अछामको छाउगोठमा एक छोरीको बलात्कार भयो। २१ शताब्दीमा समेत हाम्रो देशमा यस्तो समस्या छ। सरकारले २०७५ देखि २०७८ को बिचमा सात हजार ५४५ छाउगोठ भत्काएको छ। छाउगोठ भत्काए पनि कुरीति चलिरहेको छ। त्यसकारण नेपाल सरकारलाई यसका विरुद्ध व्यापक प्रचारप्रसार, जनचेतना जगाउन विद्यालय तहदेखि नै महिनावारीको बारेमा सिकाउने क्याम्पियन चलाउन अनुरोध गर्दछु।’ 

त्यसैगरी उहाँले  आन्दोलन गर्न बाध्य संसद्का कर्मचारीको आवाजलाई चाँडोभन्दा चाँडो सुनुवाइ गर्न  सरकारसँग माग गर्नुभएको छ।