• १६ भदौ २०८१, आइतबार

फेवाफाँटमा रोपाइँ महोत्सव तयारी

blog

सन्तोष सुवेदी

कास्की, असार ९ गते । पोखराको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले हुँदैआएको रोपाइँ महोत्सव यस वर्ष पोखरा महानगरपालिका –२३ फेवाफाँटमा हुने भएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजनामा करिब दुई दशक अघिदेखि हुँदैआएको असारे रोपाइँ महोत्सव पामेनजिक मार्गीतर्फको फेवा फाँटमा हुन लागेको हो ।

१९ औं रोपाइँ महोत्सव स्थानीय आयोजकको रुपमा मार्गी बगर टोल विकास संस्था पोखरा–२३ मा छ । महोत्सवमा धान रोप्नेसहित विभिन्न प्रतियोगिताहरु र मनोरन्जनात्मक कार्यक्रम हुनेछन् ।

महोत्सवमा हिलो खेल्ने, हिलोमा माछा समात्ने, साउने प्रतियोगिता, डाेरी तान्ने, हिले दौडसहित मनोरञ्जन लिन स्वदेशी र विदेशी पर्यटकको उल्लेखनीय सहभागिता रहने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो । 

रोपाइँ महोत्सवमा करिब १० हजारभन्दा बढी मानिसले सहभागिता जनाउने उहाँले बताउनुभयो। महोत्सवमा गायिका समीक्षा अधिकारी र अन्य लोकप्रिय कलाकारको साङ्गीतिक प्रस्तुति रहने बताइएको छ ।

हिले दौड प्रतियोगिता अन्तर्गत स्वदेशी र विदेशी पर्यटकको महिला र पुरुषका छुट्टाछुट्टै प्रतियोगिता हुनेछन् । पोखराको लेकसाइडबाट खहरे हुँदै पामे नजिक पुगेपछि दक्षिणतर्फ लागेपछि फेवाफाँटको मार्गीतर्फ पुगिन्छ ।