• १२ पुस २०८१, शुक्रबार

मौलिक पहिचान रक्षाको चिन्ता

blog

नेपाल गाउँ नै गाउँले भरिएको र विविध सम्प्रदाय मिलेर बसोबास गरेको देश हो । गाउँका कृषि उत्पादन र घरेलु तथा साना उद्योग हाम्रो जीविकोपार्जनका आधार हुन् । यिनै आधारमा टेकेर हामी जति छिटो गाउँको विकास गर्छौं त्यति नै छिटो हामी आर्थिक र सामाजिक रूपले सवल र आत्मनिर्भर बन्न सक्छौँ । अहिले बोलीमा मात्र विकासले तीव्र्रता पाएको अवस्था छ । व्यवहार त त्यस्तो देखिँदैन । विश्वमै विकाससम्बन्धी धारणा फरक फरक ढङ्गले आइरहेका छन् । गाउँहरू एकदमै दुर्गममा छन् । एक घरदेखि अर्को घरसम्मको दुरी असाध्यै टाढा छ । ती ठाउँमा विकासका सबै पूर्वाधार पु¥याउन नसकिने हुँदा ती गाउँलाई एकै ठाउँमा स्थानान्तरण गर्नु पर्छ भन्ने मत एकथरीको छ । यसरी स्थानान्तरण गर्दा त्यहाँ भएको उसको सामाजिक र संस्कृतिक पक्षमा अवरोध सिर्जना हुन्छ भन्ने मत पनि उठेको छ । गाउँ मासेर जति धेरै सहर बनायो त्यति नै धेरै विकास हुन्छ भन्ने तर्क पनि छ । 

हाइड्रोपावर निर्माण, जलाधार संरक्षण, विद्युत् ट्रान्समिटर लाइन विस्तार जस्ता विकासका योजनाले विभिन्न ठाउँबाट मानिसलाई स्थानान्तरण गर्ने काम हाम्रोतिर पनि हुन थालेका छन् तर यस्तो कामले विकास हुँदैन भन्ने बहस यहाँ मात्रै होइन विकसित देशमा पनि उत्तिकै चलिरहेको छ । गाउँ ठाउँ सरेर जाँदा त्यहाँको स्थानीय उत्पादन, ज्ञान, सिप र प्रविधि सबै मर्छ भने त्यस्तो विकास दिगो हुन्न भन्नेतिर ध्यान जानु पनि जरुरी छ ।

विकासका ठुलठुला नारा दिने पुँजीवाद नाफाघाटाको चक्रमा चल्ने हुँदा यसले मानवीय मूल्य र मान्यतालाई विस्थापित गर्छ । सामान्य मानिसलाई माथि उठाउने कुनै योजना र रणनीति योसँग हुँदैन । समाज कृषि युगबाट औद्योगिक युगतिर फड्किने उसको नारा सुन्दा राम्रो लाग्छ तर यसले भुइँमान्छेको जीवन र भुइँको उत्पादनलाई तहसनहस बनाउँछ । भुइँको उत्पादन र भुइँ मानिसमा भएको ज्ञान, सिप र क्षमता समाप्त पार्छ । औद्योगिक कारखानामा पहुँच नभएको मानिस बेरोजगार बन्छ र उसको सामाजिक अस्तित्व नै सकिन्छ । विश्वका ठुलठुला औधोगिक मुलुक पनि अहिले दीर्घकालीन दिगो विकासको आधार यो होइन रहेछ भन्नेतिर पुगिसकेका छन् । विकल्पबिनाको व्यवसाय भन्दा प्रशस्त विकल्प भएको व्यवसाय मानिसले खोज्छ । यस अर्थमा कृषि प्रशस्त विकल्प भएको र आत्मसन्तुष्टिको व्यवसाय हो ।

विकास भनेको बिजुली, बाटोघाटो, ठुला सडक सञ्जाल, अग्ला भवनले घेरिएको सहरीकरण र औद्योगीकरण मात्र होइन । आमनागरिकको शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारी जस्ता आधारभूत आवश्यकता पूरा हुनु पनि हो । सहरीकरण र औद्योगीकरणले सीमित ठाउँ र सीमित मानिसका लागि मात्र विकासको अनुभूति दियो । आमरूपमा भने वातावरण विनास ग¥यो । मानवीय जोखिम बढायो । वातावरण विनाशका कारणले निरन्तर आइरहेको सङ्कट ग्रामीण परिवेशका मौलिक ज्ञान, सिप र प्रविधि मासेर विकासका नाममा गरिएको नवनिर्माणको प्रतिफल यसैको कारण रहेछ भन्ने बुझाइ अहिले व्यापक बन्दै गएको छ । परम्परागत रैथाने ज्ञान, सिप र प्रविधिको प्रयोग बढाएर उत्पादन वृद्धि गरियो भने यसले वातावरण पनि जोगाउँछ । ग्रामीण समुदायको जीविकोपार्जनलाई सहज पनि बनाउँछ । साथै स्थानीय अर्थतन्त्रको सबलीकरणलाई पनि टेवा पु¥याउँछ भन्ने कुरा बल्ल सिद्ध हुँदै गएको छ । जापान, कोरिया जस्ता मुलुकमा स्थानीय बाँसको चोयाबाट बुनेका वस्तुलाई जीवित सम्पदाका रूपमा लिने गरिन्छ । त्यस्तो ज्ञान र सिपलाई स्थानीय सरकारले संरक्षण गर्छ । त्यो काम र उत्पादनलाई बजारीकरण गर्न सहयोग पु¥याउँछ तर हामी त्यसको ठिक उल्टो गर्छौं । गाउँका शिल्पीले तयार पारेका चित्रा, भकारी र घुमलाई विस्थापित गर्छौं । त्यो श्रम र सिपलाई थप प्रोत्साहन गरेर उत्पादन बढाउनुभन्दा त्यसलाई त्यहीँ मार्छौं । त्यसको सट्टामा प्लास्टिकका पाल र त्रिपालको आपूर्तिमा लाखौँ खर्च गर्दछौँ । यस्ता कर्मले हामीलाई जीवन्तसम्म पनि सम्पन्न हुन दिँदैन । पुनर्विचार गरौँ । आफ्नै हातको उत्पादनले आत्मसन्तुष्टि दिन्छ र जिउने कलामा उत्प्रेरण भर्छ भने त्यस्ता कुरालाई मात्र प्रोत्साहन गरेर अगाडि बढाऔँ ।

विकासको अवधारणाले निम्त्याएको परिणाम अहिले विश्वकै लागि ठुलो चुनौती बनेको छ । स्पेनको एउटा गाउँमा सोलार बत्ती पुगेपछि आरुको बगैँचा मासिँदै गएको र त्यसको सुरक्षा र संवर्धनमा ठुलो चुनौती खडा भएको सूचना विभिन्न सञ्चार माध्यममा आइरहेका छन् । ग्लोबल वार्मिङकै कारण परम्परादेखि सांस्कृतिक सम्पदाको रूपमा मानिँदै आएको जापानको साकुरा पूmल जोगाउन धौधौ परेको कुरा पनि सुनिँदै छ । गाउँ मासेर सहर बनाई औद्योगिक उत्पादनमा रमाएका अमेरिका, जापान, जर्मनी र कोरिया जस्ता मुलुकले गाउँलाई प्राथमिकतामा राखेनन् । गाउँका रैथाने उत्पादनलाई महìव दिएनन् । आज त्यहाँका युवामा पश्चाताप छ । 

युरोपतिरका कतिपय सहरबाट युवा गाउँ फर्किएर कृषिकर्ममा रमाएका छन् । त्यहाँका पढेलेखेका युवामा आफ्नो पढाइ सकेपछि प्रकृतिको माझमा बसेर प्रकृतिसँगै एकाकार हुँदै जीवन जिउने सोच विकास भएको छ । उनीहरू गाउँ पसेका छन् । कृषि उत्पादनसँग सम्बन्धित सानासाना व्यवसाय सञ्चालन गरेर जीविकोपार्जनसँगै ग्रामीण अर्थतन्त्र उकास्न लागेका छन् । हाम्रा पनि केही युवामा कृषि उद्यमको यस्तै सोच पलाएको छ । पहिले गाउँबाट सहर आएका र केही लेखपढ गरी आफ्नो करियरको एउटा उचाइमा पुगेपछि पुनः गाउँ फर्किएर कृषिकर्ममा आबद्ध भएका केही सीमित उदाहरण छन् । अझै पनि हाम्रा अधिकांश युवाको मानसिकता भने अमेरिका, जापान, क्यानडा, कोरियालागायतका मुलुकतिरै जाने र त्यहीँ आफ्नो जीवन खोज्ने प्रवृत्ति बढेरै गएको छ । अहिले पनि गाउँमा बस्नु हुँदैन भन्ने मनोविज्ञानले काम गरिरहेको हुँदा गाउँ छोड्नेको लर्को अझै लामै समय जानेवाला छ । यो हाम्रा लागि विडम्बना हो ।

गाउँको विकास गर्न र गाउँलेको जीवन स्तर उकास्न गाउँमै सेवासुविधा पु¥याउनु पर्छ । विकासका आधारभूत आवश्यकता गाउँमा पु¥याइसकेपछि गाउँलेलाई नै काममा खटाउनु पर्छ । उनीहरूकै सिप र क्षमताको प्रयोग गर्ने अवसर दिनु पर्छ । गाउँमा हामीसँग वर्षौंदेखि प्रयोगमा आइरहेका ज्ञान र सिप पुस्तान्तरणको अभावले नयाँ पुस्तामा हस्तान्तरण भइरहेका छैनन् । सामाजिक तथा भौगोलिक विशिष्टता हाम्रो विशेषता हो । भूगोल अनुसारका वस्तु उत्पादन र त्यहाँका सम्प्रदाय अनुसारको ज्ञान र सिपको छुट्टा छुट्टै महìव छ । हातेतानबाट निर्मित तेह्रथुमे र पाल्पाली ढाकाटोपीका भूगोल अनुसार आआफ्नै विशेषता छन् । भादगाउँले कालो टोपीको महìव उचाइमै छ । भोजपुरे खुकुरी विश्वमै प्रसिद्ध छ । चैनपुरे करुवा आफैँमा एउटा कलात्मक उत्पादन हो । यिनीहरूलाई ब्रान्ड बनाएर विश्वबजारमा लान सकिन्छ तर यी उत्पादन पुस्तान्तरणको अभावले अहिले नै लोप हुने अवस्थामा छन् । एकातिर यिनीहरूको संरक्षणको अभाव छ भने अर्कोतिर यो सिपको पुस्तान्तरण नहुँदा यिनीहरू हराएर जाने खतरा छ । युगौँदेखि पुस्तान्तरण हुँदै आएको हाम्रो मैथिली चित्रकलाले आज राष्ट्रिय चित्रकलाको चिनारी पाएको छ । मैथिली समाजमा अहिले पनि उत्तिकै महìवपूर्ण छ किनकि यो कला मैथिली समूदायमा निरन्तर पुस्तन्तरण हुँदै बाँचेको छ । यी र यस्ता हजारौँ रैथाने ज्ञान र सिप पुस्तान्तरणबाट बचाउँदै ल्याउने कुरा हुन् । यसमा स्थानीय सरकार, नीतिनिर्माता र नागरिक समाजको विशेष ध्यान पुग्नु आवश्यक छ ।

हामीले आफ्नै गाउँठाउँका रैथाने उत्पादन र रैथाने वस्तुलाई महìव दिएनौँ । यिनीहरूको अर्गानिक महत्वलाई बजारमा प्रतिस्पर्धा गराउन सकेनौँ । आफ्नै उत्पादनलाई हेयका दृष्टिले हे¥यौँ । रैथाने उत्पादन र रैथाने स्वादलाई बजारीकरण र संरक्षण गर्नु पर्छ भन्ने धारणा युरोपतिर बलियो छ । उनीहरू आफ्नो अधिकांश समय र पैसा त्यतातिर खर्च गर्छन् । बेल्जियमले फरक फरक स्वादमा पाँच सय प्रकारका वियर उत्पादन गर्छ भन्ने सुनिन्छ । बजारको माग अनुसार निश्चित स्वादको बियरको उत्पादन अधिक मात्रामा हुन्छ भने अरू सामान्य परिणाममा उत्पादन गरेर उनीहरूले आफ्नो स्थानीय अर्थतन्त्रलाई अगाडि बढाएका छन् भन्ने छ । यी सतहमा आएका विषयबाट हामीले हाम्रा स्थानीय उत्पादन वृद्धि गरी अर्थतन्त्र विकास गर्न सकिने केही शिक्षा लिनु पर्छ । 

हामीले हाम्रो स्थानीय समदायले तयार पारेको स्थानीय रक्सीलाई अवैधानिक भन्यौँ । उत्पादन बन्द ग¥यौँ । उत्पादित रक्सी नष्ट ग¥यौँ । स्वादका दृष्टिले र अर्गानिक महत्वका दृष्टिले विशेष तरिकाले बनाइएको कोदोको त्यो रक्सी अन्तर्राष्ट्रिय बजारको प्रतिस्पर्धामा आउन सक्थ्यो । त्यो अरूभन्दा फरक स्वादको रक्सी हुन्थ्यो । हाम्रा स्थानीय उत्पादनमा नेवारी समुदायले उत्पादन गरेको रक्सी र राई लिम्बू समुदायले उत्पादन गरेको रक्सीको स्वाद फरक फरक हुन्छ । यी रक्सीको गुणस्तर मापन गरेर फरक स्वादका रक्सीको ब्राण्ड बनाई बजारमा ल्याउन सकिन्थ्यो तर त्यो गरेनौँ । जोगाउनेभन्दा मास्नतिर लाग्यौँ । नमासौँ, त्यसलाई जोगाऔँ । कोक, पेप्सीलगायत अन्य पेय पदार्थको विकल्पमा मोहीलाई चिसो पेय पदार्थका रूपमा ल्याउन थालिएको छ । त्यसलाई हतोत्सायी नबनाऔँ । मोही र रक्सी हाम्रा अर्गानिक उत्पादन हुन् तिनलाई प्रोत्साहन गरेर नयाँ ब्राण्डको रूपमा अघि बढाऔँ । यो कर्मले पशुपालन र खेतीपातीलाई पनि तीव्रता दिने छ । गाउँमा पुनर्जागरण आउने छ । यी कर्म भनेका गाउँको विकासका जग हुन् । स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन रक्सी, मोही, हाते कलाका प्रशस्त उत्पादन छन् । यीलागायत ओझेलमा परेका यस्ता अनेक स्थानीय उत्पादनको खोजी गरी तिनीहरूको सुरक्षा र संरक्षण गरौँ । गाउँका युवालाई विदेश धपाउन मात्र ध्यान केन्द्रित नगरी महानगर, नगर र गाउँपालिकाले युवालाई गाउँमै रोकी स्थानीय उत्पादनको वृद्धि, विकास र संरक्षण गर्ने नीति बनाउनु पर्छ । उत्पादनको गुणस्तर मापन र बजारीकरणको व्यवस्थापनमा ती निकायको सहयोगी भूमिका हुनु पर्छ । यति भयो भने चाँडै गाउँको विकासले कोल्टो फेर्ने छ । 

हाम्रो सामाजिक विविधताभित्रका प्रत्येक समुदायसँग उत्पादनमा मात्रै होइन ज्ञान, सिप र क्षमतामा पनि विविधता छ । यही विविधताका आधारमा हामीसँग हिमाल, पहाड, तराई र मधेशमा बसोबास गर्ने फरक जातजाति, धर्मसंस्कृति र परम्परामा आधारित भएर हरेक नागरिकले आआफ्नै शैली र विधिमा उत्पादन गरेका फरक फरक वस्तुले नै हामी हाम्रो बजार भर्न सक्छौँ । हाम्रा आवश्यकता पूरा गर्न सक्छौँ । पृथक् उत्पादनमा सम्बन्धित नागरिकको त्यो क्षमतालाई स्थानीय उत्पादनसँग जोडेपछि उत्पादनमा पनि विविधता आउँछ । हामीले आफ्नो जीविकोपार्जन गर्न र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन यिनै विविध उत्पादनलाई बिस्तारै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गराउने हो । अरू कुनै ठुलो औद्योगिक उत्पादन खोजिरहनु पर्दैन । आफूसँग भएको ज्ञान, सिप र क्षमताका आफ्ना उत्पादनलाई धरासायी बनाएर ठुलठुला औद्योगिक उत्पादनको सपना नदेखौँ । यसले हामीलाई मात्रै होइन, पुस्तौँसम्म पनि सन्ततिलाई परनिर्भर बनाइरहन्छ ।

  

Author

प्रेमप्रसाद ढकाल