नरेन्द्रजङ्ग पिटर
नेपाली मिडियाको कर्पाेरेटीकरण ०४६ सालको परिवर्तनपछाडि सुरु हुन्छ । प्रविधि र सूचना सञ्चारको अभूतपूर्व विकासको समय पनि त्यही थियो । मिडियाको चरित्र पनि अन्यत्रभन्दा बेग्लै हुनै सक्दैनथ्यो । नेपाली संस्करण मात्र भएकाले दुनियाँले लामो समय गरिसकेको अभ्यासलाई पछ्याउनु, प्रयोग गर्नु र सामाजिक, आर्थिक, राजनीतिक सम्बन्धसँग जोड्नुपर्ने अनिवार्य हुन्थ्यो । तब पुँजी, प्रविधि, कला र व्यवस्थापनले मूलधार भनिने पत्रकारितामा अभ्यास हुँदै गए । तब समाज, लोकतन्त्रभन्दा राज्यव्यवस्थाको साँच्चैको चौथो स्तम्भ मिडिया बन्यो कि बनेन भन्ने प्रश्न उब्जिए । स्वामित्वले मिडियाको पनि भूमिका निर्धारण गर्छ । तब रूप फेरिए । सैद्धान्तिक सङ्कीर्णता, पक्षधारिता, सरोकारहीनता, विचारको दरिद्रता, चाटुकारिकताले समाजको मनोदशा बनाउने, फेर्ने र व्यवस्थित गर्ने औजारमा त फेरिरहेको छ छैन, प्रश्न उब्जिए । राजनीतिक शक्तिको सामाजिक हस्तक्षेपका घटनाले पार्ने प्रभावबाट मिडिया पनि अछुतो हुन सक्दैनथ्यो तर इतिहासको व्यवस्थापनले इतिहासलाई नै बिर्साउने खेल मिडयाबाटै त हुँदै छैन ! चुनावका बहस र भूमिकासँगै देखिँदै गए ।
नयाँ प्रविधिमा सामान्य जनको पहुँच ढिलो पुग्छ भने उपभोक्तवादले ‘बौद्धिक’ र शिक्षित तर्कशील कारिन्दा व्यवस्थापनको कलामय संयोजन गर्न सत्ता र कर्पोरेट गठबन्धनलाई कठिन हुँदैन । प्रविधि र स्वामित्वमा पुँजीपतिकै पहिला पहुँच हुन्छ । अर्थ–राजनीति हाबी भइरहेको बेला सत्ताका लागि मिडिया अर्को बैशाखी बन्छ । सामाजिक द्वन्द्वको चरित्रअनुसार देखिने/नदेखिने मोर्चा र योद्धा हुन्छन् । वर्गको शान्तिपूर्व टकराहटकालमा राजतर्कले जनमत सिर्जना गर्ने र परम्परागत शक्तिको सत्ता निरन्तरता दिन सबभन्दा पहिला आम जनताको सोच्ने तरिका नै फेर्नुपर्ने हुन्छ । अहिले अदृश्य रूपमा द्वन्द्व बहुआयामिक कोणबाट बढ्दो छ ।
सत्ता परिवर्तन हुन चाहँदैन, समाज यथास्थितिमा रहन चाहँदैन । देश संवेदनशील भूगोलमा छ । प्रयोगशाला बन्दो छ । त्यसका लागि सत्ता वा रूपान्तरणकर्ताले जनमतको सोच्ने तरिकामै हित अनुकूलको व्यवस्थापन गर्नुपर्छ । मनोदशा तयार गर्ने सबभन्दा मारक औजार मिडियामा बहसबाटै मूल मुद्दा खारेज गरिदिने योजनामा रहन्छन् । नोबेल साहित्य पुरस्कार विजेता हेराल्ड पिन्टरकै शब्दमा भन्ने हो भने ‘यहाँ केही भएकै छैन, यो कुनै विषय नै हैन’ भनेर सत्ताचरित्रकै मूल बहसलाई सन्दर्भहीन, चर्चाहीन बनाइदिने गर्छ ।
यो समय राजनीतिको मात्रै हैन, सामाजिक, आर्थिक र संस्कृतिको पनि उथलपुथल काल र भयानक समाचारको मौसम पनि हो । कुरा स्थानीय सरकार बन्ने वा भत्कने मात्रै हैन, सत्ताको चरित्र र भूमिका किटान गर्ने बेला हो । यहाँ कसले, किन र के बोलेको छ र यसको पछाडि को छ ? किन लागेको छ ? भन्ने अहं विषय हुन्छ । सत्ता चिन्तनको कुरा गर्दा यथास्थितिमा रहने कि ! प्रतिगमनमा जाने वा अग्रगमन स्वीकार्ने भन्ने बहसको समय हो । रूपमा नदेखिए पनि पक्षधारिता, सोच र हितको राजनीतिक व्यवस्थापन हुने समयमा चिन्तनअनुसारका शक्ति र सोचका आ–आफैँ नै मार्गचित्र हुन्छन् । आशा, अपेक्षा र भूमिकाअनुसार सक्रियताका समाचार बन्छन् र भत्कन्छन् ।
सामाजिक चिन्तनका टसल मिडियाबाट फैलिने सोच र समाचारलाई आपसमा भिडिरहेको देख्दा र भोग्दा अनुभूत गर्न सकिन्छ । को कसको पक्षमा छ ? कस्तो समाज बनाउन चाहन्छ ? सोच, सपना, प्रतिबद्धता र पक्षधारितालाई कसरी तर्कवाणी दिइएको छ भन्ने कुरा मिडियाबाटै छर्लङ्गिन्छ । चिन्तन–गडफादर को हुन् र के चाहिँ रहेछन्, छिप्न सक्दैन । समाचार, समाचारजनित लेख, आख्यान, विचार, विमर्शले तत् समाजमा भइरहेका टसल, हलचल, वर्गसङ्र्घषका रूप र गुण, सांस्कृतिक चेत र संस्कार, बौद्धिक विमर्श, भूमिका र सक्रियतामा को कुन कित्तामा छ भनेर प्रस्टै नियाल्न सकिन्छ ।
जहाँ पनि मिडियाचालित एउटा समाज हुन्छ । मिडियाका सामान्य उपभोक्ता यी उथलपुथललाई गम्भीर तरिकाले नियाल्नुभन्दा चालू मिडियाबाटै धारणा बनाएर मौलिक चिन्तन मान्दै भ्रमित यथार्थमा रम्ने गर्छन् पनि । मौन टकराहटको बेला मनोयुद्ध घनीभूत हुन्छ । भ्रम र यथार्थ छुट्याउन नलाग्ने तर लहैलहैमा डोरिने समाजको अन्तरहृदयलाई नटटोली मनोयुद्धको असर र मर्म खुट्याउन सकिँदैन ।
जहिले र जहाँ पनि कुलीन र शासकवर्ग पुरानै दमनकारी हतियार उठाउन सक्दैन । त्यसैले भ्रमित चेत फैलाउँदै आवेगी जनमत तयारी गर्ने कलामय खेल खेल्दै छद्मयुद्ध लडछन् तर सिपाही भने चाँदीका किस्तीमा बुद्धि र विवेकदातालाई सुम्पिने भाट–बुद्धिजीवी नै हुने गर्छन् । उनीहरू भावना र आदर्शका आडमा मानवीय गीतमा लय मिलाउन पुग्छन् । हितअनुसारको सुन्दर र कुरूपताका धारणालाई विमर्शका विषय बनाउनु र मूल एजेन्डालाई अन्यन्त्र मोड्ने चतु¥याइँ हुन्छ । जहिले पनि अभिजातहरू आफ्नो लडाइँ नलड्ने हुँदा प्रतिक्रियामै सीमित हुन अनिवार्य हुन्छ । लम्पटहरू वा अल्पकालीन हितमा विवेक बन्धकी राख्नेहरूले लडिदिने भाडाका चिन्तकको सहारा लिनुपर्छ या त प्रभुका दया, भरोसामा ।
अहिलेको पनि सामाजिक टकराहट भयङ्कर छ । स्थानीय चुनावमा उम्मेदवारी बनेर देखा प-यो । त्यो टकराहट केही वर्षपहिला सशस्त्र रूपमा थियो, अहिले मौन टकराहटमा । पात्र र सङ्गठित शक्तिमा नभई प्रवृत्तिमा अग्रगमन, यथास्थिति र प्रतिगमन चिन्तनमा देखा प¥यो । हलचलका खेलाडी सतह र मौलिक भूमिकामा निमित्त भूमिकामा देखा परे । स्वार्थ, मान्यता र सोच परिस्थिति हाँकियोस् तर निरन्तरतामा चलिआएको रीतिथिति, चालचलन नखल्बलियोस् भन्नेमा देखा परे । पात्र र ट्रेडमार्क फेरिँदा फरक परेन ।
शासक वर्गले लडाइँ पुरानै तरिका, धार्मिक आवरण र उत्तेजना, सांस्कृतिक आवेग भरेर लड्न सक्दैनथे । त्यसैले एउटा मिडियाचालित समाज बनाउँदै भ्रम छर्ने र एनजीओ समाजबाट अंशमा टेकेर समग्र उपलब्धिमा आक्रमण गर्ने छद्म युद्ध लड्न थाले । देख्दा त्यो आदर्श लाग्थ्यो, मानवीय करुणा पलाएको जस्तो पनि देखिन्थ्यो तर त्यसभित्रका बीभत्स खेल सामान्य आँखा र सहज चेतले खुट्याउन भने सक्दैनथ्यो ।
हरेक परिवर्तन यथास्थितिमाथि चोटिलो प्रहार र हस्तक्षेपबाट सुरु हुन्छन् । विधिमा टेकेर विधि भत्काउँदै विधि निर्माण गरिन्छ । पुराना मानकमा प्रहार हुन्छन् । नयाँ मानक र नयाँ नायकको जन्म हुन्छ । हेपिएका, दबिएका, उपेक्षा गरिएका बहस र भूमिकाको केन्द्रमा पुग्छन् । भुइँमान्छेको स्वरलाई सुन्न अभिजातहरू बाध्य हुन्छन् । त्यो अवधि आदर्शै आदर्शले भरिएका काव्यात्मक समयबाट मात्र गुजिँ्रदैन । त्यसको चोट र छिर्का यत्रतत्र फैलिँदा समय र समाजले पीडादायी अवस्था भोग्नुपर्छ । निजी रूपमा व्यक्तिले असह्य वेदना सहनुपर्ने हुनसक्छ । परिवर्तनको नेतृत्व गरेका फेरिएको आदर्शमा खरो नउत्रिन सक्छन् । हरेक परिवर्तनसँग एउटा आवेग र अपेक्षा हुन्छ । त्यसलाई तत्काल पूरा गर्ने आधार, सम्भावना, साधन र स्रोत त्यही स्तरमा उपलब्ध हुँदैन । अर्कातर्फ परिवर्तनको आवेग र अपेक्षालाई व्यवस्थापन गर्ने कलाको अभाव हुन्छ ।
जुन समाजमा जुन वर्गको वर्चस्व हुन्छ, त्यसलाई नै मूलधार मानिन्छ । कसैकसैले तटस्थताको सुख भोगे पनि विगतको टसलकालमा अधिकांश नेपालीजनलाई प्रत्यक्ष वा परोक्ष कित्ताबन्दी गरेको थियो । परिवर्तनको वेगले हाकाहाकी अस्वीकार गर्ने कसैको हिम्मत भएन । त्यसलाई सोही गतिमा वैधानिक व्यवस्थापन गर्न परिवर्तनकारी शक्तिले तेजिलो चातुर्यता देखाउन सकेन । परिवर्तनको आवेग मत्थर हुन नपाउँदै पराजित शक्ति नयाँ रूप र आवरणमा सक्रिय हुन थाल्यो । त्यो घाइते सोच विभिन्न भूमिकामा सक्रिय बन्यो । मिडियाबाटै आफ्ना अनुकूलको जनमानस तयार गर्न चाहे । केही मिडिया र समाजका कुलीनवर्ग मूलधारको राजनीति भनेर केहीलाई स्थापित गर्न चाहन्छन् । साधन, स्रोत, भाडाका बुद्धिजीवी र कथित नागरिक समाजलाई हेर्दा घाइते तर पराजय स्वीकार नगरिसकेको अभिजातकै नेतृत्वमा मूलधार छ भनिन्छ ।
नेपाली समाजको विशेषता भनेकै परिवर्तनलाई आत्मसात् गर्ने संस्कार हो । अब पुरानै मूलधार छैन र हैन । नयाँले पनि आकार ग्रहण गर्न भ्याइसकेको छैन । पुरानाले बरु पुरानैलाई निरन्तरता दिन भने कोशिश गर्दै छ । एउटा ठूलो युद्धबाट शान्तियुद्धमा आएका जटिलतामा कुलीनको मानवीय चेहरा मनोयुद्धलाई पराजय गर्न सक्छ कि उनीहरूकै षड्यन्त्रको चक्रब्युहमा फस्छ भन्ने कुरा बुझ्न मिडिया सचेतता अनिवार्य हुन्छ । कसले, किन, के बोलिरहेको छ ? ती विषयका अंशमा टेकेर समग्रमा सिकार गर्न चाहेको त छैन भन्ने मिडियाचेतले मात्रै वास्तविकता र भ्रमित यथार्थ छुुट्याउन सकिन्छ ।
परिवर्तनका रूपलाई स्वीकार गर्दा पनि वर्चस्वशालीको सामाजिक सम्बन्धको गाँठो यस्तो कस्सिएको हुन्छ कि हितमा चोट पर्नेबित्तिकै रन्थनिन्छन् । परिवर्तनका गुणलाई स्वीकार्न नसकेर ध्वस्त अभियान चलाइरहेका हुन्छन् । सत्तामा कुनै खचमच हुन दिँदैनन् । सोहीअनुरूप सुन्दरता र कुरूपताको मानक बनाइन्छ । विगतमा भएका विभिन्न चरणका सङ्घर्षले परम्परागत संस्कृति र हितमा चोट पु-याएको थिएन तर पछिल्लो कालको उथलपुथलले उसको हितमा सशक्त चोट पुग्यो । पुराना दमनकारी हतियारमा खिया लागेको बुझेर भ्रमित जनमत र जनमानस तयार गर्न सम्पूर्ण साधन, स्रोत, कला र क्षमताको खर्च मिडियाबाटै भइरहेको छ ।