काठमाडौँ, असार ८ गते। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले क्यानडाको ग्लोबल टी-२० लिग खेल्ने भएका छन्।
साउन १० गते (जुलाई २५) देखि क्यानडामा सुरु हुने ग्लोबल टी-२० लिगमा राष्ट्रिय टिमका तीन खेलाडी अनुबन्ध भएका हुन्।
दीपेन्द्र र सन्दीप दुवैले भ्यानकुभर नाइट्सबाट खेल्दैछन्। क्यानडाको ग्लोबल टी-२०मा सन्दीप र दीपेन्द्रले अघिल्लो संस्करणसमेत खेलेका थिए।
अघिल्लो संस्करणमा दीपेन्द्रले मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए भने सन्दीपले मोन्ट्रियल टाइगर्स र टोरोन्टबाट खेलिसकेका छन्।
नेपाली राष्ट्रिय टिमका कप्तान पौडेल टोरन्टो नेशनलमा अनुबन्धित भएका हुन्। उनले पहिलो पटक नेपालबाहिर फ्रेन्चाइज लिग खेल्न लागेका हुन्।