• १४ असार २०८१, शुक्रबार

पर्सा प्रहरीद्वारा ७१२ बोरा युरिया मल बरामद

blog

फाइल तस्बिर

वीरगञ्ज (पर्सा), असार ८ गते । पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले भित्र्याएको १० लाख मूल्य पर्ने सात सय १२ बोरा युरिया मल बरामद गरेको छ । गैरकानुनीरुपमा भारतीय मल भन्सार छली चोरीपैठारी गरी वीरगञ्जमा ल्याई अनधिकृत भण्डारण गरेर राखेको ५० केजीका सात सय १२ बोरा मल पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले भारतबाट भन्सार छली गरेर अवैध ढङ्गले मल भित्र्याएर भण्डारण गरिराखेको सूचनाका आधारमा छापामर्दा सो मल बरामद भएको बताउनुभयो । प्रहरीले अवैध मल भित्र्याएर भण्डारण गर्ने काममा संलग्न रहेको भन्दै नवलपरासी कावासोती नगरपालिका-९ बस्ने ६२ वर्षीय ज्ञानबहादुर महतोलाई पक्राउ गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ । बरामद भएको मल पनि शुक्रबार नै भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ । भाडाका घरमा अनधिकृतरुपमा युरिया मल भण्डारण गरेका अवस्थामा प्रहरीले फेला पारेको थियो  । 

जङ्गली हात्तीको दारासहित तीन पक्राउ

पर्सा प्रहरीले जङ्गली हात्तीको दारासहित तीन जनालाई पक्राउ परेको छ । पर्सा प्रहरीले पर्साको ठोरी गाउँपालिका-४ गोरखपुर टोलमा २१-२१ किलोग्राम तौल भएको दुई वटा हात्तीको दारासहित तीन जनालाई शुक्रबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक  भारतीले जङ्गली हात्तीको दारासहित पक्राउ परेका तीन जनालाई जिल्ला डिभिजन वन कार्यालयसँग समन्वय गरी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको बताउनुभयो । 

“अधियुक्तले ठोरी गाउँपालिका-४ का चन्द्र परियारको खेतमा खाल्डो खनेर २१÷२१ किलोग्राम तौल भएको दुई थान दारा बिक्री वितरणका लागि ग्राहक खोज्ने क्रममा पक्राउ परेका हुन्”, उहाँले भन्नुभयो । पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका-४ विजयबस्ती गुम्बालाइनका कुइसँग लामा, वीरगन्ज महानगरपालिका–१ का प्रेम शर्मा र महानगर–२१ का अमिरीलाल महतो रहेका छन् । रासस