• १४ असार २०८१, शुक्रबार

निर्वाचन पद्धतिमात्र होइन, सोच पनि बदल्नुपर्छ : मुख्यमन्त्री पाण्डे

blog

शनिबार संसदीय पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, असार ८ गते ।
 गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अहिलेको निर्वाचन पद्धतिले कसैको बहुमत नआउने उल्लेख गर्दै त्यसमा परिवर्तन जरुरी भएको औँल्याउनुभएको छ । संसदीय पत्रकार मञ्च गण्डकीले शनिबार आयोजना गरेको कार्यक्रममा उहाँले निर्वाचन पद्धतिसहित सोचमा पनि परिवर्तन जरुरी भएको उल्लेख गर्नुभयो ।

“यो निर्वाचन पद्धतिले कसैको बहुमत आउँदैन, कतै न कतै करेक्सन जरुरी छ,” मुख्यमन्त्री पाण्डे भन्नुहुन्छ, “सिस्टममात्र सुधारेर नपुग्ने हो कि चिन्तन पनि जरुरी छ ।” गण्डकी प्रदेशको सात वर्षमा छ सरकार बनेका छन् ।

मुख्यमन्त्री पाण्डेले सरकारको स्थायित्व र समृद्धिका लागि सबैको प्रयास जरुरी भएको औँल्याउनुभयो । उहाँले सरकारबाट कमी, कमजोरी भए सुधार्ने उल्लेख गर्दै उहाँले सरकार र प्रतिपक्ष दुवै मिलेर प्रदेशलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

पत्रकारहरू बेला बेलामा बहकिएको उल्लेख गर्दै उहाँले सञ्चार माध्यम र सामाजिक सञ्जाल फरक हो भन्ने बुझाउन नसकिएको विचार राख्नुभयो । उहाँले गण्डकी प्रदेशमा चाँडै प्रेस रजिस्ट्रार नियुक्ति प्रक्रिया थाल्ने उल्लेख गर्नुभयो ।

८० प्रतिशतभन्दा बढी आयोजना सडकका माग भएको उल्लेख गर्दै उहाँले सरकारको समीकरणले सरकारको कामलाई प्रभावित गरेका अनुभव सुनाउनुभयो । “एउटै वडाबाट साढे छ अर्बका आयोजना माग भएको देखियो, हाम्रो पूर्वाधारको कुल बजेट नै १२ अर्बको छ । सरकारको समीकरणअनुसार योजना, बजेट विनियोजन गर्नुपर्ने बाध्यता छ,” उहाँले भन्नुभयो ।

गण्डकीका पूर्व मुख्यमन्त्री एवम् नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले संसदीय व्यवस्थाका कमजोरी र सबल पक्ष मनन गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभाका पूर्व सदस्यद्वय धनञ्जय दवाडी र विष्णुप्रसाद लामिछानेले प्रदेशसभाका अनुभवहरु आदानप्रदान गर्नुभयो ।