• १० मंसिर २०८१, सोमबार

नुनथर पुराण र पर्यावरण

blog

मधेश प्रदेशको रौतहट जिल्लाको उत्तरपूर्वी कुनामा रहेको मनोरम ठाउँ हो नुनथर । पूर्वपश्चिम लोकमार्गभन्दा करिब एक किलोमिटर उत्तरपर्ने नुनथर बागमती नदीको किनारमा अवस्थित छ । प्राकृतिक दृष्टिकोणले मनोरम, धार्मिक दृष्टिकोणले दर्शनीय तथा पर्यटकीय दृष्टिकोणले महìवपूर्ण रहेको नुनथरमा हरेक वर्ष लाखौँ पर्यटक पुग्ने गरेका छन् । मधेश प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य नुनथर भारतीय पर्यटकको पनि रोजाइमा परेको क्षेत्र हो । 

नामकरण

कुनै जमानामा यहाँको चट्टान नै नुनिलो थियो । चट्टानलाई नुनका रूपमा प्रयोग गर्ने गरिन्थ्यो । बढी मात्रामा गाईवस्तुले चाट्ने गरेका थिए । कोही आगन्तुकले खाना पकाउँदा नुनको ढिका यहीँबाट खोजेर हाल्ने गरेका थिए । आगन्तुक यात्रुका लागि यो ठाउँ ‘नुनको थलो’ का रूपमा परिचित भएको थियो । ‘नुनको थलो’ का रूपमा परिचित यो ठाउँ ‘नुन थलो’ हुँदै ‘नुनथल’ बाट ‘नुनथर’ भएको हो ।

अर्कोथरी तर्क पनि पाइन्छ । यहाँ पानी जम्ने एउटा सानो पोखरी थियो । पोखरीको पानी नुनिलो थियो । नुनिलो पानीलाई स्थानीय बज्जिका भाषामा ‘नुनगर’ भनिन्छ । यही ‘नुनगर’ रहेको ठाउँलाई कालान्तरमा ‘नुनथर’ भनिन थालिएको हुनु पर्छ । निकै पछिसम्म यहाँ नुनिलो ढुङ्गा पाइने गरिएको थियो । करिब दुई दशकअघिसम्म ‘नुनिलो ढुङ्गा’ तथा ‘नुनिलो पानी’ दुवै यहाँ पाइन्थे तर अहिले इतिहास भइसकेका  छन् । यही नुन र नुनिलो थलो तथा पानीबाट नै यस ठाउँको नामकरण ‘नुनथर’ रहन गएको हो भन्ने भनाइ छ ।

पौराणिक मिथक

नुनथरका बारेमा धेरै मिथक प्रचलनमा रहेका छन् । तीमध्ये दुई वटा प्रमुख रहेका छन् । भगवान् पशुपतिनाथ पार्वतीसित वन विहार गर्नका लागि मृगको भेष धारण गरे छन् । बागमती नदीको किनारमा नुनथर पहाडको फेदीमा रहेको सुन्दर हरियो वन विहारका लागि अत्यन्त उपयुक्त ठाने छन् । कहिले हरिण त कहिले जरायोको भेष धारण गरेर शिव–पार्वती यस क्षेत्रमा लामो समय रमण गरे छन् । सोही अवस्थामा शिव–पार्वतीलाई धेरै देवदेवीले चिने छन् । शिव–पार्वतीले मृग–मृगिनीका रूपमा धेरै लामो समयसम्म रमण गरेको ठाउँ विभिन्न देवदेवीलाई अत्यन्त पवित्र लाग्न थाले छ । अनि सोही ठाउँमा शिव–पार्वतीको पूजा गर्न थाले छन् ।

महाभारत युद्धपछि, बान्धव वधको पापबाट मुक्त हुन भगवान् श्रीकृष्णको सल्लाहबमोजिम पाण्डवहरूले पशुपतिनाथको दर्शन र पूजा गर्नुपर्ने भयो । श्रीकृष्णको अगुवाइमा पाण्डव पशुपतिनाथको दर्शन र पूजाका लागि नेपालतिरको यात्रा गरे छन् । बागमतीको किनारैकिनार उत्तरतिर बढ्दै जाँदा समथर भूमिको समाप्ति र चुरे पर्वतको आरम्भ हुने बेँसीको रमणीय ठाउँमा आइपुगे छन् । भगवान् श्रीकृष्णले शिवजीको आभास पाएछन् । पाण्डवसहित श्रीकृष्णले रात्रिविश्राम गरे छन् । शिव–पार्वतीको कथा पाण्डवहरूलाई सुनाए छन् । अनि शिवलिङ्ग स्थापना गरी यात्रा सफलताका लागि प्रार्थना गरे छन् । अनकन्टार र कठिन पहाडी बाटोमा कुनै हिंस्रक वन्य पशुपन्छीले कुनै हानिनोक्सानी नपु¥याओस् भन्ने कामना गरी पूजा गरे छन् । भगवान् श्रीकृष्णले भने छन् रे, “अनन्तकालसम्म यस मनोरम ठाउँमा श्रद्धालुको मनोकामना पूरा भइरहने छ ।” भनिन्छ, पाण्डवसहित श्रीकृष्णले स्थापना र पूजा गरेको शिवलिङ्गमा पूजा गरेर मात्र यात्रु पशुपतिनाथको दर्शन गर्न बागमतीको किनारैकिनार यात्राको थालनी गर्दथे रे । फर्किंदा त झन् श्रीकृष्ण केही दिन बास नै बसे छन् रे । गाई पनि चराएछन् रे । एउटा कुटी बनाएर केही दिन बसे छन् रे । श्रीकृष्ण गोपाल भएकाले उनी कुटी बनाएर बसेको ठाउँ नै गोपालकुटी कहलाएछ रे । नुनथरको छेउमै अहिले पनि गोपालकुटी भन्ने ठाउँ छ । यस ठाउँको नामकरणको पछाडि अन्य कारण पनि सम्भव छ ।

 तपोभूमि

नुनथर क्षेत्रलाई तपोभूमिका रूपमा पनि लिइन्छ । विभिन्न ऋषिमुनिले नुनथरमा लामो समयसम्म तपस्या गरेको देखिन्छ । बागमती नदीतिर खुल्ने गुफामा कैयौँ योगीले तपस्या गरेको परम्परा नै रहेको छ । गोपाल बाबा, जङ्गली बाबा आदि अनेक साधु सन्न्यासीले यस ठाउँमा तपस्या गरेर सिद्धि प्राप्त गरेको इतिहास पाइन्छ । भारत बिहारको मुजफ्फरपुरस्थित एमडिडिएम कलेजमा हिन्दी विभागकी प्राडा पुष्पा गुप्ताद्वारा सङ्कलित ‘सिद्ध बाबा और जङ्गली बाबा’ शीर्षक अनुसन्धानमूलक लेख जुन डा. यशवन्त कुमारद्वारा सम्पादित ‘बज्जिकाञ्चल के सिद्ध संत’ पुस्तकमा सङ्कलित छ, मा नुनथरका जङ्गली बाबाका बारेमा विस्तृत चर्चा गरिएको छ । नुनथरमा रहेको मन्दिरका वर्तमान पुजारी स्वामी कृष्णानन्द गिरी भन्छन्, “यहाँ कैयौँ सिद्ध साधुले तपस्या गरेका छन् ।”

पर्यावरणीय सन्तुलन

पहाड, समथर, नदी र वनको सुन्दर सङ्गमस्थल नुनथर पर्यावरणीय दृष्टिकोणले निकै महìवपूर्ण छ । चुरे पहाडको फेदीमा रहेको नुनथरको लगभग सबैतिर हरियाली देखिन्छ । दक्षिणतिर मुख्यद्वार भएको नुनथर पहाडको पूर्वमा बागमतीपारि सर्लाहीको चुरेको हरियो जङ्गलले मन लोभ्याउँछ । उत्तरतिरबाट जहिले पनि चिसो सिरेटो चलिरहन्छ । जतिसुकै गर्मीमा पनि यहाँ शीतलताको अनुभूति हुन्छ । उत्तर र पश्चिम पूरै हरियो जङ्गलले भरिएको सुन्दर दृश्य देखिन्छ । प्राकृतिक रूपमा फुलेका विभिन्न मौसमी फूलको दृश्य र प्राकृतिक फूलको सुगन्धले झन् यहाँ मादकता ल्याउँछ । केही कृत्रिम रुख बिरुवा पनि रोपिएका छन् । कवि भूपि शेरचनले भने झैँ एक बाजी आएपछि यहाँ वसन्त पनि फर्कन बिर्सन्छ । बागमती नदीको पानीले यहाँको पर्यावरणीय सौन्दर्यमा झन् वृद्धि गरेको छ । 

उत्तरतिर चढ्दा पहाडको शीतलता सुरु हुने र दक्षिणतिर झर्दा तराईको न्यानोपना आरम्भ हुने सङ्गमस्थलका रूपमा रहेको नुनथरले पर्यावरणीय सन्तुलन बनाइराख्न सफल भएको छ । यहाँ आउनेले करिब एक किलोमिटर क्षेत्रफलको प्राकृतिक वातावरणमा शीतल छहारीसँगै नुनथर परिव्रmमा गरेर प्रकृतिको आनन्द लिनुका साथै सम्पूर्ण थकाइ मेटाउन सक्छ ।

पर्यटनमा नुनथर

मधेश प्रदेशको सबैभन्दा उत्कृष्ट पर्यटकीय गन्तव्य स्थल नुनथर बन्न पुगेको छ । हरेक वर्ष लाखौँ पर्यटक पुग्ने नुनथरमा हरेक दिन हजारौँ पर्यटक पुग्दछन् । हरेक शनिबार नेपालीको र हरेक आइतबार मुख्य गरी भारतीयको भिडभाड हुने गरेको छ । यहाँ विभिन्न उद्देश्यले पर्यटक आउने गर्छन् ः

धार्मिक पर्यटक

मुख्य गरी साउन र भदौ महिनामा लाखौँको सङ्ख्यामा धार्मिक पर्यटक नुनथर पुग्छन् । बाराको काँटघाट महादेव, रौतहटको शिवनगर महादेव र अन्य ठाउँको महादेवको दर्शन गर्न साउन र भदौ महिनामा लाखौँ बोलबम (भक्तजन) यहाँ पुग्छन् । यसै गरी भदौ महिनाको त्रयोदशी, माघको श्रीपञ्चमी, फागुनको महाशिवरात्रिमा यहाँ भक्तजनको निकै ठुलो भिड लाग्ने गरेको छ । यहाँबाट जल भरेर विभिन्न ठाउँमा शिवको जलाभिषेक गर्ने चलन छ । यसै गरी कात्तिक महिनाको शुक्ल पूर्णिमाको रातमा हजाराँैले यहाँ जाग्राम बसी पूजा गर्छन् । अन्य समयमा पनि महादेवको दर्शन गर्न यहाँ धार्मिक पर्यटक आइरहन्छन् ।

नुनथरमा भगवान् श्रीकृष्णले पहिलोचोटि पूजा गरेको विश्वास रहेको प्राचीन शिवलिङ्ग रहेको छ । प्राचीन मन्दिरलाई २०७२ को भूकम्पपछि मर्मतसम्भार गरिएको छ । तपस्या मुद्रामा यहाँ शिवको विशाल मूर्ति निर्माण गरिएको छ । पञ्चमुखी हनुमान मन्दिरसँगै अन्य देवदेवीको मन्दिर तथा मूर्ति, यज्ञस्थलादिले नुनथर आदिकालदेखि धार्मिक स्थल हो भन्ने अनुमान हुन्छ ।

पिकनिक पर्यटन

अङ्ग्रेजी नयाँ वर्ष, विक्रम संवत्को नयाँ वर्ष तथा माघेसङ्क्रान्ति जस्ता पर्वमा नुनथरमा थामिनसक्नुको भिड हुन्छ । साना र ठुला हजारौँ सवारीसाधनमा आएका ५० हजारभन्दा बढी पर्यटकले एकै दिन नुनथरको अवलोकन गर्छन् । पिकनिक मनाउनेका लागि निकै रमणीय ठाउँका रूपमा विकास भइसकेको छ नुनथर । यहाँ हरेक दिन कुनै न कुनै टोली पिकनिकका लागि पुगेकै हुन्छन् । नुनथरको मुख्य पार्कदेखि बाहिर तथा भित्र र नअटाएमा कुनै दिन पिकनिक टोली बागमतीको बगरमा पनि पिकनिक मनाउँछन् ।

मधेश प्रदेशको आठ वटै जिल्लाबाट पर्यटक आउने नुनथरमा भारत विहारको सीतामढी, शिवहर तथा पूर्वी चम्पारणबाट पनि उत्तिकै पर्यटक पुग्छन् । बालबालिकालाई रमाइलोका लागि विभिन्न किसिमका पिङ र आधुनिक खेलौनाको व्यवस्था, जल विहार गर्नका लागि बागमती नदीमा नुहाउन सकिने पर्याप्त शीतल पानी, बोटिङ गर्न सकिने व्यवस्था, वन क्षेत्रको अवलोकन नदी, वन र पहाडको एकसाथ सुन्दर दृश्यावलोकन गर्न सकिने नुनथरमा सर्लाही र रौतहटलाई जोड्ने गरी बागमती नदीमा निर्माण भएको झोलुङ्गे पुल पनि पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । यसै गरी रङ्गीविरङ्गी माछा भएको व्यवस्थित पोखरी, प्रथम सहिद लखन थापामगर स्मृति पार्क, नुनथर शिलाले पनि पर्यटकलाई आकर्षित गर्दछन् ।

प्राचीनकालमा नेपाल उपत्यका (कान्तिपुर) देखि वैशाली हुँदै पाटलीपुत्र (पटना) सम्म आवतजावत गर्ने मार्गका रूपमा बागमती नदीको किनार रहेको थियो । उत्तरबाट तिब्बतसम्मका व्यापारी पनि कहिलेकाहीँ भारतसम्म यही बाटो भएर जान्थे । दक्षिणतिरबाट कान्तिपुर जाँदा उकालो सुरु हुने ठाउँ नुनथर भएकाले अधिकांशका लागि रात्रिविश्रामको स्थल यहीँ हुने गर्दथ्यो । यही बाटो भएर वैशालीबाट लिच्छविहरू नेपाल उपत्यका पुगेका थिए । हजारौँ वर्षदेखि जनसाधारणमा प्रसिद्ध नुनथर अहिले पनि पर्यटकलाई आकर्षित गर्न सफल भएको छ । नुनथरको अवलोकन गर्दा अनुभव हुन्छ ; पुराण, पर्यावरण र पर्यटनको सङ्गमस्थल, पहाड र समथर भूभागको मिलनस्थल नुनथर प्राचीन र आधुनिकताको पनि संयोगभूमि हो ।