उन्नाइसौँ शताब्दीमा युरोप विश्व पुँजीवाद केन्द्र बन्यो । नयाँ नयाँ वैज्ञानिक निष्कर्ष पनि युरोपमै भए । प्राविधिक क्षेत्रमा पनि त्यहीँ नै अग्रणी अवस्था विकसित भयो । दार्शनिक क्षेत्रमा पनि युरोप नै अग्रगन्य देखियो । प्रविधिको क्रान्तिका कारण औद्योगिक क्षेत्रमा इतिहासकै ठुल्ठुला परिवर्तन भए । अनेकौँ क्षेत्रमा ठुला ठुला सहर विकसित भए । ठुल्ठुला कलकारखाना स्थापित भए । औद्योगिक उत्पादनलाई संसारभरि पु¥याउन पानी जहाजहरूको विकास भयो । बजारको खोजी व्यापक रूपमा फैलियो । एसिया र अफ्रिकामा बजार स्थापित हुन सुरु भए । औद्योगिक उत्पादनको अत्यधिक माग बढेर गयो जसले गर्दा उत्पादन अत्यधिक वृद्धि गर्न प¥यो । त्यसका निम्ति ठुलो सङ्ख्यामा मजदुर आवश्यकता प¥यो । त्यो आवश्यकता पूरा गर्न ग्रामीण क्षेत्रबाट किसानलाई बजारतिर लखेट्न सुरु भयो ।
सन् १८४० तिर उत्पादनका साधनविहीन आफ्नो श्रमशक्ति बिक्री गरेर बाँच्न बाध्य सर्वहाराको सङ्ख्या अत्यधिक बढेर गयो । समाजको सम्पूर्ण उत्पादन सामाजिक र उत्पादित वस्तुको मालिक व्यक्ति बन्ने व्यवस्था व्यापक रूपमा बढेर गयो । समाज एकातिर सर्वहारा र अर्कोतिर पुँजीपति वर्गमा विभाजित भयो । अभावै अभावमा बाँच्न बाध्य सर्वहारा वर्गका जनताको हितका निम्ति अनेकौँ सङ्घर्ष पनि भए । तिनै सङ्घर्षले विभिन्न मुलुकमा कम्युनिस्ट पार्टी निर्माण गरेर अन्यायपूर्ण अवस्थामा पुगिरहेको समाजको ठुलो हिस्सालाई समेट्ने कोसिस भए । सहकारी आन्दोलन त्यसैबेला युरोपभरि फैलिए । त्यस अवस्थामा सर्वहारा वर्गको मुक्तिका निम्ति कार्ल माक्र्स र फ्रड्रिक एङ्गेल्ससहितका व्यक्तिले सन् १८४७ मा ब्रिटेनमा कम्युनिस्ट लिग स्थापना गरे ।
कम्युनिस्ट लिगकै सक्रियतामा माक्र्स र एङ्गेल्सले सन् १८४८ फ्रेबु्रअरीमा कम्युनिस्ट पार्टीको घोषणापत्र जारी गरे । त्यसपछि जर्मनीमा १८५२ मा क्रान्ति सुरु भयो तर त्यसलाई निर्ममतापूर्वक दमन गरियो । त्यसको २० वर्षपछि फ्रान्सको राजधानी पेरिसमा विद्रोही सर्वहाराले राज्यसत्ता कब्जा गरे र राज्यका रूपमा कम्युन खडा गरे । त्यो ७० दिनसम्म टिक्यो । त्यसपछि फ्रान्स जर्मनीलगायत साम्राज्यवादीहरूले राजधानी पेरिसको कम्युनलाई घेराबन्दी गरेर निर्ममता पूर्वक दमन गरे । एक जना कम्युन सदस्यले आत्मसमर्पण गरेनन् । सबै कम्युन सदस्यको हत्या गरियो । त्यसपछि युरोपका सबै अग्रणी मुलुकमा रहेका कम्युनिस्टको व्यापक धरपकड सुरु भयो र त्यहाँ कुनै राजनीतिक काम गर्न सकिने अवस्था रहेन ।
निर्ममतापूर्वक कम्युनलाई दमन गरिए पछि सन् १८७२ मा कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले युरोपलाई भन्दा संयुक्त राज्य अमेरिकालाई राजनीतिक गतिविधिका निम्ति सहज ठानेर होला अन्तर्राष्ट्रिय कम्युनिस्ट सङ्गठनको हेड्क्वाटर न्युयोर्क सारे । उनीहरूले संयुक्त राज्य अमेरिकालाई विश्वास गर्नुको एक मात्र आधार संयुक्त राज्य अमेरिका साम्राज्यवादी ब्रिटेन र अरू अनेकौँ युरोपियन साम्राज्यवादीका विरुद्ध रक्तपातपूर्ण क्रान्तिमा विजय हासिल गरेर विकसित हुनु थियो । साँच्चिकै त्यसपछिका कतिपय कालमा अमेरिका र युरोपमा मजदुर आन्दोलन विकसित भयो । त्यसको नेतृत्वको केन्द्र थियो कम्युनिस्ट अन्तर्राष्ट्र । त्यही आन्दोलनले ऐतिहासिक उपलब्धि हासिल ग¥यो । आन्दोलन पछि हरेक कारखानाका मजदुरको कामको अवधि आठ घण्टा निश्चित भयो । मजदुरको उमेरको हदपछि निवृत्तिभरणको व्यवस्था गरियो । कारखानामा काम गर्ने मजदुरको कार्य अवधि, ज्याला, परिवारको स्याहार संरक्षण, शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था कायम गर्नमा अमेरिकाको पनि सहयोग र समर्थन थियो भनिन्छ ।
त्यसबेलादेखि आजसम्म संसारभरिकै राष्ट्रहरूले अमेरिकालाई आर्थिक, राजनीतिक र सामाजिक हिसाबले विश्वकै महाशक्ति राष्ट्र मान्छन् । सन् १८८० पछि भएका अमेरिका र युरोपका मजदुर आन्दोलन पछि प्राप्त उपलब्धिप्रति अमेरिका उदार देखिएको थियो । पछि कम्युनिस्ट आन्दोलनप्रति अमेरिका आक्रमक देखियो, जसले गर्दा मजदुर वर्गीय क्रान्तिबाट निर्माण भएका एसिया र युरोपका समाजवादी मुलुकसित सम्बन्ध सुमधुर हुन सकेन । अहिले भने सम्बन्ध सुधारको अवस्था देखिन्छ ।
अहिले अमेरिकी जनता तीन तहमा बाँडिएका छन् । पहिलो राज्यशक्तिको नेतृत्व गर्ने तह, दोस्रो आफ्नो मुलुक र सारा संसारभरि आर्थिक कारोबार गर्ने तह र तेस्रो आधारभूत तहमा रहेर आजको अमेरिका निर्माण गर्ने र त्यसको जबर्जस्त संरक्षण गर्ने श्रमजीवी जनताको तह । अमेरिकामा श्रमशक्ति खर्च गरेर बाँचिरहेका अमेरिकी जनताको सङ्ख्या मेरो अनुमानमा ८० प्रतिशत करिब रहेको हुनु पर्छ । जुन देशमा राष्ट्रपतिले आफ्ना छोराछोरीलाई १४ वर्षको उमेरदेखि शारीरिक श्रम खर्च गरेर प्राप्त हुने ज्यालाबाट आफ्नो आवश्यकता पूरा गर्न सिकाउँछ त्यो देश संसारकै महत्वपूर्ण शक्तिका रूपमा विकसित भएरै छोड्छ । आज पनि संसारका ठुला राजनीतिक पार्टीका नेताले निरन्तर काम गरिरहने खाली कहिल्यै नबस्ने बानी बसाल्न अमेरिकी जनताबाट सिक्नु पर्छ भन्छन् । अमेरिकी जनताको मेहनतबाट सिकिरहेका राष्ट्र चाँडो समृद्ध पनि भएका छन् ।
जेठ महिनामा त्यही संयुक्त राज्य अमेरिकाको केही ठाउँमा भ्रमण गर्ने अवसर पङ्क्तिकारलाई प्राप्त भयो । पत्नीसहित म त्यहाँ पुगेँ । हाम्री ठुली छोरी अजिता गौतम भेटवाल र ज्वाइँ प्रकाश भेटवालको निमन्त्रणामा कान्छी नातिनी प्रनिता भेटवालको स्कुल ग्य्राजुएसन समारोहमा भाग लिन सम्धिनी हरिमाया भेटवालसँगै हामी दुई जना जेठ ८ गतेदेखि ३० गतेसम्मको समय अमेरिकी भ्रमणका निम्ति खर्च ग¥यौँ । जेठ ८ गते साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरबाट दोहा, बोस्टन हुँदै लुइसभिल विमानस्थलमा दुई दिन पछि पुग्यौँ । हामी जानुपर्ने ठाउँ अमेरिकाको क्यान्टकी राज्यको राजधानी लुइसभिल नै थियो । हामी पुगेको केही समयपछि एयरपोर्टमा ज्वाइँ, छोरी, नातिनीहरू र नाति आइपुग्नु भयो । उहाँहरू आउनु भएकै गाडीमा चढेर हामी साँझ छोरी ज्वाइँको घर लुइसभिलको टमारिक्स सिटीमा पुग्यौँ ।
हाम्रा ज्वाइँ प्रकाश भेटवाल नेकपा (एमाले) का दिवङ्गत नेता जागृतप्रसाद भेटवाल र हरिमाया भेटवालका एक मात्र सुपुत्र हुनुहुन्छ । प्रकाश भेटवाल र अजिता भेटवाल अमेरिका प्रवासमा जीविकोपार्जनसँगै नेपाल र नेपालीको इज्जत बढाउने विभिन्न क्रियाकलापमा पनि सरिक हुनुहुन्छ । हामी दुई जना आजभन्दा दुई वर्ष पहिले पनि ठुली नातिनी प्रजिता भेटवालको स्कुल ग्य्राजुएसन समारोहमा भाग लिन त्यहाँ गएका थियौँ । अमेरिकामा शिक्षा आर्जन गर्ने र गराउने कामलाई सिङ्गो समाजको महìवपूर्ण अभिभारा ठानिन्छ । उमेर पुगेका छोराछोरीलाई स्कुल पठाइएको छैन भने अभिभावकलाई कारबाही हुन्छ । घरमा अन्य परिवारजनले अध्ययनका निम्ति उपयुक्त वातावरण नबनाउनु कानुनविरोधी क्रियाकलाप मानिन्छ । शिक्षा आर्जन गर्ने सबै तहका स्कुलमा तदनुरूप वातावरण बनाउनु अनिवार्य कर्तव्य मानिन्छ । विद्यार्थीमाथि कुनै किसिमको दबाब र अनुचित व्यवहार गैरकानुनी मानिन्छ । अधिकारीसमक्ष कुनै पनि विद्यार्थीले बोलीले वा लेखेर दिइएको उजुरीमा उल्लेख भएको विषयलाई प्रारम्भमै आधिकारिकता प्रदान गरिन्छ । त्यस किसिमको वातावरणमा शिक्षा आर्जन गर्ने तथा घर र स्कुलमा प्राप्त हुने शिक्षक र अभिभावकको सहयोगी र सुमधुर सम्बन्धले गर्दा विद्यार्थी शिक्षा आर्जन गर्न सहजता महसुस गर्छन् । हरेक तहको विद्यालयबाट विद्या आर्जनपछि भव्य बिदाइ कार्यक्रम आयोजना गरिन्छ । त्यसमा हाम्रो यतातिर स्नातक हुने विद्यार्थीलाई जस्तै स्कुल तहको ग्य्राजुएसन प्रदान गरिन्छ । त्यो कार्यक्रम विद्यार्थी, शिक्षक र अभिभावकका निम्ति सम्मानजनक मानिन्छ । हरेक ग्य्राजुएसन समारोहमा बधाई तथा शुभकामनाका निम्ति विद्यार्थीका अभिभावक तथा अन्य शुभचिन्तकलाई विद्यार्थीले आमन्त्रण गर्न पाउँछन् । समारोहमा ज्यादै उच्चस्तरको सम्मानजनक वातावरण हुन्छ ।
यस पटक कान्छी नातिनी प्रनिता भेटवालको स्कुल ग्य्राजुएसन समारोहमा भाग लिन स्वयम् नातिनीले नै विनम्रतापूर्वक तर जबरजस्त रूपले नआई हुँदैन भनेर हामीलाई निमन्त्रणा पठाइन । जीवनमा हामीले दिन सक्ने यस्तै यस्तै समयका प्रेरणा हुन् । यसलाई पनि इन्कार गर्नुलाई हाम्रो यतातिर त्यति ठुलो महìवको विषय मानिँदैन तर त्यता जीवनभरिको आलोचनाको विषय बन्न सक्दो रहेछ । नातिनी आफैँले हामी दुई जनाको आतेजाते टिकट पठाइदिएकी थिइन् हामी समयमै त्यहाँ पुग्यौँ ।
ज्वाइँ र छोरीको त्यो परिवारमा १९ वर्षकी जेठी नातिनी प्रजिता भेटवाल, कान्छी नातिनी १७ वर्षकी प्रनिता भेटवाल र १५ वर्षका नाति प्रज्वल भेटवाल छन् । यी तीनै जना दिदीभाइ अमेरिकामा जन्मे पनि नेपालमा हाम्रो काखमा बचपन बिताएका हुन् । प्रारम्भिक शिक्षा पनि नेपालमै प्राप्त गरेका हुन् । त्यही भएर यिनीहरू नेपाली र अङ्ग्रेजी दुवै भाषा उत्तिकै शुद्ध बोल्न सक्छन् । नेपाली सांस्कृतिक परम्परामा पनि उत्तिकै रमाउने गर्छन् । यी तिनै जना पढाइमा जति अग्रणी छन् त्यत्तिकै रोजगारीपूर्ण काममा पनि अग्रणी र जिम्मेवार छन् । आफ्नो पकेट खर्च र स्कुल तथा कलेजको आधा फि आफ्नै कमाइबाट जम्मा गर्छन् । सबै जना राज्यको कानुन पालना गर्न र त्यसको बर्खिलाप नजान उच्च स्तरमा सचेत छन् । मैले यस्तो अवस्थालाई समाजवादी संस्कृित भन्ने गरेको छु । मैले बुझ्दा सम्पूर्ण अमेरिकाभरि यस्तै अवस्था छ । अमेरिकन होउन् वा अरू कुनै जातिका सबै बालबालिका यसरी नै हुर्किरहेका छन् । सरकार पनि आफ्ना नागरिकप्रति देशभित्र होस् वा बाहिर पलपल सचेत रहेको मैले पाएँ । त्यसै गरी अमेरिकन नागरिकमा पनि राष्ट्रका निम्ति बलिदानको भावना कुटकुट भरिएको पनि मैले महसुस गरेको छु ।
आतेजाते बाटोको समय छोडेर १७ दिन हामी भेटवाल परिवारमा अतिथि बनेर बितायौँ । यसैबिच हामीले तीन दिन फ्लोरिडा राज्यमा पर्ने एटलान्टिक समुद्रको एउटा हिस्सामा समुद्र क्रिडा गर्दै बितायौँ । त्यो समयमा लाखौँ अमेरिकी समुद्रको किनारमा रहेको बालुवामा घाम ताप्ने र समुद्रमा पौडी खेल्दा रहेछन् । हामीले पनि उनीहरूसँगै मिसिएर समुद्र क्रिडाको अनुभव ग¥यौँ । यस पटकको अमेरिका यात्रा सम्झन लायक प्रेरणाप्रद्ध रहेको हामीले महसुस गरेका छौँ ।
यस पटक मैले अमेरिकी समाज कसरी विकसित भइरहेको छ भन्ने सम्बन्धमा केही निष्कर्ष निकाल्नै पर्ने महसुस गरेको छु । त्यहाँको अवस्थालाई बुझ्दा त्यो अमेरिकाभरिकै अवस्था त्यस्तै हुनु पर्छ भन्ने मलाई लागेको छ । पहिलो पटक सन् २००५ मा विद्या भण्डारीको नेतृत्वमा जागृतप्रसाद भेटवाल, मेरी श्रीमती तुल्सी थापा र मेरी छोरी अजिता गौतमसहितको टोली बनेर हामी अमेरिका भ्रमणमा गएका थियौँ । त्यसपछि दुई पटक अमेरिका भ्रमण गर्ने अवसर मिल्यो । यस पटक समेत गरी अमेरिका हाम्रो चौथो भ्रमण हो । मैले क्यान्टकी, फ्लोरिडा, डेनभर, सिकागो, न्युयोर्क, बाल्टिमोर, वासिङ्टन, भर्जिनिया, इन्डियना, टेक्सास आदि ठाउँ घुमेको छु । त्यहाँको मानवीय सम्बन्धको वातावरणको केही जानकारी प्राप्त गरेको छु । यी सबै ठाउँको एकमुष्ट निष्कर्ष मैले निकाल्दा अमेरिका र त्यहाँका जनता मानवीय विकासको सूचीमा अग्रगण्य अवस्थामा छन् । सांस्कृतिक रूपले अमेरिकी जनता धेरै माथिल्लो अवस्थामा पुगेका छन् । अपवाद छोडेर मानवीय विकासको अवस्था उच्च स्तरमा पुगेको छ ।
अमेरिकामा कुनै पनि क्षेत्रको विकास गर्न बाँकी राखिएको छैन । त्यहाँका सबै जनता करिब करिब सांस्कृतिक रूपले उन्नत अवस्थामा छन् । अमेरिकी जनता श्रमजीवी छन् । कसैले जानी जानी कानुन उल्लङ्घन गर्दैनन्, कसैले कर छल्दैनन्, कोही अनपढ छैनन्, कसैले कसैलाई अपमान गर्दैनन्, हेलाहोचो गर्दैनन्, जातिपाति, छुवाछुत मान्दैनन्, उमेर पुगेका कुनै पनि नागरिक काम नगरी बस्दैनन्, हरेक नागरिकले आफैँ आर्जन गरेको कमाइबाट जीवनयापन गर्छन् । त्यसरी जीवनयापन गरेकोमा उनीहरूले गर्व महसुस गर्छन्, जुनसुकै तहको व्यक्तिले सार्वजनिक स्थलमा गर्न नहुने कुनै पनि काम गर्दैनन् । असल नागरिक बन्न होडबाजी गर्छन् । काम गर्ने व्यक्तिलाई सबैले माया गर्छन् र सम्मान पनि गर्छन् । कुनै पनि अमेरिकी नागरिक १४ वर्षको उमेरदेखि शारीरिक श्रमका निम्ति स्वच्ेछाले सामेल हुन्छन् । १७/१८ वर्षको उमेरदेखि हरेक व्यक्ति आफ्नो कमाइमा बाँच्छन् । अमेरिकी कानुन अनुसार खास समयमा सेनामा सामेल हुनका निम्ति आधिकारिक ठाउँमा नाम लेखाउन पर्दोरहेछ तर सेनामा साँच्चिकै सामेल हुने अवस्थामा आफ्नो इच्छा नभए सामेल नहुन पनि पाइने रहेछ । हाम्रा नाति नातिना यसैगरी हुर्किरहेका छन् । त्यो समाज र त्यहाँ हुर्किरहेका आफन्तलाई सम्झँदा अमेरिका गएर पढिरहेका र रोजगारीमा सामेल भएर आफूलाई परिपक्व बनाई रहेका सबै नेपालीप्रति मलाई गर्व महसुस हुन्छ । पटक पटक भएको मेरो अमेरिका भ्रमणले मलाई अमेरिकाको अवस्थामा नेपाललाई कसरी पु¥याउन सकिएला भन्ने हुट्हुटी बढाइरहन्छ । आफूले त्यस्तो जीवन निर्माण गर्ने काममा सफलता प्राप्त गर्न नसकेकोमा दुःख लाग्छ ।
अमेरिका आर्थिक, सामरिक र वैज्ञानिक रूपले र संसारका अधिकांश सङ्घ संस्थालाई प्रभावित गर्ने हिसाबले संसारकै महाशक्ति राष्ट्र हो । यद्यपि एक मात्र महाशक्ति राष्ट्र भने होइन । अमेरिकाले अहिले पनि व्यापारिक भूमिकाबाट नै अलेख सम्पत्तिको मालिक बन्न चाहेको देखिन्छ । अरू मुलुकको तुलनामा अमेरिकाले आफ्नो राष्ट्रलाई एकताबद्ध गर्न सफलता प्राप्त गर्न सकेको छ । अमेरिकी जनता त्यस हिसाबले अगाडि बढिरहेका छन् । यसको श्रेय अमेरिकी सरकारलाई जान्छ नै । वर्तमान मानवजातिमै अमेरिका र अमेरिकी जनता संसारकै शक्तिशाली अवस्थामा छन् । महाशक्ति अमेरिकाले विश्व शान्ति कायम गर्न चाहने हो भने शान्ति कायम हुन सक्छ भन्ने भावना अमेरिकासहित जताततै पाइन्छ । यति ठुलो महाशक्ति राष्ट्रलाई संसारभरि आफ्नै नेतृत्वमा सैनिक सङ्गठन खडा गर्ने, युद्धरत पक्षलाई शान्तिमा ल्याउनुभन्दा युद्ध भड्किरहने गरी एउटा पक्षलाई जस्ता पनि हतियार दिएर सहयोग गर्ने काम अमेरिकाका निम्ति सुहाउने काम होइन । मानव जातिको आजसम्मको इतिहासमा युद्धबाट अन्तिम शान्ति कहिल्यै प्राप्त भएको छैन । हरेक युद्ध पछि युद्धरत शक्तिले शान्ति वार्ताबाट युद्ध बन्द गरेर नै शान्ति कायम भएको छ । आज भन्दा २५ सय वर्ष पहिले सिद्धार्थ गौतम बुद्धको शाक्य गणराज्य र कोलीय गणराज्यका बिच युद्ध उत्पन्न हुने अवस्था सिर्जना हुँदा आफ्नो संसद्लाई सम्बोधन गर्दै सिद्धार्थ गौतम भनेका थिए, मानव जातिको उदय युद्धका निम्ति भएको होइन, मानव जाति प्राणीमा सर्वश्रेष्ठ हो । यस्तो जातिले समस्या उत्पन्न हुँदा त्यसको समाधान युद्धबाट होइन शान्ति वार्ताबाट खोज्नु पर्छ । युद्धले अर्को युद्ध जन्माउँछ, अन्त्यमा युद्धरत दुवै पक्षको समाप्ति भएर छोड्छ । आज पराजित हुने पक्षले बदला लिन दसौँ वर्षपछि पनि कोसिस गरिरहन्छ । अन्तमा फेरि युद्धमा फस्छ । त्यसो गर्दा राज्यहरूका बिच बदला लिने भावना कहिल्यै समाप्त हुँदैन भनेर सम्झाउने कोसिस गरेका थिए तर संसद्ले मानेन । त्यसपछि आफ्नो बाबु शुद्धोधनसँग सल्लाह गरेर दुवै राज्यकाबिच युद्ध हुन नदिनकै निम्ति उनीले गृह त्याग गरेका थिए । उनै व्यक्ति पछिमहामानव गौतम बुद्धका रूपमा विश्वव्यापी स्थापित भए ।
अमेरिकाले विश्वमा आफूलाई स्थापित गर्नका निम्ति अब पनि फेरि अर्को विश्वयुद्ध, अन्तरिक्ष युद्ध, आणविक युद्ध सिर्जना गर्नु पर्दैन । यस्ता काम अमेरिकाले छोड्नु पर्छ । भर्खरका निम्ति रुस र युक्रेनबिचको युद्ध अन्त्य गर्न र इजरायल र प्यालेस्टाइनबिचको युद्ध समाप्त गर्न तथा अब यस किसिमका युद्ध कहीँ पनि हुन सक्ने अवस्था सिर्जना हुन नदिन अमेरिकाले नै पहल गर्नु पर्छ । अमेरिकाले नै संसारको कुनै पनि ठाउँको युद्धरत अवस्थालाई अन्त्य गराउन सक्छ । आफैँ अगाडि बढेर युद्ध समाप्त गर्न र युद्ध हुनै नपर्ने स्थिति सिर्जना गर्न पनि अमेरिकाले मात्र सक्छ । संसारका अरू महाशक्ति अमेरिकाको सहयोगी हुन बाध्य हुने छन् । यस किसिमको क्रियाकलापले नै अमेरिकालाई संसारभरिका जनताको हृदयमा स्थापित हुन सक्ने छ । अब अमेरिकालगायत सबैले संसारको कुनै पनि ठाउँमा युद्ध भड्कन नदिने पक्षमा प्रयत्न गर्नु पर्छ । संसार नै समाप्त गर्न सक्ने हतियारधारीले बुझ्नु पर्छ अब फेरि विश्वयुद्ध भयो भने कोही बाँच्ने छैनन्, कोही रहने छैनन्, सम्पूर्ण पृथ्वी करोडौँ वर्षसम्म मरभूमि हुने छ । शान्ति कायम गर्ने कामबाट नै अमेरिकाले संसारको नेतृत्व गर्नु पर्छ र गर्र्न पनि सक्छ । आज संसारभरिका मानिसको बोलीमा युद्ध होइन शान्ति, शान्ति, शान्ति, शान्ति, शान्ति मात्र घन्कनु पर्छ, घन्काउनु पर्छ, र संसारलाई युद्ध होइन शान्ति चाहिएको छ ।