• १४ असार २०८१, शुक्रबार

स्वास्थ्य संस्थामा ‘पोषण कर्नर’ सञ्चालन

blog

फाइल तस्बिर

टीकापुर (कैलाली), असार ७ गते । टीकापुर नगरपालिकाका सात स्वास्थ्य संस्थामा ‘पोषण कर्नर’ सञ्चालनमा आएको छ । सेवाग्राहीलाई स्वस्थ र निरोगी रहन पोषणयुक्त खानपान र सक्रिय जीवनशैली, सन्तुलित आहार, जीवन चक्रका विभिन्न अवस्थामा पोषणको आवश्यकतालगायत विषयमा जानकारी दिन ‘पोषण कर्नर’ सञ्चालन गरिएको नगरपालिकाले जनाएको हो ।

मानिसले स्वस्थ जीवनयापन गर्न पोषणयुक्त खानपान र सक्रिय जीवनशैली अपनाउनुपर्ने भएकाले पोषणयुक्त खानपानमा लगानी बढाउनुपर्ने सरोकार भएका बताउँछन् । नगरभित्रका सात स्वास्थ्य संस्थामा ‘पोषण कर्नर’ सञ्चालनमा छ भने चार स्वास्थ्य संस्थामा आगामी आर्थिक वर्षमा सञ्चालन गरिने नगर कार्यालयले जनाएको छ । मानिस निरोगी रहन र सिर्जनात्मक काम गर्न शारीरिक तथा बौद्धिक क्षमता राम्रो हुनुपर्ने चिकित्सक बताउँछन् । 

पोषणमा लगानी वृद्धिसँगै पोषणको महत्वबारे आमनागरिकलाई सिकाउन स्वास्थ्य संस्थामा मात्रै नभइ अन्य कार्यालयमा पोषण कर्नर राख्नुपर्ने कैलालीका सुमन खड्काले बताउनुभयो । स्वास्थ्य संस्थाबाहेक जिल्लाका अन्य सार्वजनिक निकायमा पनि यो कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी हुने उहाँको भनाइ छ । टीकापुरस्थित आँखा उपचार केन्द्रमा सेवा लिन आउनुभएका खड्काले पोषण कर्नरबाट नागरिकलाई पोषणबारे ज्ञान सिकाइने हुँदा जानकारीको अभावमा सन्तुलित खानपानबाट वञ्चित भएकाहरु लाभान्वित हुने बताउनुभयो । 

स्थानीयस्तरमा पाइने सागपात, फलफूल, गेडागुडीको प्रयोग गरेर पोषणयुक्त खानेकुरा कसरी खान सकिन्छ भन्ने सिकाइ हुने भएकाले यो कार्यक्रम सबै कार्यालयमा सञ्चालन हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “मैले पोषण कर्नरबाट आफ्नै बारीमा पाइने खानेकुराको महत्व थाहा पाए”, उहाँले भन्नुभयो, “चित्रमा देखेका कुरा छिटो याद आउने र प्रभावकारी पनि हुने रहेछ”, खड्काले भन्नुभयो । सेवाग्राहीलाई पोषणको महत्वबारे सिकाउने पोषण कर्नर हरेक कार्यालयमा राख्नुपर्ने कार्यालयको दायित्वभित्र पर्ने उहाँको भनाइ छ ।

खाना र पोषणसँग सम्बन्धित धेरैजसो समस्या अपर्याप्त, असन्तुलित वा चाहिनेभन्दा धेरै वा कम खाना वा पौष्टिक पदार्थ उपभोगका कारणले हुने गर्दछ । अस्वस्थ खानपानको व्यवहारले विभिन्न रोग लाग्ने मात्र नभई अकालमै मृत्युको जोखिम पनि हुन्छ । यस्तो जोखिम हटाउन पोषण कर्नरको अवधारण लागु गरिएको नगर कार्यालयले जनाएको छ । टीकापुर–३ का राजेन्द्र विश्वकर्मा मानिसले सिकाएको ज्ञानभन्दा चित्रमा देखेको कुरा बढी याद हुने भएकाले स्वास्थ्य संस्थामा मात्र नभई नागरिकले सेवा लिने हरेक कार्यालय, सङ्घसंस्था वा सार्वजनिक स्थानमा पोषण कर्नर राख्नुपर्ने सुझाव दिनुभयो । 

“स्वास्थ्य संस्था मात्र होइन पोषण कर्नर हरेक कार्यालयमा राखिनुपर्छ”, उहाँले भन्नुभयो, “स्वस्थ जीवनशैलीका लागि मानिसलाई खानपानबारे सिकाउन आवश्यक छ ।” खानामा आवश्यक पौष्टिक तत्वबारे विद्यार्थीलाई सिकाएमा घरपरिवारसचेत हुने भएकाले विद्यालयमा पोषण कर्नर अनिवार्य राख्नुपर्ने विश्वकर्माले बताउनुभयो । “यहाँका विद्यालयमा पोषण कर्नर राखेको देखिँदैन । आउँदा दिनमा सबै विद्यालयमा पोषण कर्नरको व्यवस्था हुनुपर्छ”, शिक्षिका शान्ति नेपालीले भन्नुभयो । 

विद्यालयमा धेरै बालबालिका हुने भएकाले पालिकाले सबै विद्यालयमा पोषण कर्नर राख्नुपर्ने भन्दै चित्र कोरेर वा प्रिन्ट गरेको कर्नर मात्र भए राख्न उहाँले सुझाव दिनुभयो । टीकापुर-५ मा रहेको सहरी स्वास्थ्य केन्द्रमा पोषण कर्नर राखिएको छ भने वडा कार्यालयमा छैन । वडाध्यक्ष बलवीर थारुले पोषणका बारेमा सर्वसाधारणलाई जानकारी दिन पोषण कर्नर आवश्यक रहेको बताउनुभयो । “अहिले सात वटा वडामा सञ्चालन गरेका छौँ । आगामी वर्ष बाँकी वडामा पनि राख्नेछौँ”, उहाँले भन्नुभयो, “मानिसको स्वास्थ्य प्रमुख प्राथमिकतामा पर्ने भएकाले यसबारे सबैलाईसचेत गराउन जरुरी छ ।”

पोषण कर्नरमा सागसब्जी, नुन, गेडागुडी, माछामासु, दाल, अन्न, कन्दमूल, तरकारीलगायत वस्तु र ती वस्तुको महत्वका बारेमा जानकारी राखिएका वडाध्यक्ष थारुले जानकारी दिनुभयो । कर्नरले मानिसलाई स्वस्थ्य रहन खानपानमा ध्यान दिनुपर्छ भन्ने सकारात्मक सन्देश प्रवाह भइरहेको उहाँको भनाइ छ । “हामीले नभएका ठाउँमा पोषण कर्नरका लागि बजेट सुनिश्चित गरेका छौँ”, वडाध्यक्ष थारुले भन्नुभयो, “वडादेखि अन्य कार्यालयमा पनि राख्न सके प्रभावकारी नजिता आउने थियो । जनप्रतिनिधिले भौतिक पूर्वाधारलाई बढी महत्व दिएकाले पोषणमा कम लगानी भएको छ, यसमा सुधार हुनुपर्छ ।”

पोषण कर्नरले स्वस्थ्य रहन खानपान र सक्रय जीवनशैलीमा विशेष ध्यान दिनुपर्ने विषयमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास जनप्रतिनिधि र कर्मचारीले लिएका छन् । कार्यपालिका सदस्य दीपक निसानीले स्वास्थ्य कार्यालयमा मात्र नभई सेवाग्राही आउजाउ गर्ने पालिकाको स्वामित्वमा रहेका सबै कार्यालयमा पोषण कर्नर राख्न पहल थालिएको बताउनुभयो । “आगामी वर्षको बजेटमा पोषणलाई प्राथमिकता दिनेछौँ”, उहाँले भन्नुभयो, “पोषण कर्नर सबै स्वास्थ्य संस्था र वडा कार्यालयमा राख्नेछौँ ।”

खानपानको असन्तुलनले बालबालिका, किशोरकिशोरी, गर्भवती महिला, सुत्केरीलगायतलाई कुपोषणको समस्या हुनुका साथै मुटुसम्बन्धी, मधुमेह, क्यान्सरलगायत रोगको पनि जोखिम रहने चिकित्सक बताउँछन् । सन्तुलित आहार, जीवनचक्रका विभिन्न अवस्थामा पोषणको आवश्यकता, विभिन्न खाद्य वस्तुमा उपलब्ध हुने पोषक तत्व र तिनको महत्व, खानपानसँग सम्बन्धित असल अभ्यासबारे अवलोकन गराउँदै परामर्श दिन पोषण कर्नर स्थापना गरी प्रभावकारी सञ्चालनमा ध्यान दिनुपर्ने सरोकार भएकाको सुझाव छ । रासस