• १२ असोज २०८१, शनिबार

मालिकालाई बालमैत्री घोषणा गरिदै

blog

रमेश विश्वकर्मा

गुल्मी, असार ७ गते । गुल्मीको मालिका गाउँपालिकाले बालमैत्री स्थानीय तह घोषणा गर्ने नीति ल्याएको छ । बिहीबार मालिका गाउँपालिकाको गाउँसभाको १६ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष देविराम अर्यालले १९४ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै आगामी तीन वर्ष भित्रमा बालमैत्री स्थानीय तह घोषणा गरिने बताउनुभयो ।

उहाँले बालअधिकारको सुनिश्चितताका लागि बालमैत्री स्थानीय शासन विकास र प्रवर्धन गर्न आवश्यक प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरी आगामी तीन वर्ष भित्रमा मालिका गाउँपालिकालाई बालमैत्री स्थानीय तह घोषणा गरिने बताउनुभयो । बालबालिकाहरुको हकहित संरक्षण गर्दै विविध गतिविधिमा अर्थपूर्ण सहभागिता सुनिश्चित गरिने नीति ल्याइएको बताउनुभयो ।

पूर्वाधार निर्माणसम्बन्धि काम गर्दा बालमैत्री तथा अपाङ्गमैत्री हुनेगरी निर्माण गरिने उल्लेख छ । समुदाय तथा विद्यालय तहमा रहेका बाल क्लबको सशक्तीकरण गरी स्थानीय बाल सञ्जाल गठन गरिने भन्दै गाउँपालिकाका हरेक युवाहरुलाई सकारात्मक सोचका साथ युवा प्रोत्साहन तथा मनोपरामर्शका कार्यक्रम अगाडि सारिएको उहाँले बताउनुभयो ।

लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण मूलप्रवाहीकरण कार्यक्रम सञ्चालन गरिने भन्दै उहाँले पिछडिएका विपन्न एवम् गृहणी महिलाको आर्थिक सशक्तीकरणका लागि जीविकोपार्जन उद्यमशीलता प्रोत्साहन कार्यक्रम गरिने नीति रहेको बताउनुभयो । अनाथ, असहाय, अपाङ्गता भएका टुहुरा, अशक्त तथा आफ्नो जीवनयापन आफै धान्न नसक्ने वर्गका लागि गाउँपालिकाको समन्वयमा गैर सरकारी संस्थासँग सहयोगका कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ छ । 

स्थानीय तहको सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ, प्रतिस्पर्धी, समावेशी र जनउत्तरदायी, नतिजामूखी बनाउने नीति ल्याइएको उहाँले बताउनुभयो । यहाँका सबै वडाबाट प्रवाह गरिने सेवा प्रवाहलाई विद्युतीय प्रणालीमार्फत सञ्चालन गरिने नीति ल्याइएको भन्दै गाउँपालिका अध्यक्ष अर्यालले जनप्रतिनिधि तथा कर्मचारीहरुको आचारसंहिता तयार गरिने बताउनुभयो ।