• १४ असार २०८१, शुक्रबार

अतिक्रमित डेढ सय बिघा जग्गा खाली गरायौँ

blog

नवराजपुर गाउँपालिका सिराहाको पूर्वी भेगमा हुलाकी लोकमार्गसँग जोडिएको छ । कुल ३२.१८ वर्गकिलोमिटरमा फैलिएको यो गाउँपालिकाको पूर्वमा भगवानपुर, उत्तरमा सखुवानानकरपट्टी, पश्चिममा बरियारपट्टी र लक्ष्मीपुर गाउँपालिका पर्छन् । दक्षिणमा भारतको सिमानासँग जोडिएको यो गाउँपालिका साबिक भगवतीपुर, तामसुइया, मझौरा फुलवरिया गाविस मिलाएर बनेको हो । विभिन्न जातजाति र किसानको बाहुल्य रहेको यस गाउँपालिकामा पहिलो पटक जनता समाजवादी पार्टी नेपालबाट अध्यक्षमा शिवउद्गार यादव निर्वाचित हुनुभएको छ । गाउँपालिका अध्यक्ष यादवसँग गोरखापत्रका लहान समाचारदाता जीवछ यादवले गर्नुभएको कुराकानी :  

पहिलो पटक गाउँपालिका अध्यक्षमा निर्वाचित भएर दुई वर्षको कार्यकाल बिताइसक्दा कस्तो अनुभव गरिरहनुभएको छ ? 

जनताको सेवा गर्नेका लागि चुनावमा जित हारले त्यति धेरै फरक पर्दैन । पहिलो निर्वाचनमा हार बेहोरे पनि जनताको माझमा रहेर जनपक्षीय कामका लागि आवाज उठाइरहेँ । २०७९ सालको निर्वाचनमा सम्मानजनक मतबाट निर्वाचित भएपछि मतदातासँग गरेका वाचा आफ्नो टेबलमा राखेर काम अगाडि बढाइरहेका छौँ । दुई वर्षको कार्यकालमा गरेको कामबाट जनस्तरबाट धन्यवाद पाइरहँदा आत्मसन्तुष्टि मिलिरहेको छ । अझ धेरै गर्नु छ ।

तपाईंले ऐलानी जग्गा छुट्याउने क्रममा निकै चुनौती सामना गर्नु परेको थियो । चुनौतीलाई कसरी चिर्नुभयो ?

तीन सय बिघा ऐलानी जग्गा अतिक्रमित भएको यस पालिकाका पाँचवटै वडामा अहिलेसम्म डेढ सय बिघा जति जग्गा छुट्याउन सफल भयौँ । सात  अमिन खटाएर जनशक्ति थपी अगाडि बढ्दा थुप्रै चुनौती आए । अदालती झमेला झेल्नु प¥यो । आफ्नै घरको घेराबार भत्काएर सुरु गर्दा विकासप्रेमी विपक्षीबाट राम्रै साथ पाएँ । अतिक्रमित जग्गा छुट्याउने क्रममा जनताको साथ र उत्साहले हिम्मत बढिरह्यो । सहमति र सहकार्यको माहोलका लागि समेत स्थानीय बुद्धिजीवीसँग सहयोग लिएर अगाडि बढिरह्यौँ र सफलतातर्फ उन्मुख छौँ ।

कृषकको बाहुल्य रहेको यस पालिकाका किसानका लागि सिँचाइ, बिउबिजन र मलखादको समस्या कसरी समाधान गरिरहनुभएको छ ? 

म आफैँ सामान्य किसान परिवारबाट राजनीतिमा प्रवेश गरेकाले किसानको समस्या समाधान गर्न प्रयत्नशील रहेँ । पाँच वटा वडामा छ वटा ठुलो ‘स्टेट बोरिङ’ जडान गर्नुका साथै मोटर जडानको कार्यलाई अहिलेसम्म निरन्तरता दिइरहेका छौँ । मधेश सरकारको पहलमा सखुवानानकरपट्टी–२ को कटनियामा निर्माण भइरहेको ‘हेडवक्र्स’ का लागि पहल थालेँ । अहिले निर्माण कार्य द्रुत गतिमा अगाडि बढिरहेको छ । यस सिँचाइ योजनाबाट सखुवानानकरपट्टी–२ र नवरापुर गाउँपालिकाका लागि नै फलदायी हुने छ । बिउबिजनमा अनुदान र विद्युत् महसुल गाउँपालिकाबाट तिर्ने कार्य गरेर किसानको हकहितमा सन्तोषजनक कार्य नै भएको छ । बजेट निर्माण गर्दा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र सामाजिक न्यायको क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । मलखादको व्यवस्थापन राष्ट्रिय समस्याका रूपमा देखिएकाले सक्रियतापूर्वक पहल थालेका छौँ । प्राङ्गारिक मल बनाउने विधि र यसको फाइदाबारे कृषि शाखाबाट किसानलाई तालिम दिइने कार्य भएको छ । पकेट क्षेत्र घोषणा गरेर कृषिलाई आधुनिकीकरण गर्नेतर्फ गाउँपालिकाको ध्यान गएको छ । 

सार्वजनिक पोखरीको ठेक्का टेन्डर गर्दा निकै विवाद भयो । यो विवाद कसरी समाधान गरिरहनुभएको छ ? 

गाउँपालिकाको अतिक्रमित ऐलानी जग्गा जस्तै सार्वजनिक पोखरीको टेन्डर लगाउनु चुनौती थियो । यस पालिकामा ७१ वटा सार्वजनिक पोखरी टेन्डर लगाउँदा ठुलो विवाद भयो । केही व्यक्तिले सार्वजनिक पोखरीलाई आफ्नो पोखरी ठानेर खाइरहेका थिए । अहिले केही पोखरीबाहेक सबैलाई टेन्डर प्रक्रियामा लग्ने काम भएको छ । टेन्डर लगाउँदा अदालती झमेला खेप्नु प¥यो । न्यायिक लडाइँ र विकासको काम अघि बढाउँदै जाँदा सफलतातर्फ उन्मुख हुँदा खुसी लागेको छ । 

पक्की सडक निर्माण कसरी अगाडि बढिरहेको छ ? 

म निर्वाचित भएपछि १० किलोमिटर पक्की सडक र १२ किलोमिटर कृषि सडक निर्माण भएको छ । आफ्नो कार्यकालमा बाँकी रहेको सडक निर्माणको कार्य पूरा गरिने छ । 

गाउँपालिकामा अपारदर्शिताका कारण अनियमितता र भ्रष्टाचार बढिरहेको सुनियो नि ? 

गाउँपालिकामा हरेक क्षेत्रको बजेट अनलाइनमार्फत सार्वजनिक भइरहेको छ । भ्रष्टाचार र अनियमितताको विरोधकै कारण राजनीतिमा सफलता पाएकाले भ्रष्टाचारको कुनै पनि गतिविधि नगर्न सबै विभागका कर्मचारीलाई अभिमुखीकरण गरेर सचेत गराउन आफैँ सक्रिय रहेको छु । मभन्दा अगाडिका गाउँपालिका अध्यक्ष, वडाध्यक्षबाट भइरहेको अनियमितताका फाइल छानबिनका लागि सम्बन्धित निकायमा पठाएको छु । 

शिक्षा र स्वास्थ्य क्षेत्रमा के के काम भइरहेका छन्  ? 

म निर्वाचित भएपछि अहिलेसम्म १२ पटक गाउँपालिकास्तरका बृहत् बैठक गरेर त्यसमा आएका सल्लाह सुझाव अनुसार भौतिक पूर्वाधारको व्यवस्थापन र शैक्षिक सुधारका लागि अनुगमन कार्यलाई निरन्तरता दिइरहेका छौँ ।

यस पालिकामा रहेका दुई माध्यमिक विद्यालय र १८ वटा आधारभूत विद्यालयको भौतिक निर्माण र शिक्षण कार्यलाई प्रभावकारी बनाउन गाउँपालिकाबाट समेत शिक्षक भर्ना गरेका छौँ । गाउँपालिकामा पाँच हजार विद्यार्थी देखाइएको थियो । अनुगमनका क्रममा एउटै विद्यार्थीको नाम चार चार ठाउँमा फेला प¥यो । यस्ता फर्जी विद्यार्थीको सेवा सुविधा रोकेर विद्यार्थी सङ्ख्या यकिन गरेर मात्र खाजा कार्यक्रम र शिक्षक शिक्षिकाको मनोबल उच्च बनाउन थप सेवासुविधा दिइने कामको थालनी भएको छ । अस्पतालमा ८८ लाख रुपियाँ लगानी गरेर एमबिबिएस चिकित्सक राखी उपचार र औषधी वितरण कार्य प्रभावकारी बनाएका छौँ । किसान र निम्न वर्गका मजदुरलाई स्वास्थ्य सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध छ । 

सामाजिक न्यायको क्षेत्रमा भएका कामको प्रभावकारिता कस्तो छ ? 

भौतिक विकास मात्रै विकास होइन, सामाजिक न्याय पनि त्यत्तिकै आवश्यक रहेको महसुस गरी न्यायिक समितिले प्रभावकारी काम गरेको छ । २०७९/८० मा १९० निवेदन परेकामा १६५ वटा फस्र्योट र २०८०/८१ मा १२४ मध्ये ७५ वटा निवेदनको फैसला गरिएको छ ।