• १२ साउन २०८१, शनिबार

विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली टोली

blog

स्वदेश फर्किए आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली ।

काठमाडौँ, असार ६ गते । आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएका छन् । अमेरिका र वेस्टइण्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले चार खेल खेलेकोमा तीनमा हार तथा एक खेल बराबरी खेलेको थियो । नेपाली टोलीलाई क्यानका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

विश्वकप क्रिकेटमा नेपाल समूह डी मा परेको थियो । नेपालको समूहमा दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का र नेदरल्यान्ड्स रहेका थिए । नेपालले अमेरिकामा दुई खेल र वेस्टइण्डिजमा समान दुई खेल खेलको थियो । अमेरिकामा भएको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको थियो ।

त्यस्तै, श्रीलङ्काविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्ध भएसँगै दुवै टोलीले समान एक/एक अङ्क बाँडेका थिए ।त्यसपछि वेस्टइण्डिजमा भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल एक रनको झिनो अन्तरले पराजित भएको थियो । त्यस्तै समूह चरणको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग २१ रनले पराजित भएसँगै नेपालको विश्वकप यात्रा समाप्त भएको थियो ।

विश्वकपमा नेपालसँगै श्रीलङ्का र नेदरल्यान्डस् प्रतियोगिताबाट बाहिरिएका थिए । त्यस्तै  दक्षिण अफ्रिका  र बङ्गलादेश भने सुपर आठमा पुगे । दक्षिण अफ्रिका समूह डी को शीर्ष र बङ्गलादेश दोस्रो स्थानमा रहँदै सुपर आठमा पुगेका हुन । रासस