• १२ असार २०८१, बुधबार

ज्येष्ठ नागरिकका लागि सङ्घ स्थापना

blog

बिन्दु थापा 

पाल्पा, असार ३ गते । ज्येष्ठ नागरिकको सामाजिक, आर्थिक र स्वास्थ्य सुरक्षा लगायत राज्यबाट प्राप्त हुने सेवा सुविधा व्यवस्थापनका लागि ज्येष्ठ नागरिक सङ्घ गठन गरिएको छ ।

केही ज्येष्ठ नागरिकहरू सेवाबाट वञ्चित हुनु परेकाले समस्या समाधान गर्न तानसेन नगरपालिका –४ मा ज्येष्ठ नागरिक सङ्घको स्थापना भएको हो । ज्येष्ठ नागरिकहरू अन्य समूहको तुलनामा पीडित र दयनीय अवस्थाबाट गुज्रिरहेकाले आफ्नो हकहित र संरक्षणका लागि सङ्घको गठन गरिएको तानसेन नगरपालिका वडा ४ का अध्यक्ष हेमन्तराज शाक्यले बताउनुभयो । 

ज्येष्ठ नागरिकको बहुमूल्य ज्ञान, सिप र अनुभवलाई समग्र समाज र राष्ट्रको हितमा समुचित ढङ्गले परिचालन गर्न सन्तान सँगै राखेर अभिभावकलाई कसरी संरक्षण र रेखदेख गर्ने भन्ने बारेमा  प्रशिक्षण दिनुपर्ने ज्येष्ठ नागरिक सङ्घ पाल्पाका निवर्तमान अध्यक्ष देवराज ढकालले बताउनुभयो । 

सचेतीकरण, संवाद र सहकार्यमार्फत अन्तरपुस्ताबिचको दूरी कम गरी ज्येष्ठ नागरिकलाई आफ्नो परिवारमा खुसीपूर्वक बस्ने वातावरण सिर्जना गर्नु प्रत्येक छोराछोरीको कर्तव्य भएकाले स्थानीय सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । 

वडा ४ को आयोजनामा भएको भेलाबाट लक्ष्मण पछाईको अध्यक्षतामा ११ सदस्यीय ज्येष्ठ नागरिक सङ्घ गठन गरिएको छ । जसको उपाध्यक्ष मिना हेम्चुरी, सचिव मन हेम्चुरी, कोषाध्यक्ष देवराज श्रेष्ठ, सदस्यमा तारा अधिकारी, चेतबहादुर थापा, दिलुमाया सुवाल, माधव राना, गङ्गादेवी बस्नेत, नारायणबहादुर खत्री निर्विरोध चयन हुनुभयो ।