• १२ असार २०८१, बुधबार

सामुदायिक वन जोगाउन स्थलगत अभ्यास

blog

बर्दीबास ३ चुरे क्षेत्रमा पर्ने पर्साइधापस्थित अर्ने भुल्के सामुदायिक वनमा वन संरक्षणबारे स्थलगत अभ्यास गर्दै विभिन्न सामुदायिक वन समितिका सहभागीहरु । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, असार ३ गते । सामुदायिक वनलाई संरक्षण सम्वद्र्धन गर्दै आयमूलक र उत्पादनशील बनाउन डिभिजन वन कार्यालय महोत्तरीले दीगो वन व्यवस्थापनका लागि स्थलगत अभियान सुरु गरेको छ । कार्यालयले सामुदायिक वनलाई सदुपयोग गर्दै आर्थिक रुपमा सवल र सक्षम बनाउन यसका समितिलाई वन क्षेत्रमै पुगेर पहिलोपटक सैधान्तिक कक्षा र प्रयोगात्मक अभ्यास गराएको हो ।

बर्दीबास ३ स्थित सुदूर उत्तरी क्षेत्रमा पर्ने अर्ने भुल्के सामुदायिक वन पर्साईधापमा सोमवारदेखि सुरु गरिएको कार्यक्रममा कारे भोगटे, रातु महिला, दही खोल्सी, काली दमार, मर्का उर्रा लगायतका सामुदायिक वनका पदाधिकारीको सहभागितामा वन संरक्षण र सदुपयोगबारे सैद्धान्तिक र प्रयोगात्म अभ्याश गराइएको छ । पर्यावरणीय दृष्टिले अत्यन्तै सम्वेदनशील मानिने चुरे क्षेत्रमा डढेलो नियन्त्रण, वन्यजन्तु संरक्षण, झाडी सफाई, अग्नी रेखा (फायर लाईन) जस्ता विविध पक्षबारे सैद्धान्तिक सिकाई र फिल्ड अभ्यास गराइएकाले कार्यक्रम शिक्षाप्रद एवं उपलब्धीमूलक रहेको सहभागीहरुले जनाउनुभयो । 

सहभागी सामुदायिक वनका अध्यक्षहरु मैते मुक्तान, रमेश खत्री, मुना श्रेष्ठ र मिना भण्डारीले यो कार्यक्रमबाट पढने, सिकने र गर्ने तीनै वटा विधाको एकैसाथ अभ्यास गर्न पाएकोले नौलो अनुभूति भएको बताउनुभयो । सरकारी कार्यक्रम भनेपछि भत्ता, भोजन र भजनमुखि हुने बुझाइ छ । यसको विपरित वन संरक्षण सम्वद्र्धन गर्न पहिलोपटक ज्ञान र अभ्यास एकसाथ गराईएकोले यो अनुकरणीय र उपलब्धीपूर्ण भएको उहाँहरुको भनाइ छ । 

"यसलाई अभियानको रुपमा निरन्तरता दिन हाम्रो प्रयास रहने छ," सामुदायीक वनका अध्यक्षहरुले भन्नुभयो । डिभिजन वन कार्यालय प्रमुख सन्तोष झाका अनुसार वन क्षेत्रका ढुङ्गा माटोदेखि रुखविरुवा, जडिवुटी, वन्यजन्तु र चराचुरुङ्गीको संरक्षण र सम्वद्र्धन पनि सामुदायिक वनको दायित्वभित्र पर्छ । 

प्रचलित वन ऐन र नियम कानुनको दायरामा रहि सामुदायिक वन उपभोक्ता समितिले आफनो कार्ययोजनाको आधारमा वन संरक्षण सम्वद्र्धन गर्न सहयोग मिलोस भनि दीगो वन व्यवस्थापनका लागि पहिलेपटक स्थलगत अभ्यास गराइएको हो । "स्थलगत अभ्यासले सामुदायिक वनलाई आर्थिक रुपमा सक्षम र आत्मनिर्भर वनाउन पनि सहयोग पुग्ने छ," डिएफओ झाले भन्नुभयो ।

कार्यालयका रेन्जर क्षितिज पौडेलले सहजीकरण गर्नु भएको कार्यक्रममा वन विज्ञ विजय ठाकुरले दीगो वनन व्यवस्थापनको प्राविधिक पक्षबारे प्रशिक्षण दिनुभएको थियो ।