• ९ मंसिर २०८१, आइतबार

अमेरिकी पत्रकार गेर्शकोभिचविरूद्ध जुन २६ मा सुनुवाइ सुरू गरिने

blog

मस्को, असार ३ गते । अमेरिकी पत्रकार इभान गेर्शकोभिचविरूद्ध रूसमा जासुसीको आरोपमा जुन २६ देखि सुनुवाइ सुरु हुने युराल्स शहरस्थित येकातेरिनबर्गको एक अदालतले सोमबार जनाएको छ ।

सुनुवाइ ‘पहिलो सुनुवाइ’ सन् २०२४ को जुन २६ का लागि तय गरिएको सेभर्ड्लोभ्स्क क्षेत्रीय अदालतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘वाल स्ट्रिट जर्नल’का रिपोर्टरलाई मार्च २०२३ मा येकातेरिनबर्गमा रिपोर्टिङ लागि रूसमा रहेका समय गिरफ्तार गरिएको थियो र त्यसपछि उनलाई मस्कोको लेफोर्टोभो जेलमा राखिएको थियो ।

गत साता रूसी महान्यायाधिवक्ताले उनीमाथि सिआइएका लागि काम गरेको र सेभर्ड्लोभ्स्क क्षेत्रमा ट्याङ्क निर्माता युराल्भागोन्जाभोडको बारेमा गोप्य सूचना सङ्कलन गरेको आरोप लगाएका थिए ।

संयुक्त राज्य अमेरिकाले आरोपहरूको ‘शून्य विश्वसनीयता’ भएको बताएको छ ।  वाल स्ट्रिट जर्नलले रूसको घोषणालाई ‘अपमानजनक’ भन्दै आलोचना गरेको छ ।

जर्नलकी मुख्य सम्पादक एम्मा टकर र उच्च अधिकारीहरूले एक विज्ञप्तिमा भनेका छन्, “इभान गेर्शकोभिचले झुटो र आधारहीन आरोपको सामना गर्नुपरेको छ । रूसको पछिल्लो कदम रूस अमेरिकाबीचको प्रतिद्वन्द्विताका कारण अपेक्षित भए पनि निकै निराशाजनक  र अपमानजनक छ ।”

मस्कोले यसअघि गेर्शकोभिचविरुद्धको मुद्दाको कुनै पनि सार्वजनिक विवरण उपलब्ध गराएको थिएन र उनी ‘रङ्गेहात पक्राउ परेको’ बताएको थियो ।

गेर्शकोभिच सोभियत कालपछि रुसमा जासुसी गरेको आरोपमा पक्राउ पर्ने पहिलो पश्चिमा पत्रकार बनेका छन् । दोषी ठहरिएमा ३२ वर्षीय गेर्शकोभिचलाई २० वर्षको जेल सजाय हुनसक्छ । रासस/एएफपी