• १० असार २०८१, सोमबार

पुरन्धारा झरना जोड्ने सडक कालोपत्रे हुँदै

blog

बबई गाउँपालिका–५ गँगटेदेखि पर्यटकीय केन्द्र पुरन्धारा झरना जोड्ने सडक कालोपत्रे गरिँदै ।

लीलाधर वली

घोराही, असार २ गते । दाङको पर्यटकीयस्थल पुरन्धारा झरना जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । बबई गाउँपालिका –५ को गँगटेदेखि पर्यटकीय केन्द्र पुरन्धारा झरनासम्म जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएको बबई गाउँपालिका पूर्वाधार शाखाका इन्जिनियर राजेश देवकोटाले जानकारी दिनुभयो ।  

पर्यटकीयस्थल पुरन्धारा झरनासम्म पुग्ने सडक कालोपत्रे गर्दै नागरिकलाई सहज रूपमा आउने–जाने वातावरण बनाउन सङ्घीय सरकारको समपूरक बजेटअन्तर्गत करिब ६५ लाख ६५ हजार एकसय ८५ रुपियाँको लागत सहभागितामा सडक कालोपत्रेको काम भइरहेको इन्जिनियर देवकोटाले जानकारी दिनुभयो । 

करिब नौ सय मिटर सडक कालोपत्रेको काम नबिना कन्स्ट्रक्सने  गर्दै आएको छ । चालु आर्थिक वर्षभित्र सडक विस्तारसँगै कालोपत्रे गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको भन्दै इन्जिनियर देवकोटाले भन्नुभयो, ‘अहिले निर्माण कम्पनीले सडक विस्तारको काम सकेर कालोपत्रे गर्ने काम गरिरहेको छ ।’ 

सडक कालोपत्रे नहुँदा बर्षातको समयमा झरनासम्म पुग्न समस्या हुनेगरेको थियो । पानी पर्दा हिलाम्मे र घाम लागे धुलाम्मे हुने भएका कारण पर्यटकीयस्थल झरना पुग्न समस्या हुने गरेपछि सङ्घीय सरकार र स्थानीय सरकारको ५०–५० प्रतिशत सहभागितामा सडक कालोपत्रे गर्ने काम भइरहेको बताउनुभयो । 

सडक कालोपत्रे गर्ने काम सकिएपछि स्थानीयलाई हिँडडुलसँगै झरनासम्म पिकनिक खान, घुम्न आउनेलाई सहज हुने गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीको भनाइ छ । गाउँपालिका अध्यक्ष खत्रीले भन्नुभयो, ‘जिल्लामा प्रसिद्ध झरनाका रूपमा परिचित रहे पनि सडकका आउन जान समस्या हुने गरेको थियो । सडक कालोपत्रे भएपछि सहजता हुने छ ।’