• ९ असार २०८१, आइतबार

‘खाद्यपूरक सामग्री बिक्री गर्न मिल्दैन’

blog

काठमाडौँ, असार २ गते । नेपाल फर्मास्युटिकल्स एसोसिएसनले फार्मेसीबाट खाद्यपूरक सामग्री (न्युट्रास्युटिकल्स) बिक्री गर्न नमिल्ने बताएको छ । न्युट्रास्युटिकल्स औषधी नभएकाले एसोसिएसन अन्तर्गतका सदस्यले उक्त वस्तु आफ्नो फार्मेसीबाट बिक्री वितरण नगर्न आग्रह गरेको छ । 

एसोसिएसनका अध्यक्ष ललितमोहन पन्तले न्युट्रास्युटिकल्स औषधी नभएकाले उपभोक्तालाई भ्रममा पारेर औषधी हो भन्दै बिक्री वितरण भइरहेको बताउनुभयो । उहाँले औषधी जस्तो क्लिनिकल परीक्षण नगरिने हुनाले न्युट्रास्युटिकलको सेवनपछि त्यसले शरीरका कुन अङ्गमा र कति मात्रामा काम गर्ने हो भन्ने विषयमा केही ज्ञान नहुने र सोको दीर्घकालीन असरबारे थाहा हुन नसक्ने बताउनुभयो । 

एसोसिएसनका महासचिव सञ्जीव शर्मा कट्टेलले स्वास्थ्यमा कुनै पनि प्रविधि, विधि उपयोग गर्न वैज्ञानिक प्रमाणमा आधारित अभ्यास हुन जरुरी भए पनि न्युट्रास्युटिकल्सको वैज्ञानिक प्रमाण नभएको बताउनुभयो । 

उहाँले औषधीको हकमा वैज्ञानिक आयोगले तयार गरेको परीक्षण विधिको ग्रन्थ अनुसार परीक्षण गर्न सकिने तर न्युट्रास्युटिकलको वैज्ञानिक रूपले विश्वसनीय परीक्षण विधि नभएकाले पनि फार्मेसीबाट बेच्न नहुने बताउनुभयो ।