• ८ असार २०८१, शनिबार

‘दक्ष जनशक्ति उत्पादनमा ध्यान दिउँ’

blog

कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादव (अगाडि बिचमा) लोक सेवा आयोगको ७४ औँ वार्षिकोत्सव समारोहमा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी (बायाँबाट तेस्रो) लगायत अन्य पदाधिकारी तथा अतिथिका साथ । तस्बिर : सागर बस्नेत

काठमाडौँ, असार २ गते । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले समय र प्रविधिको विकाससँगै थपिएका चुनौतीको सामना गर्न सक्ने जनशक्ति उत्पादन गर्नेतर्फ ध्यान दिन लोक सेवा आयोगलाई अनुरोध गर्नुभएको छ । 

आयोगको ७४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै यादवले सक्षम र उत्कृष्ट जनशक्तिलाई सरकारी सेवामा प्रवेश गराउनु आजको आवश्यकता भएको बताउनुभयो । “सबै खालका परिवर्तनलाई कुशल व्यवस्थापन गर्न सक्ने कर्मचारीको छनोटमा आयोगले विशेष ध्यान दिनु पर्छ,” यावदले भन्नुभयो, “आयोगले सदैव वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताको आशाको केन्द्रका रूपमा आफ्नो दायित्व र जिम्मेवारी निर्वाह गर्नु पर्छ ।”

आयोगले योग्यता, निष्पक्षता, स्वच्छता, समान अवसर, समावेशिता, परिचय शून्यता, असंलग्नता तथा गोपनीयताको सिद्धान्त अनुसार कार्यसम्पादन गर्दै आएकोतर्फ प्रशंसा गर्दै यादवले भन्नुभयो, “यी सिद्धान्तले आयोगको कामप्रतिको जनविश्वास पनि बढाएको छ यसलाई कायम राख्न नितान्त जरुरी छ ।”

आयोगले ७३ वर्षयता आफ्नो मूल सिद्धान्त योग्यता, निष्पक्षता र स्वच्छतालाई प्रमुख आधार मानेर गर्दै आएको कार्यसम्पादनको यादवले उच्च प्रशंसा गर्नुभयो । निजामती सेवाको पदमा उम्मेदवार छनोट गर्नेबाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, अन्य सङ्घीय सरकारी सेवा तथा सङ्गठित संस्थामा पदपूर्तिको जिम्मेवारी आयोगमा थपिनु महत्वपूर्ण रहेको समेत सो अवसरमा कार्यवाहक राष्ट्रपति यादवले बताउनुभयो ।

आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सार्वजनिक निकायका कर्मचारी भर्ना र छनोटमा योग्यता प्रणाली स्थापित गर्न लोक सेवा आयोग अग्रणी संस्थाका रूपमा स्थापित भएको बताउनुभयो । पाठ्यक्रम र परीक्षण पद्धतिमा सुधारका लागि आयोगका सदस्यको अध्यक्षतामा परीक्षण प्रविधि सुधार सुझाव समिति गठन गरी अध्ययनको कार्य भइरहेको जानकारी दिँदै अध्यक्ष रेग्मीले समितिबाट प्राप्त सुझावका आधारमा पाठ्यक्रम र परीक्षण प्रणालीलाई समयसापेक्ष बनाइने जानकारी दिनुभयो  । 

कर्मचारी भर्ना र छनोटलाई थप वस्तुनिष्ठ, समसामयिक र विश्वसनीय बनाउन तथा आयोगको संस्थागत क्षमता सुदृढीकरण गर्न आयोगको दोस्रो रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको अध्यक्ष रेग्मीले बताउनुभयो । 

आयोग र प्रदेश लोक सेवा आयोगहरूको सहभागितामा हरेक वर्ष राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरी कार्यान्वयनमा लागिएको जानकारी दिँदै उहाँले भन्नुभयो,  “सम्मेलनमार्फत लोक सेवा आयोगका स्थापित मूल्य, मान्यता, पद्धति र कार्यसम्पादनका सिद्धान्त प्रदेश लोक सेवा आयोगहरूमा अवलम्बन गर्ने गराउनेतर्फ सकारात्मक भूमिका निर्वाह गरिएको छ ।” 

उहाँले सङ्घीय निजामती सेवा ऐन जारी नहुँदा सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी व्यवस्थापनमा कठिनाइ परेकाले शीघ्र जारी गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउनुभयो । समारोहमा उपराष्ट्रपति यादवले आयोगका पूर्वसदस्य भीमदेव भट्टलाई विशेष सम्मान प्रदान गर्नुभयो । सोही कार्यक्रममा आयोगमा उत्कृष्ट कार्यसम्पादन गर्नुहुने कार्यालय सहयोगी सुरेश साह, नायब सुब्बा ऋषिराम धिताल र शाखा अधिकृत भरत थापालाई सम्मान गरिएको थियो ।