• ९ मंसिर २०८१, आइतबार

जलचरसम्बन्धी सुरक्षाकर्मीलाई अभिमुखीकरण

blog

सुरक्षाकर्मीलाई वन्यजन्तु, जलचर तथा नदीजन्य पदार्थ उत्खननका विषयमा टीकापुरमा आयोजित कार्यक्रम । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), असार १ गते । वातावरणीय अध्ययन बिना नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खननले प्राकृतिक प्रकोप निम्त्याउने मात्र नभई यसले वन्यजन्तुमा समेत नकारात्मक असर पर्ने जनाइएको छ ।  

शनिबार कैलालीको टीकापुरमा सुरक्षाकर्मीका लागि आयोजित जलचर, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण, दिगो नदीजन्य पदार्थ उत्खनन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सो कुरा बताइएको हो । 

विश्व वन्यजन्तु कोष नेपाल र नेपाल सरकारको समन्वयमा बेलायत सरकार अन्तर्गत डार्विन इनिसिएटिभको सहयोगमा डल्फिन संरक्षण केन्द्रले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा वातावरण, जलचरविद् निकुञ्ज संरक्षण अधिकृतले सहजीकरण गर्नुभएको थियो ।

वातावरणविद् दिनेशचन्द्र जोशीले नदीजन्य पदार्थ उत्खनन गर्नुपूर्व उत्खननले वातावरणमा पार्ने असरबारेमा अध्ययन अति आवश्यक रहेको बताउनुभयो । उहाँले वातावरणीय असरबारेमा अध्ययन नगरी हुने नदीजन्य पदार्थ उत्खननले प्राकृतिक प्रकोप निम्त्याउनुका साथै वन्यजन्तु र जलचरमा त्यसको असर पर्ने बताउनुभयो । 

 जलचरविद् डा. सूर्यबहादुर शाहीले नदीजन्य पदार्थ उत्खननले जलचर प्राणीमा असरपर्ने उल्लेख गर्दै स्थानीय सरकारले नियम कानुन मिचेर उत्खनन नगर्न आग्रह गर्नुभयो । उहाँले नदीमा माछा मार्न पाउने नपाउने सम्बन्धी पनि कानुनी व्यवस्था रहेको उल्लेख गर्दै दुर्लभ माछा, कछुवा लगायत मार्न नपाउने कानुनी व्यवस्था रहेको जनाउनुभयो । 

 नदीमा आश्रित जलचर प्राणीको संरक्षणका लागि सुरक्षाकर्मीलाई नदीजन्य पदार्थ उत्खनन्संगै वन्यजन्तु तथा जलचर प्राणी सम्बन्धी नियम, कानुनका विषयमा सचेतिकरण गरिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले वन्यजन्तुको अवस्था, वन्यजन्तु अपराध र मध्यवर्ती क्षेत्रका विषयमा जानकारी दिनुभयो । उहाँले वन्यजन्तुले निकुञ्ज वरिपरिको समुदायलाई प्रत्यक्ष सकारात्मक र नकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै स्थानीयलाई अपनत्व सिर्जना गरी संरक्षणमा जोड्दै गएको बताउनुभयो ।  

कर्णालीको दुईवटा भँगालो कर्णाली नदी र गेरुवा नदीको पानीमा ओत लगायतका अन्य वन्यजन्तु आश्रित रहेको उल्लेख गर्दै संरक्षण अधिकृत वाग्लेले कर्णालीमा एकतर्फी ढुङ्गा, गिट्टी, बालुवा उत्खननले गेरुवा नदीमा पानी कम हुँदै गएको बताउनुभयो । उहाँले निकुञ्ज साइडतिर नदी उत्खनन कार्य नहुँदा पानी बग्न नपाइ पानीको अभाव हुँदै गएको उल्लेख गर्नुभयो ।

अनधिकृत रूपमा हुने नदीजन्य पदार्थ उत्खनन रोक्न जलचर तथा वन्यजन्तु सम्बन्धी ऐन, नियम र कानुनका विषयमा सुरक्षाकर्मीलाई तालिमको आयोजना गरिएको डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठले जानकारी दिनुभयो । नदीजन्य पदार्थ उत्खननले गेरुवा नदीमा पानीको मात्रा कम हुँदै गएको जनाइएको छ ।

ओत तथा डल्फिनको वासस्थान तथा आहारका लागि नदी मुख्य स्रोत मानिन्छ । तिनको आहार तथा वासस्थानमा नदीजन्य पदार्थ उत्खननले पार्नसक्ने असरलाई मध्यनजर गर्दै वन, वातावरण, निकुञ्ज, वन्यजन्तुसम्वन्धि व्यवस्था भएका ऐन नियम र कानुनका विषयमा विज्ञद्वारा तालिम दिइएको छ । तालिममा कैलाली र बर्दिया जिल्लाका सशस्त्र प्रहरी र जनपद प्रहरीको सहभागिता रहेको थियो ।

सन् २०२४ देखि “कर्णाली नदीमा ओत (उदुवा) संरक्षणका लागि समुदायको जीविकोपार्जन तथा अभिभावकत्व सबलीकरण परियोजना” समुदायस्तरमा सञ्चालन भइरहेको छ ।

सन् २०२६ सम्म ओत संरक्षणका लागि विश्व वन्यजन्तु कोष नेपाल र नेपाल सरकारको समन्वयमा बेलायत सरकार अन्तर्गत डार्विन इनिसिएटिभको सहयोगमा  सोनाहा विकास समाज, मुक्त कमैया महिला विकास मञ्च, डल्फिन संरक्षण केन्द्रले ओत संरक्षणका लागि समुदायस्तरमा काम गर्न थालेको विश्व वन्यजन्तु कोषका कार्यक्रम सहायक आशिष् कपालीले जनाउनुभयो ।

कपालीले विश्वमा १३ प्रजाति, एसियामा पाँच प्रजाति र नेपालमा तीन प्रजातिको ओत रहेको जानकारी दिनुभयो । नेपालमा खैरो र कालो ओत पाइने भए पनि कर्णाली नदीमा खैरो ओत पाइने गरेको जनाउँदै कपालीले परियोजनाको मुख्य उद्देश्य ओत संरक्षण रहेको बताउनुभयो ।

२०५७ सालदेखि डल्फिन संरक्षणको क्षेत्रमा सक्रिय डल्फिन संरक्षण केन्द्रका कोषाध्यक्ष हिरुलाल डगौराले केन्द्रले विगतमा डल्फिन संरक्षणका लागि गरेको क्रियाकलापका बारेमा जानकारी गराउँदै चरा संरक्षण र ओत संरक्षणका पक्षमा विभिन्न सङ्घ संस्थासँग समन्वय गरेर काम गरेको जानकारी दिनुभयो ।